नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी संगठन अहिले दुई भागमा विभाजन भएको टिप्पणी गरेका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा उनले प्रहरी अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको बताएका हुन् । उनले अहिले सरकारले प्रहरी संगठनमाथी अनावश्यक हस्तक्षेप गरेको पनि बताए । प्रहरीसंगै सरकारको कार्यशैलीप्रति कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सन्तुष्ट हुन नसकेको उनको भनाई छ । सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको उनले बताए । उनले सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर प्रतिशोध साँधेको आरोप लगाए । आफ्नो गिरफ्तारीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको उनको दाबी थियो । उनले प्रहरी संगठनको सेवा, सुविधा, पोशाक र कार्य वातावरण सुधारमा एमाले नेतृत्वको योगदान रहेपनि प्रहरीको व्यवहार देखेर आफूलाई आश्चर्यचकित बनाएको बताए । उनले भने, ‘पुलिस धेरै उत्ताउलिएको थियो । किन उत्ताउलिएको हो ? के पाउँथ्यो ? के पायो अहिले ? अहिले पुलिस दुई भागमा बाँडिएको छ । एउटा मार खानेमा परेका छन्, अर्को हेरेर बस्नेमा परेका छन् । खुशी हुनेहरूले भोलि मार खान्छन्, फेरि । त्यही हो । कर्मचारीहरूको त्यस्तै छ । एक पल्ट कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदै छ । एक पल्ट उद्यमी, व्यवसायीहरू एक तालले लिएर भज मन गोविन्दम् जस्तो गर्दै गएका थिए । पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमाशा, कहिले के निस्किन्छ, कहिले के निस्किन्छ, अहिले एउटा के बाबु निस्किया छ, ईनम सापकोटा । इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ । इनम सापकोटा भन्ने नचाएका छन् । अनि इनम सापकोटा जताबाट हे¥यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ । यो के का विरुद्ध अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन ।’ उनले विचौलिया इनम सापकोटाको सम्बन्धका बारेमा पनि प्रश्न उठाए । सरकारले आफैँले ईनमलाई विचौलियाको रूपमा प्रयोग गरेको उनको भनाई छ ।
ओलीको टिप्पणी- प्रहरी संगठन दुई भागमा बाँडिएको छ, एउटा मार खाने अर्को हेरेर बस्ने

Read Complete Original Article
Published originally on पर्दाफास





