काठमाडौँ, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेला संकल्प र प्रतिबद्धताको भेला भएको बताउनुभएको छ। आज (बुधबार) देखि काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा एमालेले नत्यागेको स्पष्ट पार्नुभयो। उहाँले सबै नेपाली सुखी हुनुपर्ने र नेपाल समृद्ध बन्नुपर्ने बताउँदै अहिले रोकिएको समृद्धिको यात्रालाई पुनः अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। अध्यक्ष ओलीले मुलुकमा अहिले आतंकको अवस्था सिर्जना गरिएको आरोप लगाउँदै प्रहरी नेतृत्व र सरकारका जिम्मेवार व्यक्तिहरूबाट आफूहरूलाई थुनिदिने जस्ता अभिव्यक्ति आइरहेको भन्दै आपत्ति जनाउनुभयो। प्रहरी महानिरीक्षकले आफूलाई र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै उहाँले यस्ता अभिव्यक्तिले राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासको अपमान गरेको टिप्पणी गर्नुभयो। ‘हामी जेलनेल भोगेर आएका हौँ। यिनीहरू जन्मनुभन्दा अघिदेखि संघर्ष गरेर आएका हौँ। छ महिनाका लागि जागिर खाने एउटा सिपाहीँले हामीमाथि मजाक गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो। गृहमन्त्रीले फाइल खोल्दै गरेको र थुनिदिने अभिव्यक्ति दिएको प्रसंगमा अध्यक्ष ओलीले चुनौतीपूर्ण शैलीमा भन्नुभयो, ‘हुति भए थुन्नु नि, गल्ती गरेको भए ऊ पनि थुनिएला नि।’ उहाँले यस्ता अभिव्यक्ति र गतिविधिबाट नेकपा एमाले नडराउने स्पष्ट पार्दै पार्टीलाई कमजोर बनाउने प्रयास सफल नहुने दाबी गर्नुभयो। अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आफूहरूमाथि टिप्पणी र मजाक गर्नेहरूलाई केही दिनमै एमालेको राजनीतिक सामर्थ्य देखिने बताउनुभयो। ‘नेकपा एमाले यो देशको भविष्य हो। यो देशको विकास गर्ने नेकपा एमाले हो,’ उहाँले भन्नुभयो। एमालेविनाको देश बनाउने र केपी ओलीविनाको एमाले निर्माण गर्ने सपना केहीले देखेको उल्लेख गर्दै उहाँले त्यस्ता प्रयास सफल नहुने जिकिर गर्नुभयो। पार्टीभित्र छलफल, बहस र सामूहिक निर्णयमार्फत एकताबद्ध भएर अगाडि बढ्ने उहाँको भनाइ थियो। राष्ट्रिय भेलाको उद्देश्य पार्टीलाई थप एकताबद्ध बनाउँदै आगामी राजनीतिक तथा निर्वाचनका चुनौती सामना गर्ने रहेको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले आगामी निर्वाचनहरूको महत्व पार्टीले बुझेको उल्लेख गर्दै यो भेला अठोट र संकल्पको भेला भएको दोहोर्याउनुभयो। आगामी स्थानीय तहको निर्वाचनमा एमालेले जित हासिल गर्ने दाबी गर्दै अध्यक्ष ओलीले सशक्त संगठनसहित निर्वाचनमा सहभागी हुने बताउनुभयो। अन्य राजनीतिक शक्तिहरूको संगठनात्मक अवस्थामाथि टिप्पणी गर्दै उहाँले एमालेसँग प्रतिस्पर्धा गर्न आउनेहरू क्लब बनाएर चुनावमा आउन लागेको टिप्पणीसमेत गर्नुभयो। पार्टीको राष्ट्रिय भेलाले आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक एकता र निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल गर्ने अपेक्षा गरिएको छ।
एमालेको राष्ट्रिय भेला संकल्प र प्रतिबद्धताको भेला हो : अध्यक्ष केपी ओली

Read Complete Original Article
Published originally on जनताटाइम्स






