काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेका छन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डा अनुमोदन गरेको छ । असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् । भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






