काठमाडौं। नेकपा (एमाले) को राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने भएका छन्। स्थानीय निर्वाचनको तयारी, पार्टीको संगठनलाई निर्वाचन केन्द्रित बनाउने तथा पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने विषय भेलाका प्रमुख एजेण्डा रहने एमालेले जनाएको छ। राष्ट्रिय भेलामा प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको समेत सहभागिता रहनेछ। भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ। संकलित सुझावका आधारमा आगामी निर्वाचनको रणनीति तथा पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने एमालेको अपेक्षा छ। पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्नुका साथै नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यले भेलालाई महत्वपूर्ण रूपमा लिइएको एमालेले जनाएको छ। भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ। सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने व्यवस्था मिलाइएको छ। भेलामा स्वास्थ्य सेवाका लागि कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिनेछ। सहभागीका सवारीसाधन पार्किङका लागि पार्टीको केन्द्रीय कार्यालय च्यासलमा व्यवस्था गरिएको आचार्यले बताए। उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन, श्रव्यदृश्य सामग्री छायांकन तथा सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइनेछ। बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने एमालेले जनाएको छ। एमालेले राष्ट्रिय भेलामार्फत पार्टीलाई आगामी स्थानीय निर्वाचनका लागि संगठनात्मक रूपमा तयार पार्ने तथा राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने लक्ष्य लिएको जनाएको छ। – न्युज एजेन्सी नेपाल
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने, स्थानीय निर्वाचनको तयारी मुख्य एजेण्डा

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





