काठमाडौं । अमेरिकाका कुख्यात यौन अपराधी जेफ्री एपस्टिनको जेलभित्र भएको मृत्यु आत्महत्या नभई हत्या भएको हुन सक्ने एक फरेन्सिक विज्ञले दाबी गरेका छन् । सन् २०१९ मा एपस्टिनको मृत्यु आत्महत्या भएको निष्कर्ष निकालिएको भए पनि नयाँ विश्लेषणले उनको हत्या भएको संकेत गर्ने प्रमाणहरू देखाएको विज्ञको भनाइ छ । हत्यासम्बन्धी घटनाको अध्ययन गर्दै आएका फरेन्सिक वैज्ञानिक प्राध्यापक माइकल फ्रिम्यानले न्युयोर्क सिटी मेडिकल एक्जामिनरको पोस्टमार्टमसम्बन्धी फाइल र तस्बिरहरूको अध्ययनपछि एपस्टिनको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने निष्कर्ष निकालेका हुन् । बीबीसीसँग कुरा गर्दै फ्रिम्यानले एपस्टिनलाई सम्भवतः पछाडिबाट कुनै वस्तु प्रयोग गरी घाँटी थिचिएको र त्यसपछि त्यही वस्तु प्रयोग गरेर शवलाई खाटमा झुन्ड्याइएको हुन सक्ने बताए । उनले एपस्टिनको बायाँ काँधमा गहिरो रक्तस्राव, अनुहारमा प्रहार भएको जस्तो देखिने चोट तथा घाँटीको डोरीको डाममाथि नङले कोतरेको जस्तो चिह्न रहेको उल्लेख गरेका छन् । फ्रिम्यानका अनुसार यी चोटहरू घाँटी थिचेर हत्या गरिएको घटनासँग मेल खान्छन् । उनले शव भेटिएको अवस्था र शरीरमा देखिएका चोटबीच तालमेल नभएको भन्दै मृत्युको कारण हत्या हुन सक्ने तर्क गरेका छन् । तर, सन् २०१९ मा एपस्टिनको पोस्टमार्टम गरेकी तत्कालीन प्रमुख मेडिकल एक्जामिनर डा. बारबरा साम्पसनले भने उनको मृत्यु झुन्डिएर आत्महत्या गर्दा देखिने चोटसँग मेल खाने निष्कर्ष निकालेकी थिइन् । उनले घाँटी थिचेर हत्या गरिएका व्यक्तिमा देखिने प्रतिरक्षात्मक चोटहरू एपस्टिनको शरीरमा नदेखिएको बताएकी थिइन् । साम्पसनले यसअघि आफ्नो निष्कर्षमा दृढ रहेको प्रतिक्रिया दिएकी थिइन् । फ्रिम्यानले एपस्टिनको शव प्रत्यक्ष रूपमा नहेरेको र उनका भाइ मार्क एपस्टिनले उपलब्ध गराएका पोस्टमार्टम फाइल तथा तस्बिरका आधारमा विश्लेषण गरेको बताएका छन् । उनले आफ्नो अनुसन्धानका लागि मार्कबाट कुनै पारिश्रमिक नलिएको दाबी गरेका छन् । यद्यपि, उनको अनुसन्धान अझै विज्ञहरूबाट सहकर्मी समीक्षा अर्थात् ‘पियर रिभ्यु’ भएको छैन । अमेरिकी न्याय विभागको महानिरीक्षक कार्यालयले गरेको अनुसन्धानले भने एपस्टिनको मृत्यु आत्महत्या भएको निष्कर्षलाई समर्थन गरेको थियो । जेलका सुरक्षाकर्मीले उनलाई झुन्डिएको अवस्थामा भेटेपछि शरीर तल झारेको र पुनर्जीवन दिने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ । एपस्टिन सन् २०१९ अगस्ट १० मा न्युयोर्कस्थित मेट्रोपोलिटन करेक्सनल सेन्टरमा मृत फेला परेका थिए । नाबालिग किशोरीहरूको यौन तस्करीसम्बन्धी मुद्दामा सुनुवाइको प्रतीक्षामा रहेका उनी यसअघि सन् २००८ मा नाबालिगसँग यौनसम्बन्धी अपराधमा दोषी ठहर भएका थिए । -बीबीसी
एपस्टिनको आत्महत्या नभई हत्या भएको फरेन्सिक विज्ञको दाबी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






