काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति जनाएको छ। बैंककमा आयोजित एएफसी अवार्ड्सको क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका छन्। भेटका क्रममा मन्त्री पोखरेलले फिफा र एएफसीका प्रतिनिधिलाई उपहारसमेत प्रदान गरेका थिए। मन्त्री पोखरेलका अनुसार भेटवार्तामा एन्फामाथि लागेको निलम्बन फुकुवा, आवश्यक कानुनी प्रक्रिया र तहगत निर्वाचनका विषयमा सकारात्मक छलफल भएको छ। एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राखेपले यसअघि नै प्रतिबन्ध फुकुवा गरिसकेको छ। अब सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि एन्फामाथिको निलम्बन पूर्ण रूपमा फुकुवा हुने बाटो खुलेको छ।
एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न फिफा सकारात्मक

Read Complete Original Article
Published originally on नेपालन्युज






