काठमाडौं । नेपाल बैंकर्स संघद्वारा आयोजित पहिलो ‘एनबिए अन्तर-बैंक फुटसल कप २०२६’ सम्पन्न भएको छ । मंसिर ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा नेपालका २० वाणिज्य बैंकहरूको सहभागिता थियो । पुरुष तथा महिला गरी दुर्ई विधामा सञ्चालन गरिएकोमा पुरुषतर्फको खेलमा लक्ष्मी सनराइज बैंक विजेता तथा एनएमबी बैंक उपविजेता बन्न सफल भएका छन् । त्यसैगरी, महिलातर्फ एनएमबी बैंक विजेता तथा कृषि विकास बैंक उपविजेता बनेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न व्यक्तिगत विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो । पुरुष तथा महिला दुवै विधामा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । पुरुषतर्फ उत्कृष्ट गोलरक्षक सन्दिप पाण्डे, लक्ष्मी सनराइज बैंक, सर्वाधिक गोलकर्तामा राजकुमार निरौला, कृषि विकास बैंक लि. र रोहन खड्का प्रभु बैंक तथा उत्कृष्ट खेलाडीतर्फ प्रणिम सिंह ठकुरी, लक्ष्मी सनराइज बैंक पनि पुरस्कृत भएका छन् । त्यस्तै महिला खेलाडीतर्फ उत्कृष्ट गोलरक्षकमा शोभा घिमिरे, एनएमबी बैंक, सर्वाधिक गोलकर्तामा उर्मिला श्रेष्ठ, ग्लोबल आइएमई बैंक र उत्कृष्ट खेलाडीतर्फ जिना डंगोल, एनएमबी बैंक रहेका छन् । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला र उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले विजेता तथा उपविजेता टिमलाई ट्रफी तथा पदक वितरण गर्नुभएको थियो । आयोजकका अनुसार दुर्ई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमहरूले निकै उत्साहित र अनुशासितरूपमा खेल प्रदर्शन गरेका थिए । प्रतियोगिताले बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य, टिम भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्नुका साथै नियमित कार्यव्यस्तताभन्दा बाहिर कर्मचारीहरूलाई खेलकुदमार्फत् एकआपसमा जोड्ने, कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य र समग्र कल्याणलाई प्रोत्साहन गर्ने तथा बैंकिङ क्षेत्रभित्रको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य प्रतियोगिताले लिएको थियो ।
‘एनबिए अन्तर-बैंक फुटसल कप’ सम्पन्न

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






