काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रनको योगदान दिए। उनले ३५ बलको सामना गर्दै २ चौका र ३ छक्का प्रहार गरे। त्यसैगरी, डान माउज्लीले २९, कामिल मिश्राले २८ र अर्जुन साउदले २३ रन बनाए। बलिङतर्फ काठमाडौंका सहान आराचिगेले २ विकेट लिए भने सन्तोष यादव, गणेश गौतम, जहान्दाद खान र करण केसीले समान १-१ विकेट हात पारे। यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको थियो। काठमाडौंका लागि राशिद खानले ५२ रन र सहान आराचिगेले ३३ रन बनाएका थिए।
एनपीएलमा काठमाडौं गोर्खाजद्वारा चितवन राइनोज १० रनले पराजित

Read Complete Original Article
Published originally on नेपालन्युज






