काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। भाइटीकाका कारण बुधबारका खेल स्थगित भएपछि आजदेखि प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो। आज हुने दुवै खेल अंकतालिकामा टोलीहरूको स्थान सुधार गर्न महत्वपूर्ण हुनेछन्। आजको पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको पोखरा एभेन्जर्सका लागि आजको खेल जित्नैपर्ने दबाब छ। पाँच खेल खेलेको पोखराले हालसम्म एक खेलमा मात्रै जित निकाल्दै दुई अंक जोडेको छ। अंकतालिकाको पुछारमा रहेको पोखरा आज विराटनगरलाई पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा हुनेछ। यता विराटनगर किङ्स पनि जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा छ। पाँच खेलबाट चार अंक जोडेको विराटनगर छैटौँ स्थानमा छ। पोखराविरुद्ध जित हात पारे विराटनगरलाई शीर्ष स्थानतर्फ अघि बढ्ने अवसर हुनेछ। आजको दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। त्रिवि क्रिकेट मैदानमै साँझ ५ बजे सुरु हुने यस खेलमा दुवै टोलीका लागि महत्वपूर्ण अंक जोड्ने अवसर हुनेछ। लुम्बिनी लायन्स पाँच खेलबाट सात अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा छ। तीन खेलमा जित र एक खेलमा हार बेहोरेको लुम्बिनीको एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। आज कर्णालीलाई हराउन सके लुम्बिनीले शीर्ष दुईमा पुग्ने सम्भावना बलियो बनाउन सक्छ। अर्कोतर्फ कर्णाली याक्स पाँच खेलबाट चार अंक जोड्दै सातौँ स्थानमा छ। प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई बाँकी खेलमा जित आवश्यक छ। त्यसैले लुम्बिनीविरुद्धको खेल कर्णालीका लागि निकै महत्वपूर्ण हुनेछ। एनपीएलको हालसम्मको अंकतालिकामा काठमाडौं गोर्खाज आठ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेल खेलेको काठमाडौंले चार खेलमा जित निकालेको छ। छ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहँदा पाँच खेलबाट सात अंक जोडेको लुम्बिनी लायन्स तेस्रो स्थानमा छ। त्यस्तै, पाँच अंकसहित चितवन राइनोज चौथो स्थानमा छ। छ खेलबाट चार अंक जोडेको जनकपुर बोल्ट्स पाँचौँ स्थानमा रहँदा समान चार अंक भएका विराटनगर किङ्स छैटौँ र कर्णाली याक्स सातौँ स्थानमा छन्। पाँच खेलबाट दुई अंक मात्रै जोडेको पोखरा एभेन्जर्स भने आठौँ स्थानमा छ। प्रतियोगिता प्लेअफ चरणतर्फ अघि बढ्दै गर्दा टोलीहरूबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ। आजका दुवै खेलको नतिजाले अंकतालिकाको समीकरणमा फेरबदल ल्याउन सक्नेछ।
एनपीएलमा आज कसले मार्ला बाजी ? विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






