काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन्। लुम्बिनी लायन्स लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ। टोलीका कप्तान रोहित पौडेलले फाइनलका लागि टोली पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ।’ पौडेलले लिग चरणमा सुदूरपश्चिमविरुद्धको नतिजाले मात्र फाइनलको नतिजा निर्धारण नगर्ने भन्दै प्रतिद्वन्द्वीलाई बलियो रूपमा लिएको बताए। उनले उपाधिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको मिहिनेतको प्रतिफलका रूपमा लिएको उल्लेख गरे। यता, लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम रोयल्स पहिलो उपाधिको खोजीमा छ। यसअघिका दुई संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसपटक हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताए। उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई मुख्य चुनौतीका रूपमा लिएको जानकारी दिए। ऐरीका अनुसार विदेशी खेलाडीहरूको आवतजावतका कारण टोली संयोजन र ब्याटिङ क्रम व्यवस्थापनमा केही चुनौती थपिए पनि फाइनलका लागि विशेष रणनीति बनाइएको छ।
एनपिएल फाइनलः लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

Read Complete Original Article
Published originally on नेपालन्युज






