काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लिग चरणका खेलहरू सकिँदा व्यक्तिगत प्रदर्शनमा नेपाली खेलाडीहरूको दबदबा देखिएको छ । सर्वाधिक रन बनाउनेदेखि सर्वाधिक विकेट लिने खेलाडीको सूचीसम्म नेपाली क्रिकेटरहरू अगाडि देखिएका छन् । ब्याटिङ, बलिङ, फिल्डिङ र विकेटकिपिङ सबैजसो विधामा नेपाली खेलाडीले आफ्नो प्रभाव जमाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित नामहरू सहभागी भए पनि व्यक्तिगत तथ्यांकका शीर्ष स्थानमा भने नेपाली खेलाडीको उपस्थिति बलियो छ । जनकपुर बोल्ट्सका १६ वर्षीय राहुल यादव १२ विकेटसहित शीर्ष स्थानमा हुनुहुन्छ । एनपिएलको यही संस्करणबाट टी-२० क्रिकेटमा औपचारिक डेब्यु गर्नुभएका राहुलले सात खेलमै आफूलाई प्रभावशाली बलरका रूपमा स्थापित गर्नुभएको हो । राहुलपछि चितवन राइनोजका रिजन ढकाल र काठमान्डु गोर्खाजका जहाँदाद खान पनि उहाँकै हाराहारीमा हुनुहुन्छ । यद्यपि, राहुलको टोली जनकपुर उपाधि होडबाट बाहिरिसकेकाले उनको विकेट संख्या अब बढ्ने छैन । चितवन र काठमान्डु भने प्लेअफमा पुगेकाले रिजन र जहाँदादसँग शीर्ष स्थानमा पुग्ने अवसर छ । सुदूरपश्चिम रोयल्सका अनिल खरेल र चितवनका कमलसिंह ऐरीले पनि १०-१० विकेट लिनुभएको छ । यसरी सर्वाधिक विकेट लिने शीर्ष खेलाडीको सूचीमा नेपाली बलरको उपस्थिति उल्लेख्य छ । ब्याटिङतर्फ पनि नेपाली खेलाडीले विदेशी खेलाडीलाई चुनौती दिइरहेका छन् । विराटनगर किङ्सका लोकेश बम सात खेलबाट २४२ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा पहिलो स्थानमा हुनुहुन्छ । पोखरा एभेन्जर्सका क्यानडेली ब्याट्सम्यान युवराजसिंह सामरा २०५ रनसहित दोस्रो स्थानमा हुनुहुन्छ । जारी प्रतियोगितामा शतक बनाउने उहाँ एकमात्र ब्याट्सम्यान हो । चितवनका विदेशी खेलाडी रवि बोपरा १८४ रनसहित तेस्रो स्थानमा रहँदा काठमान्डुका नेपाली ब्याट्सम्यान रासिद खान १५५ रनसहित चौथो स्थानमा हुनुहुन्छ । अर्धशतक बनाउने खेलाडीको सूचीमा पनि नेपाली ब्याट्सम्यानको उपस्थिति बलियो छ । रासिद खान, लोकेश बम र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई अर्धशतक बनाएका छन् । यस्तै, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा पनि लोकेश नै अगाडि हुनुहुन्छ । क्यारेबियन खेलाडी आन्द्रे रसेल १४ छक्कासहित दोस्रो स्थानमा हुनुहुन्छ । तर, रसेल नेपालबाट फर्किसक्नु भएको छ । व्यक्तिगत बलिङ प्रदर्शनमा विराटनगरका कप्तान सन्दीप लामिछानेको उपलब्धि पनि उल्लेखनीय छ । उहाँले पोखरा एभेन्जर्सविरुद्ध एकै खेलमा ह्याट्रिकसहित ६ विकेट लिनुभएको थियो । चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिनुभएको थियो । प्रतियोगितामा हालसम्म कुनै पनि अन्य बलरले एउटै खेलमा ६ विकेट लिन सकेका छैनन् । एनपिएलको तेस्रो संस्करणमा नेपाली खेलाडीको प्रभाव ब्याटिङ र बलिङमा मात्र सीमित छैन । फिल्डिङ तथा विकेटकिपिङमा समेत उनीहरूले आफ्नो क्षमता देखाएका छन् । फिल्डिङ र विकेटकिपिङमा समेत नेपाली खेलाडीको प्रदर्शन कमजोर छैन । विकेटकिपरमध्ये सुदूरपश्चिमका विनोद भण्डारी सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँले सात खेलमा पाँच क्याच र एक स्टम्पिङ गर्दै कुल ६ ब्याट्सम्यानलाई आउट गराउनुभएको छ । सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा भने कर्णाली याक्सका बंगलादेशी खेलाडी अरिफुल इस्लाम सात क्याचसहित पहिलो स्थानमा हुनुहुन्छ । जनकपुरका राहुल यादवले ६ क्याच लिनुभएको छ । यस्तै, कर्णालीका गुलसन झा, काठमान्डुका जहाँदाद खान र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले पाँच-पाँच क्याच लिनुभएको छ । दुई खेलअगावै प्लेअफ पुग्ने चारै टोलीको टुंगोदुई खेलअगावै एनपिएल सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । शनिबार भएको खेलमा साबिक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बनेको हो । लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको थियो । लुम्बिनीले विराटनगरलाई हराएपछि र काठमान्डु गोर्खाज र चितवन राइनोजले आफ्नो खेल नभए पनि प्लेअफमा स्थान बनाउन सफल भएका हुन् । हारपछि सात खेलबाट ६ अंक जोडेर विराटनगर लिग चरणबाटै बाहिरिएको छ । चितवनले कर्णाली याक्सविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । साथै चितवनले एलिमिनेटर खेल्ने पनि पक्का भएको छ । चितवनले अन्तिम खेल जितेपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सलाई भेट्ने छैन । अन्तिम खेलमा जितपछि लुम्बिनी सात खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ र पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । सुदूरपश्चिमले पनि सात खेल खेलिसकको छ र १० अंक जोडेर दोस्रो स्थानमा छ । ६ खेल खेलेको काठमान्डु आठ अंकसहित तेस्रो स्थानमा छ । काठमान्डुले आफ्नो अन्तिम लिग खेल जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र पहिलो क्वालिफायर खेल्नेछ । एनपिएलको दोस्रो संस्करणमा प्लेअफ खेलेका चारमध्ये तीन टोली लुम्बिनी, सुदूरपश्चिम र काठमान्डुले तेस्रो संस्करणमा पनि प्लेअफमा स्थान बनाउँदा चितवन दोस्रो पटक प्लेअफ पुगेको हो । चितवनले पहिलो संस्करणमा पनि प्लेअफ खेलेको थियो । यस्तै, सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टिम बनेको छ ।
एनपिएलमा चम्किए नेपाली खेलाडी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






