काठमाडौं। साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरेको हो। कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे। १९ रनमै तीन विकेट गुमाएको लुम्बिनीका लागि सर्ट र निरोशन डिक्वेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। डिक्वेलाले १६ रन जोडे भने दिलिप नाथले अविजित २८ रनको योगदान दिए। कर्णालीका मार्क वाटले चार विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा समेटिएको थियो। टोलीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन र हुसेन तलतले २४ रन बनाए। १५ रनमै चार विकेट गुमाएको कर्णालीका लागि सोमपाल र पवन सर्राफले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। लुम्बिनीका लागि अभिषेक गौतम, डार्सी सर्ट, किशोर महतो र रोहितकुमार पौडेलले समान दुई विकेट लिए। यो जितसँगै ६ खेलबाट ९ अङ्क जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ। अर्कोतर्फ, लगातार चार खेलमा पराजित कर्णाली ६ खेलबाट ४ अङ्कसहित सातौँ स्थानमा छ। कर्णालीको प्लेअफ सम्भावना अब चितवन राइनोजविरुद्धको अन्तिम खेलको नतिजामा निर्भर हुनेछ।
एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

Read Complete Original Article
Published originally on नेपालन्युज






