सिङ्गापुर । चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ । नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा अमेरिकी हतियार प्रतिबन्ध लागेका मुलुकमा मुख्यालय रहेका कम्पनीलाई विश्वका कुनै पनि डाटा सेन्टरबाट उन्नत चिप्समा आधारित ठूलो कम्प्युटिङ क्षमता उपलब्ध गराउन अमेरिकी अनुमति आवश्यक पर्नेछ । यसअघि चिनियाँ कम्पनीले दक्षिणपूर्वी एसियाका डाटा सेन्टरबाट प्रतिबन्धित अमेरिकी हार्डवेयरमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन सक्ने अवस्था थियो । सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र ब्राजिलमा उन्नत चिप्स पठाउनसमेत अब अमेरिकी इजाजतपत्र चाहिनेछ । सिङ्गापुरमा मुख्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडले अमेरिकी निर्यात नियन्त्रण छल्न चिनियाँ कम्पनीलाई सहयोग गरेको आशङ्काबीच नयाँ प्रतिबन्ध आएको हो । यस विवादमा एनभिडियाका प्रमुख जेन्सेन हुआङको नामसमेत जोडिएको छ । मेगास्पिडले भने एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकेको जनाएको छ । सिङ्गापुर सरकारले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई गम्भीरतापूर्वक लिने उल्लेख गर्दै अन्य देशका कानून छल्न आफ्नो क्षेत्र प्रयोग गर्ने कम्पनीलाई छुट नदिने बताएको छ । साथै, वैध कम्पनीका लागि उन्नत सेमिकन्डक्टर र कम्प्युटिङ प्रविधिमा पहुँच कायम राख्दै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने जनाएको छ ।
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






