Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऋणको भारीमा थिचिँदै देशको अर्थतन्त्र
Photo / Coverage: हिमालय टाइम्स

विगत केही वर्षयता नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ । ‘जेन–जी’ आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै सार्वजनिक ऋण परिचालनको गति झनै तीव्र भएको सरकारी तथ्यांकले नै देखाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । यो नेपालको इतिहासमै सार्वजनिक ऋणको सबैभन्दा उच्च आकार हो । नेपालको जनसंख्यालाई आधार मान्दा प्रत्येक नेपालीको टाउकोमा एक लाख रुपैयाँभन्दा बढी ऋणभार थपिएको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । यसमध्ये एक खर्ब रुपैयाँ आन्तरिक र २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ वैदेशिक ऋण हो । चालु आर्थिक वर्षमा सरकारले कुल छ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर, पहिलो त्रैमासमै ऋणको आकार उल्लेख्य रूपमा बढ्नुले मुलुकको वित्तीय अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा नेपालको सार्वजनिक ऋणको अनुपात ४५.५९ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋणको हिस्सा २१.३७ प्रतिशत र बाह्य ऋणको हिस्सा २४.२२ प्रतिशत छ । गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ र आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड रुपैयाँ नाघेको छ । कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । सरकारले विकास निर्माण, सार्वजनिक खर्च व्यवस्थापन तथा बजेटमा स्रोत जुटाउन आन्तरिक र बाह्य दुवै प्रकारका ऋण परिचालन गर्दै आएको छ । ऋण लिनु आफैंमा गलत होइन । विकासोन्मुख अर्थतन्त्र भएका मुलुकका लागि पूर्वाधार निर्माण, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणमा ऋण महत्त्वपूर्ण स्रोत बन्नसक्छ । तर ऋणको औचित्य त्यसको आकारले होइन, त्यसबाट सिर्जना हुने प्रतिफलले पुष्टि गर्नुपर्छ । ऋण लिएर उत्पादन, रोजगारी र आम्दानी बढाउने क्षेत्रमा लगानी गरिन्छ कि साधारण खर्चको खाडल पुर्नमै सकिन्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो । चालु आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणबाट चार खर्ब १० अर्ब रुपैयाँ र बाह्य ऋणबाट दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । असोज मसान्तसम्म आन्तरिक ऋणतर्फ एक खर्ब रुपैयाँ प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको २४.३९ प्रतिशत हो । त्यसैगरी बाह्य ऋणतर्फ २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ९.३९ प्रतिशत मात्र हो । समग्रमा तीन महिनाको अवधिमा वार्षिक ऋण परिचालन लक्ष्यको १८.७३ प्रतिशत प्राप्त भएको छ । वार्षिक लक्ष्य पूरा गर्न सरकारले अझै पाँच खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी ऋण परिचालन गर्नुपर्ने देखिन्छ । सार्वजनिक ऋणको आकार बढ्दै जाँदा त्यसको साँवा र ब्याज भुक्तानीमा बजेटको ठूलो हिस्सा खर्चिनुपर्ने हुन्छ । परिणामतः विकास निर्माणका लागि छुट्याउनुपर्ने पुँजीगत खर्च खुम्चिँदै जान्छ । गत वर्षको ‘जेन-जी’ आन्दोलन, अन्य राजनीतिक आन्दोलन तथा पछिल्ला प्राकृतिक विपत्तिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नेपाललाई ठूलो लगानी आवश्यक पर्ने देखिन्छ । यस्तो अवस्थामा वैदेशिक ऋण र अनुदानको आवश्यकता अस्वीकार गर्न सकिँदैन । तर, आन्तरिक स्रोतले साधारण खर्चसमेत धान्न नसक्ने अवस्थामा पुग्नु अर्थतन्त्रका लागि सुखद संकेत होइन । अझ विडम्बना त के छ भने, देशमा झण्डै दुईतिहाइ नजिकको बहुमतसहित शक्तिशाली सरकार गठन भए पनि राजनीतिक स्थिरताको अनुभूति हुनसकेको छैन । मुलुक थप अनिश्चितता र अन्योलतर्फ धकेलिँदै गएको छ । वर्तमान सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले खुला बजार अर्थतन्त्रका पक्षधर तथा निजी क्षेत्रमैत्री आर्थिक नीतिका समर्थकका रूपमा परिचित हुनुहुन्छ । उहाँले विभिन्न समयमा वैदेशिक ऋणप्रति असहमति जनाउँदै आउनुभएको सन्दर्भमा उहाँकै कार्यकालमा सार्वजनिक ऋणको आकार अझै बढ्दै जानु स्वाभाविक रूपमा चासो र बहसको विषय बनेको छ । एकातिर ऋण दायित्व बढिरहेको छ भने अर्कोतिर आन्तरिक अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुनसकेको छैन । निजी क्षेत्र त्रसित छ, लगानी विस्तार हुनसकेको छैन र रोजगारी सिर्जनामा समेत उल्लेख्य प्रगति देखिएको छैन । यस्तो अवस्थामा सरकारको आर्थिक नीति र कार्यसम्पादनमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । यद्यपि, वैदेशिक ऋण लिनु हुँदैन भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन । नेपालजस्तो अति कम विकसित मुलुकका लागि विकासका पूर्वाधार तयार गर्न, उत्पादन क्षमता बढाउन र आर्थिक रूपान्तरण गर्न वैदेशिक ऋण तथा अनुदान महत्त्वपूर्ण आधार हुन् । तर त्यस्तो ऋण र अनुदानको सदुपयोग हुनुपर्छ । दुःखद् पक्ष के छ भने नेपालले प्राप्त गर्ने वैदेशिक ऋण र अनुदानको अपेक्षित प्रतिफल देखिन सकेको छैन । विकास साझेदारबाट प्राप्त हुने स्रोतको प्रभावकारी उपयोग हुन नसक्नु, आयोजना कार्यान्वयनमा ढिलाइ हुनु, लागत बढ्नु र अनुत्पादक क्षेत्रमा खर्च हुनुजस्ता समस्या यथावत् छन् । अर्कोतर्फ, नेपाली शासक वर्गमा वैदेशिक सहायता र ऋणप्रतिको निर्भरता घटाउनेभन्दा त्यसलाई निरन्तरता दिने प्रवृत्ति देखिन्छ ।नेपाल अति कम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको अवस्थामा यस विषयले थप महत्त्व राख्छ । स्तरोन्नतिपछि अहिले उपलब्ध केही अन्तर्राष्ट्रिय सुविधा, सहुलियतपूर्ण व्यापारिक अवसर र विकास सहायता क्रमशः प्रभावित हुनसक्छन् । त्यसैले स्तरोन्नतिलाई पछाडि धकेल्नेभन्दा त्यसका लागि आवश्यक आर्थिक तथा संस्थागत तयारीलाई तीव्र बनाउनु सरकारको दायित्व हो । संयुक्त राष्ट्रसंघको महासभाले नेपालको स्तरोन्नति तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने निर्णय गरेको विषयलाई पनि सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्राप्त अतिरिक्त समयका रूपमा उपयोग गर्नुपर्छ । यो समयलाई वैदेशिक ऋण र अनुदानमा निर्भरता बढाउने अवसरका रूपमा होइन, आन्तरिक उत्पादन र आर्थिक क्षमता विस्तार गर्ने अवसरका रूपमा लिनुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जिफन्टले सुरु ग-यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय
Latest NewsJust now

जिफन्टले सुरु ग-यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

• नेपाल ट्रेड युनियन महासंघले श्रम र ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई एआईमा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ। • '¥याकदेखि स्क्रिनसम्म' अवधारणासहित सार्वजनिक गरिएको पुस्तकालयमा पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो र अन्य ऐतिहासिक सामग्री समेटिएका छन्। • जिफन्टले आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने योजना बनाएको छ। ...

नेपालबहस
विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध
Latest NewsJust now

विपद्का कारण विभिन्न जिल्लाका पाँच स्थानमा सडक अवरुद्ध

• विभिन्न जिल्लामा विपद्को कारण पाँच स्थानमा सडक र पुल अवरुद्ध भएका छन्। • काभ्रेको रोशी गाउँपालिका र गोरखाको आरुघाटमा पहिरो र बाढीका कारण सडक र पुल अवरुद्ध छन्। • लुम्बिनी र कर्णाली प्रदेशका केही सडकखण्डहरू पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा आएका छन्। ...

नेपालबहस
मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट
Latest NewsJust now

मैवाखोलाका छ योजनामा निर्माण व्यवसायी छनोट

साहारा लिम्बूताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालन हुने छ वटा महत्वपूर्ण योजना कार्यान्वयनका लागि बोलपत्रमार्फत निर्माण व्यवसायी तथ... ...

गोरखापत्र
स्वास्थ्यका दृष्टिले चाडबाड
Latest NewsJust now

स्वास्थ्यका दृष्टिले चाडबाड

गत वर्षको दसैँमा अस्वस्थ मासु खाएकै कारण काठमाडौँस्थित बानेश्वरका विनोद बिरामी पर्नुभयो । उहाँले चाडबाडको बेला अस्पतालमै बिताउन पर्‍यो । साथै उपचारका लागि पैसा पनि खर्च गर्नु पर्‍य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play