काठमाडौं – इरान युद्धका कारण बढेको मुद्रास्फीति, प्रतिकूल मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्रमा सुस्ती देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्यांकले देखाएको छ । अर्थतन्त्रमा ०.१ प्रतिशत वृद्धि हुने विश्लेषकहरूको अनुमान रहे पनि वास्तविक नतिजा त्यसको विपरीत देखिएको हो । वार्षिक आधारमा जापानको अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ । तेलको मूल्यवृद्धि र जापानी येन कमजोर हुँदा आयात महँगिएको छ । यसको प्रत्यक्ष असर उपभोक्ताको खर्चमा परेको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ प्रतिशतले घटेको छ । यसअघि अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा पनि निजी उपभोग समान दरले घटेको थियो । जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलका लागि बाहिर निस्कन निरुत्साहित गरेको थियो । त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण केही कारखाना बन्द हुँदा औद्योगिक उत्पादन र निर्यातमा समेत असर परेको थियो । सरकारी सहायता र निजी कम्पनीहरूको लगानीमा भएको वृद्धिले पनि अर्थतन्त्रलाई अपेक्षित गति दिन सकेन । क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्यांक अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताएका छन् । मुद्रास्फीति निरन्तर बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ । ब्याजदर वृद्धिले मुद्रास्फीति नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिए पनि यसले उपभोग र लगानीमा थप दबाब सिर्जना गर्न सक्ने देखिन्छ । यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्ने प्रक्षेपण गरिएको छ । भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको अनुमान छ । –एजेन्सी
इरान युद्धको असरले जापानको अर्थतन्त्रमा सुस्ती, तेस्रो त्रैमासिकमा वृद्धि शून्य

Read Complete Original Article
Published originally on विश्वखबर






