तेहरान/मनामा । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ । आईआरजीसीले शनिबार राति जारी गरेको विज्ञप्तिमा आफ्नो एयरोस्पेस फोर्सले बहराइनका अल रिफा र अवाली साखिर हवाई अड्डामा रहेका अमेरिकी राडारलाई लक्षित गरी जवाफी कारबाही गरेको उल्लेख गरेको छ । इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो । आक्रमणमा अमेरिकी सेनाको प्याट्रियट हवाई रक्षा प्रणालीसँग सम्बन्धित दुई राडारमा क्षति पुगेको आईआरजीसीको दाबी छ । आईआरजीसीले अमेरिकी सेनाका एमक्यू–१ प्रिडेटर र एमक्यू–९ रिपर ड्रोनले पनि शनिबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । इरानी हवाई क्षेत्र आफ्नो सशस्त्र सेनाका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै उसले उल्लङ्घन भए कडा जवाफ दिने चेतावनी दिएको छ । यसैबीच, बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणमा एउटा औद्योगिक प्रतिष्ठानलाई लक्षित गरिएको र त्यहाँ आगलागी भएको जनाएको छ । आगो नियन्त्रणमा लिन नागरिक सुरक्षा टोली परिचालन गरिएको मन्त्रालयले बताएको छ । बहराइन रक्षा बलका अनुसार हवाई रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका केही हवाई आक्रमणलाई रोकेको थियो । रोकिएका आक्रमणका अवशेष खस्दा सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ । यसैबीच, इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई युद्धको कार्यका रूपमा लिएको बताएका छन् । उनले नाकाबन्दी तोड्न आवश्यक सबै उपाय अपनाउने चेतावनी दिए । उनका अनुसार युद्धविराम गर्ने र हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने दुईदिने योजना इरानले अघि सारेको एकमात्र प्रस्ताव हो । अमेरिकाले उक्त योजना कार्यान्वयनका लागि आवश्यक सर्त पूरा गरे वार्ता अघि बढाउन सकिने उनले बताए । इरान र अमेरिकाबीच हर्मुज जलडमरूमध्य तथा आसपासका क्षेत्रमा तनाव पुनः बढिरहेका बेला पछिल्लो घटना भएको हो ।
इरान–अमेरिका तनाव चर्कियो, बहराइनकाे अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






