Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन् । इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली उड्डयन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ। कम्पनीहरूले खर्च नियन्त्रण र नाफा जोगाउन कम आम्दानी हुने उडान कटौती गरिरहेका छन् । यसबाट हवाई टिकटको मूल्य, रोजगारी र उद्योगको प्रतिस्पर्धात्मक अवस्थामा समेत असर पर्ने देखिएको छ । उडान क्षमता घटाउँदै वायुसेवा कम्पनी विश्वव्यापी हवाई यात्रा तथ्यांक उपलब्ध गराउने संस्था ओएजीका अनुसार, युरोपका २१ वटा वायुसेवा कम्पनीले आफ्नो प्रस्तावित शीतकालीन उडान क्षमतामा पाँच प्रतिशतभन्दा बढी कटौती गरेका छन् । एयर फ्रान्स–केएलएमले सन् २०२६ मा उडान क्षमता वृद्धिदर करिब दुई प्रतिशतमा सीमित हुने जनाएको छ । यसअघि कम्पनीले दुईदेखि तीन प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको थियो । आयरल्यान्डको र्‍यानएयरले वार्षिक यात्रु संख्या २१ करोड ६० लाखबाट घटाएर २१ करोड ४० लाखमा सीमित गर्ने लक्ष्य राखेको छ । बेलायतको इजिजेटले शीतकालीन उडान तालिकाबाट करिब १४ लाख सिट हटाएको छ । त्यस्तै, लुफ्थान्सा समूहले छोटो तथा मध्यम दूरीका उडानमा पाँचवटा विमान बराबरको क्षमता कटौती गर्ने भएको छ । पोल्यान्डको एलओटी एयरलाइन्सले क्राकोबाट म्याड्रिड, रोम र बार्सिलोनासम्मका शीतकालीन उडान स्थगित गरेको छ। लुफ्थान्साको सहायक कम्पनी युरोविङ्सले पनि कोलोन र स्टुटगार्टबाट दुबईसम्म सञ्चालन गर्ने योजना बनाएका उडान रद्द गरेको छ । इन्धन खर्चले नाफामा दबाब युरोपेली हवाई नेभिगेसन सुरक्षा संगठन (युरोकन्ट्रोल) का अनुसार, अक्टोबरमा युरोपमा हवाई इन्धनको औसत मूल्य प्रतिग्यालन ४.८४ अमेरिकी डलर पुगेको थियो । यो मध्यपूर्व संकट सुरु भएयताकै उच्च मासिक मूल्य हो । संकटअघिको तुलनामा इन्धनको मूल्य ११४ प्रतिशतले बढेको छ । र्‍यानएयरको सन् २०२७ आर्थिक वर्षको पहिलो छ महिनामा खुद नाफा अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले घटेर दुई अर्ब १५ करोड युरोमा झरेको छ । कम्पनीले सन् २०२७ मार्चसम्म आवश्यक इन्धनको करिब ८० प्रतिशत मूल्य सुनिश्चित गरे पनि बाँकी इन्धन बजारको मूल्यवृद्धिबाट प्रभावित हुने जनाएको छ । अन्तरराष्ट्रिय कन्सोलिडेटेड एयरलाइन्स ग्रुप (आईएजी) को तेस्रो त्रैमासिकमा इन्धन खर्च ३०.४ प्रतिशतले बढेको छ । यस अवधिमा असाधारण खर्चबाहेकको सञ्चालन नाफा करिब १६ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । एयर फ्रान्स–केएलएमले पनि इन्धनको मूल्यवृद्धिका कारण तेस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा थप ४३ करोड ६० लाख युरो खर्च भएको जानकारी दिएको छ । हवाई भाडा बढ्ने सम्भावना इन्धन तथा सञ्चालन खर्च बढ्दै जाँदा त्यसको भार यात्रुमा पर्ने देखिएको छ। लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कास्र्टन स्पोरले सन् २०२७ मा हवाई भाडा दोहोरो अंकको प्रतिशतमा वृद्धि हुन सक्ने बताएका छन् । र्‍यानएयरका प्रमुख कार्यकारी अधिकृत माइकल ओ’लियरीले आगामी १२ महिनामा युरोपेली हवाई भाडा १० देखि २० प्रतिशतसम्म बढ्न सक्ने चेतावनी दिए। परामर्शदाता संस्था अक्सेराको अध्ययनअनुसार, कुनै वायुसेवा कम्पनीले निश्चित उडान मार्गबाट सेवा हटाउँदा त्यस मार्गको हवाई भाडा औसत ९.७ प्रतिशतले बढ्न सक्छ । यसले हवाई टिकटको मूल्य निर्धारणमा प्रतिस्पर्धाको महत्वपूर्ण भूमिका रहेको देखाएको छ । कर्मचारी कटौती र पुनर्संरचना आर्थिक दबाबका कारण कम्पनीहरूले कर्मचारी व्यवस्थापन र दीर्घकालीन लगानी योजनासमेत परिवर्तन गर्न थालेका छन्। नेदरल्यान्ड्सको केएलएमले वार्षिक आम्दानी एक अर्ब युरोले सुधार गर्ने लक्ष्यसहित पुनर्संरचना योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी वर्षहरूमा कर्मचारी संख्या करिब १५ प्रतिशतले घटाउने योजना बनाएको छ । साथै, एयरबस ए ३२० को सट्टा साना एम्ब्रेयर ई१९५–ई२ विमान प्रयोग गर्ने तयारी गरेको छ । ब्रसेल्स एयरलाइन्सले सन् २०२७ मा थप दुईवटा एयरबस ए३३० विमान भित्र्याउने योजना स्थगित गरेको छ । लाट्भियाको एयरबाल्टिकले करिब १०० जना पाइलट र २०० जना केबिन कर्मचारी कटौती गर्ने जनाएको छ । विज एयरले पनि रोमानियास्थित आफ्नो सञ्चालनमा १७२ वटा पद हटाउने योजना बनाएको छ । उद्योगमा एकीकरण बढ्ने अनुमान लगातारको आर्थिक दबाबले युरोपेली वायुसेवा कम्पनीबीच एकीकरण तथा सहकार्य बढ्न सक्ने विश्लेषण गरिएको छ । आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस ग्यालेगोका अनुसार, केही कम्पनीले सम्भावित सहकार्यका लागि आईएजीसँग सम्पर्क गरेका छन् । क्रोएसियाका आर्थिक विश्लेषक दामिर नोभोत्न्यले विगत एक दशकको तुलनात्मक रूपमा सस्तो इन्धनले हवाई यात्रु तथा उडान संख्या बढाए पनि कम्पनीबिच प्रतिस्पर्धात्मक दबाब सिर्जना गरेको बताए । उनका अनुसार, आगामी वर्षहरूमा घाटामा रहेका केही वायुसेवा कम्पनी बजारबाट बाहिरिन सक्छन् भने सञ्चालन खर्च बढ्दा टिकटको मूल्यसमेत वृद्धि हुनेछ । इन्धनको मूल्यवृद्धिले युरोपेली उड्डयन उद्योगलाई उडान कटौती, कर्मचारी पुनर्संरचना र मूल्यवृद्धिको बाटोमा धकेलेको छ । यसको प्रभाव यात्रुको खर्चमा मात्र नभई रोजगारी, हवाई सम्पर्क र उद्योगको प्रतिस्पर्धामा समेत दीर्घकालसम्म पर्न सक्ने देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह
Latest NewsJust now

पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले आफ्नो टोलीको ब्याटिङ कमजोर रहेको स्वीकार गरेका छन् । मंगलबार सुदूरपश्चिमले दिएको १... ...

रातोपाटी
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ ।नेपाल संवत् ११४७ (नय... ...

गोरखापत्र
कमला पुल निर्माण अन्तिम चरणमा
Latest NewsJust now

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम। तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले... ...

रातोपाटी
१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता
Latest NewsJust now

१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता

काठमाडाैँ। वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौथो संस्करणको उपाधि जितेका छन् । मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियोगितामा १ सय १ प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधिसहित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play