काठमाडौं । इनम सापकोटाले आफूलाई धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको आरोप लगाएका छन् । उनकी श्रीमती कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराइएको निवेदनमा विमानस्थलबाट नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा पुर्याइएको, जबर्जस्ती बयान गराउन खोजिएको र मानसिक यातना दिइएको उल्लेख छ । निवेदनमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापा, व्यवसायी उमेश श्रेष्ठ, मीनबहादुर गुरुङलगायत व्यक्तिविरुद्ध बयान नदिए आफू र परिवारलाई खतरा हुने भन्दै धम्की दिइएको दाबी गरिएको छ । ३० वर्षीय सापकोटा पूर्वप्रधानन्यायाधीश जबरासँग पटक–पटक फोन सम्पर्क भएको खुलेपछि प्रहरी अनुसन्धानमा तानिएका थिए । प्रहरीले उनलाई असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । आयोगमा दर्ता गरिएको निवेदनको पूर्ण विवरण: श्री राष्ट्रिय मानव अधिकार आयोग, ललितपुर, नेपालमा पेस गरेको निवेदन पत्र विषय : जीवन रक्षा गरिपाऊँ। म निवेदक नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम निम्न लिखित निवेदन गर्दछु। १. म निवेदक नेपाली नागरिक हुँ । म अध्ययन तथा व्यावसायिक कार्यका लागि वैदेशिक भ्रमण गरिरहने व्यक्ति हुँ । यसै सिलसिलामा म निवेदक मिति २०८३।०६।१४ गतेका दिन करिब १०:३० बजे नयाँदिल्ली, भारत जान भनी घरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए । त्यसको केही समयपछि त्रि.अ.वि.मा गई बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुग्दा प्रहरीले मलाई त्यहाँबाट नियन्त्रणमा लिई मसँग भएको दुईवटा मोबाइल फोन खोसेर लिई विमानस्थलबाट निकाली गाडीमा राखी आँखामा पट्टी लगाई लिएर गएका थिए । निजहरूले मलाई ऐजनको १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालो पट्टी लगाएरै राखेका थिए । सो अवधिमा मसँग विभिन्न कुराहरू सोधपुछ गरेका थिए। सोधपुछको क्रममा ‘तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका भाइ तथा छोरा, राजनीतिक दल नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने, नत्र म मात्र होइन मेरो परिवारसमेतलाई नराम्रो हुन्छ भनी धम्की दिइयो । यी व्यक्तिहरूमध्ये कोही मेरो अत्यन्त राम्रो व्यक्तिगत सम्बन्ध र चिनजान रहेका, कोही गुरु र शिक्षकसमेत रहेका र केही मैले चिन्दै नचिनेका सार्वजनिक पदमा रहेका व्यक्तिहरू हुन्। मैले बारम्बार आफूले पनि कुनै गैरकानुनी कार्य नगरेको भन्दै केवल फोन सम्पर्क गर्दैमा के कस्तो कसुर हुने हो र मलाई के कारणले पक्राउ गरिएको हो, मेरो घरपरिवारलाई जानकारी गराइदिनु भनी अनुरोध गर्दा पनि माथिकै कुराहरू मात्र गरिरहे। माथि उल्लेखित व्यक्तिहरूले के–कसो गरेको आफूलाई जानकारी नै नभएको र अनाहकमा अरूविरुद्ध आफूले केही बोल्न नसक्ने भनी बारम्बार भन्दा समेत विभिन्न तरिकाले घुमाइफिराई सोही कुरामात्र गरेका थिए। मैले नमानेपछि निजहरूले लामो समयसम्म जेल बस्ने गरी झुट्टा मुद्दा लगाउने, मेरो तथा मेरो परिवारकै जिउज्यानमा खतरा पार्ने र सम्पूर्ण घरपरिवारलाई नै समस्या हुने भनी मानसिक यातना दिइरहे। सो क्रममा मलाई फकाउने र तर्साउने काम गरिरहे । तत्पश्चात् निजहरूले धेरै कुरा बोल्नुपर्दैन, हामीले यहाँ लेखेको कुरा पढ्नुस् अनि यसमा तपाईँको सहमति भए कागज गराई छोडिदिन्छौँ भनी एकतिरको आँखाको पट्टी माथि सारी सबैले सुन्ने गरी पढ्नुस् भनेकाले मैले सोहीबमोजिम पढेको थिएँ। बेलाबेलामा बीचबीचमा रोक्दै अलि छिटो भयो, बिस्तारै हामी सबैले सुन्ने गरी ठूलो स्वरमा पढ्न लगाए। सो कुरा पढेपछि निजहरूले कागज तयार गरी मलाई तिनै पढेका कुरा लेखेका कागजमा सही गर्नु भनी भन्दा मैले जानकारी नै नरहेको, तपाईँहरूले पढ्न लगाएका र सो सम्बन्धमा मलाई थाहा जानकारीसमेत नभएका कुराहरू उल्लेख गरिएको हुँदा मैले गर्दै नगरेका र मलाई थाहा नै नभएका झुट्टा कुराहरूमा सही गर्न सक्दिनँ भनी मैले उक्त कागजमा दस्तखत गर्न इन्कार गरेको थिए । २. मैले निजहरूले भनेबमोजिमको कागजमा लामो समयसम्म सही गर्न नमानेपछि अब यसलाई यत्तिकै छाड्ने होइन, मुद्दा लगाएर खोरभित्र हाल्नुपर्छ अनि नमानेर सुख हुन्छ र भनी मेरो आँखामा पट्टी लगाई त्यसमाथि अर्को चस्मा लगाउन लगाई फेरि गाडीमा हाली त्यहाँबाट लिएर हिँडेका थिए । गाडीबाट ओराल्दा आँखाको पट्टी र चस्मा निकालेको हुँदा साँझको समयमा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ल्याई पुर्याएको थाहा पाएँ। लगत्तै प्रहरीले दुईवटा कागज ल्याई मेरो खल्तीमा हालिदिए र मलाई थुनामा राखे । त्यसको भोलिपल्ट १६ गते बिहान अन्दाजी ८:३० बजेको समयमा मलाई हतकडी लगाई मैले यात्राका लागि लगेको दुईवटा सुटकेससहित प्रहरीको भ्यानमा राखी ‘खानतलासी गर्नुछ, तपाईँ बस्ने ठाउँ कता हो, लिएर हिँड्नुस्’ भनेकाले मैले मेरो बासस्थान रहेको का.जि.का.म.न.पा. वडा नं. ३ स्थित पानीपोखरी हाइट होम्स अपार्टमेन्टमा लगेको थिए । त्यहाँ पुगेपछि मेरो सुटकेस गाडीबाट निकाली घरको गेटभित्र आँगनमा राखे र मलाई हतकडी लगाएकै अवस्थामा गाडीबाट ओराली कहाँ के छ देखाउनुस् भनी घरभित्र लिएर गएका थिए। घरमा मेरै पाँच महिने छोरीसहित मेरी श्रीमती र जेठानहरू मलाई देखेर आत्तिनुभयो। प्रहरीले घरका सबै कोठाहरू खानतलासी गरी पुरानो ल्यापटप, पुरानो फोन र केही कागजातहरू मात्र फेला परेपछि प्रहरी टोलीका एकजनाले फोनमा ‘यहाँ केही भेटिएन’ भनेपछि फेरि उसैले इशारा गरेर घरअगाडि राखिरहेको सुटकेस भित्र ल्याई सुटकेसभित्र रहेको मेरो साइड ब्यागबाट केही विदेशी मुद्राहरू निकाली फेरि फोनमा ‘यति मात्र रहेछ’ भनी जानकारी गराएपछि ‘यही भए पनि मुचुल्का बनाएर लानुपर्छ’ भनी भेटिएका ल्यापटप, पुरानो फोन र मेरो सुटकेसबाट निकालेका पैसालाई घरमा फेला परेको भनी मुचुल्का बनाए । सो मुचुल्का बनाउँदा मेरी श्रीमतीको दस्तखत पहिल्यै खाली पेजमा गराएको थियो । यसका साथै मबाट दुई दिन अगाडि नै खोसिएको आईफोनसमेत घरबाटै बरामद भएको भनी उल्लेख गर्न खोज्दा मेरा आफन्तले ‘नभएको फोनको कसरी बरामद भएको भनी लेख्न सक्नुहुन्छ?’ भनी प्रश्न गर्दा सो बारेमा उल्लेख नै नगरी बरामदी मुचुल्का बनाई मलाई त्यहाँबाट लिएर हिँडे । ३. मलाई १४ गते साँझको समयमा त्रिभुवन विमानस्थल अगाडिको सार्वजनिक सडकमा महिला लगायतका सर्वसाधारणहरूउपर अश्लील हर्कत गरी अभद्र व्यवहार गरेको भनी मुद्दामा म्याद थप गरेका रहेछन्। जुन गलत हो। मलाई प्रहरीले विमानस्थलको सडकखण्डबाट होइन, विमानस्थलभित्रबाट पक्राउ गरेको हो। मैले कसैलाई अभद्र व्यवहार गरेको छैन। मलाई भित्रबाट पक्राउ गरिएकाले सीसीटीभी फुटेज झिकाएर जाँच गरियोस्, मेरो नामको इस्यु भएको कागजात र बोर्डिङ पाससमेत हेर्दा प्रस्ट हुन्छ, म निर्दोष भएको भनी कसुरमा इन्कार गर्दा निजहरूले मबाट १३०० अक्षरूपी तेह्र सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएकाले उक्त रकम राष्ट्र बैंकअन्तर्गतको कसुर भएको भनी काठमाडौं जिल्ला अदालतमा म्याद थपको लागि पेस गरेका थिए । मेरो कानुन व्यवसायीले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको विदेशी विनिमय कारोबार गर्ने सम्बन्धी परिपत्र २०५२ को विषयसूची ९ नं. अन्तर्गतको नेपाली नागरिकले नगदै राख्न सक्ने र सटही गर्न सक्ने परिवर्त्य विदेशी मुद्रासम्बन्धी भएको कानुनी व्यवस्थाअन्तर्गत नै निजले आफ्नो साथमा यूएसडी लिएर गएको हो, कानुनबमोजिमको काम अपराध होइन, गैरकानुनी थुना हो भनेपछि प्रहरीले मलाई उक्त मुद्दामाथि सम्पत्ति शुद्धीकरण मुद्दा थप गरी मविरुद्ध झुट्टा मुद्दाहरू सिर्जना गरी थुनामा नै राख्ने प्रवृत्ति देखाई मेरो स्वतन्त्रता हरण गरेका छन्। ४. हाल आएर मलाई प्रहरीले माथिको प्रकरण नं. १ मा पढ्न लगाएका कुराहरू नेपाली कांग्रेसको आधिकारिकताको विवाद, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरूको सेटिङजस्ता अडियोको सम्बन्धमा मैले मेरा आफन्तहरूबाट र पछि प्रहरीले थप बयानका क्रममा सुनाउँदा थाहा पाएँ। मैले भन्दै नभनेका र जान्दै नजानेको र सोबारेमा कुनैथाहा जानकारी नै नभएका कुराहरू मलाई पक्राउ गरेको दिन प्रहरीले पढ्न लगाएका कुराहरू काटछाँट गरी सार्वजनिक गरिएको भन्ने थाहा पाउँदा उक्त दिन मैले पढेका कुराहरू प्रहरीले रेकर्ड गरेको थाहा पाए । प्रहरीले उक्त अडियो परीक्षणको नाममा मलाई फेरि ‘स्वर तपाईँको हो होइन’ भनी सोधपुछ गरेको र उक्त आवाज आफ्नै जस्तो रहेको तर भनेका कुराहरू याद नभएको भनी उल्लेख गरी बयान लिएको छ। सोही अडियोकै आधारमा बयान दिनुपर्ने भनी मानसिक दबाब र यातना दिँदै आएकाले अनुसन्धान कानुनबमोजिमभन्दा केही व्यक्तिविशेषका निर्देशनमा भइरहेको र यातनाबाट तयार पारिएको सामग्रीलाई प्रमाण बनाई म लगायत माथि उल्लेखित व्यक्तिहरूलाई झुट्टा मुद्दा चलाउने, केही निजहरूको सार्वजनिक जीवनमा असर पार्न सक्ने गम्भीर आशंका उत्पन्न भएको र म लगायत मेरो परिवारको जिउज्यान र स्वतन्त्रतामाथि नै आघात पुर्याउनेसम्मको धम्की दिएकाले लामो समयदेखि म तनावमा रहेको छु । सो कुरा कसैलाई भन्न सकेकोसमेत थिइनँ र मेरी श्रीमतीले मेरो शारीरिक तथा मानसिक अवस्थाको कारणबारे सोधपुछ गरी चिन्तासमेत व्यक्त गरेकाले आफू माथि भएको शारीरिक तथा मानसिक यातनाको सम्बन्धमा निजलाई भनेको थिएँ। निजले मेरो कानुन व्यवसायीलाई यी कुरा जानकारी गराएकाले आफ्नो जिउज्यानको सुरक्षाका लागि मानव अधिकार आयोगमा निवेदन दिन सक्ने भनी सल्लाह पाएकाले सोहीबमोजिम प्रस्तुत निवेदन लिई आएको छु । प्रहरीले मेरो मोबाइलसमेत दुई दिनसम्म अन्य अनधिकृत व्यक्तिलाई दिएको र ती व्यक्तिबाट म प्रहरीकै नियन्त्रणमा रहँदा त्यसमा छेडखानी गरी हुँदै नभएका विभिन्न प्रमाणहरू सिर्जना गरेको, एआईबाट सिर्जित कागजातसमेत प्रमाणको रूपमा प्रस्तुत हुन थालेको भन्ने समाचार आइरहेको कुरा मेरा आफन्त र कानुन व्यवसायीबाट थाहा जानकारी भएकाले म निवेदकलाई फसाउनका लागि विभिन्न परिपञ्च तथा षड्यन्त्र गरिरहेको हुँदा सोतर्फसमेत सम्मानित आयोगबाट अनुसन्धान गरी दोषीहरूउपर कानुनबमोजिम कारबाहीको सिफारिससमेत गरिपाऊँ । अनुसन्धानका प्रमाणहरू र सो सम्बन्धी सामग्रीहरू एवम् झुट्टा प्रमाण सिर्जना गर्ने र बाहिर चुहाउने अनुसन्धानमा कार्यरत तथा अन्य सम्बन्धित व्यक्तिहरूसमेतउपर अनुसन्धान गरी कानुनबमोजिम सजायका लागि सिफारिस गरिपाऊँ । यिनै चुहावट गरिएका सामग्रीका आधारमा आरोप प्रमाणित नहुँदै मलाई देशकै सबैभन्दा ठूलो बिचौलिया, फिक्सर जस्ता उपनाम दिई मिडिया ट्रायल गरी दोषीसरह प्रस्तुत गरिएको छ र मेरी श्रीमतीले कागज गर्न जाँदासमेत प्रहरीको फन्दामा परेको भन्ने जस्ता शब्दहरू लेख्ने भन्ने कार्य गरी बदनाम गराइएको छ। यसबाट नेपालको संविधानको धारा २० को न्यायसम्बन्धी हकले प्रदत्त गरेका निर्दोषिताको हक, स्वच्छ सुनुवाइ र कानुनको दायराभित्र रही अनुसन्धान हुनुपर्ने लगायतका मौलिक हकमाथि कुण्ठित पार्ने कार्यसमेत भएको छ। यसका साथै धारा २८ ले प्रदान गरेको गोपनीयताको हकलाई समेत हनन गर्ने गरी नियोजित रूपमा ममाथि गैरकानुनी कार्य गरिरहेकाले संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कारबाही गरिपाऊँ। मेरो र मेरो परिवारको जिउज्यानको रक्षा गरिपाऊँ । ५. व्यहोरा ठीक साँचो छ। फरक परे कानुनबमोजिम सहुँला, बुझाउँला । निवेदक इनम सापकोटाको तर्फबाट निजको एकाघरको श्रीमती कविता पाण्डे काठमाडौं जिल्ला, बूढानीलकण्ठ न.पा. वडा नं. २ The post इनमको मानव अधिकार आयोगमा निवेदन-चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्णपाठ) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
इनमको मानव अधिकार आयोगमा निवेदन-चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्णपाठ)

Read Complete Original Article
Published originally on कर्पोरट खबर






