तेल अभिभ । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी आइजेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन् । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् । इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । आइजेनकोटलाई यहुदी नेतृत्वको विपक्षी गठबन्धनका ४८, राम पार्टीका आठ र अरब नेतृत्वको संयुक्त सूचीका ११ सांसदको समर्थन प्राप्त भएको हो । सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले सरकार गठनको बाटो अझै लामो भए पनि आफूहरू दृढ रहेको बताएका छन् । उनले देशलाई सुरक्षा र विवेकको बाटोमा फर्काउन राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने लक्ष्य रहेको उल्लेख गरे । यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पक्षमा ५३ सिट रहे पनि परम्परागत सहयोगी युनाइटेड तोराह जुडाइज्मले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेपछि उनको समर्थन ४६ सिटमा सीमित भएको छ । जोइन्ट लिस्टले नेतान्याहु र उनको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्ने सार्वजनिक मागअनुसार आइजेनकोटलाई समर्थन गरेको जनाएको छ । यद्यपि, उक्त दलले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेकाले सरकारमा औपचारिक रूपमा सहभागी नहुने स्पष्ट पारेको छ । बहुमत समर्थन प्राप्त भए पनि राष्ट्रपति हर्जोगले सरकार गठनको औपचारिक जिम्मेवारी दिनुअघि राजनीतिक दलहरूसँग थप परामर्श गर्ने बताएका छन् । उनले आइतबार आइजेनकोटलाई सरकार गठनको जनादेश दिने अपेक्षा गरिएको छ ।
इजरायलमा नेतान्याहुको सत्ता ढल्ने पक्का, आइजेनकोटलाई जुट्यो ६७ सांसदको समर्थन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






