काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत भएको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिए । मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापनकसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिए । उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्यांक विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा समेत माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए । उनले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकोमा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे । आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे । प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो । प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन हुनु प्राधिकरणका लागि थप चुनौतीपूर्ण थियो ।प्राधिकरणको तथ्यांक अनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ७४५ मेगावाट पुगेको थियो भने २०८१ सालमा १ हजार ६०२ मेगावाट थियो। यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै काठमाडौं उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ । गत वर्ष ४०२ मेगावाट रहेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो। कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए । The post आन्तरिक विद्युत् माग पूरा गर्दै ५८७.३० मेगावाट विद्युत् भारत निर्यात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आन्तरिक विद्युत् माग पूरा गर्दै ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

Read Complete Original Article
Published originally on कर्पोरट खबर






