काठमाडौं । पत्रकारमाथि हुने हत्या, हिंसा, धम्की तथा आक्रमणका घटनामा दण्डहीनता अन्त्य गर्ने उद्देश्यले आज विश्वभर ‘पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ मा नोभेम्बर २ लाई यो दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । पत्रकारमाथि हुने अपराधको अनुसन्धान, दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । यस वर्ष सन् २०२६ को दिवस ‘खतरा बदलिँदै छन्, दण्डहीनता कायमै छ’ भन्ने नारासहित मनाइँदैछ । नयाँ प्रविधि र हतियारका कारण विशेषगरी द्वन्द्वग्रस्त क्षेत्रमा पत्रकारमाथि हुने आक्रमणका स्वरूप परिवर्तन हुँदै गएको विषयलाई यस वर्ष प्राथमिकता दिइएको छ । पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने क्रममा विभिन्न किसिमका धम्की, आक्रमण, अपहरण, यातना तथा हत्यासम्मका जोखिम सामना गर्नुपरेको छ। यस्ता घटनामा दोषीमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने र स्वतन्त्र पत्रकारितामाथि गम्भीर असर पर्ने गरेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार सन् २००६ देखि २०२५ सम्म विश्वभर एक हजार ६०० भन्दा बढी पत्रकारको हत्या भएको छ। तीमध्ये करिब सातमध्ये छ घटनामा अझै न्यायिक निरुपण हुन सकेको छैन । संयुक्त राष्ट्रसंघले पत्रकारमाथि हुने सबै प्रकारका आक्रमणको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गर्दै आएको छ । तस्बिर ःएआई
आज पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






