काठमाडौं । भारतीय क्रिकेटका पूर्वब्याटर आकाश चोपडाले १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशी आगामी दिनमा इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्न सक्ने भविष्यवाणी गरेका छन्। उनले सूर्यवंशीको मूल्य ४० करोड भारतीय रुपैयाँसम्म पुग्न सक्ने बताएका छन्। एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत यूएईविरुद्धको खेलमा सूर्यवंशीले कीर्तिमानी दोहोरो शतक प्रहार गरेपछि चोपडाले उनको खुलेर प्रशंसा गरेका हुन्। सूर्यवंशीले उक्त खेलमा ५३ बलमा २०४ रन बनाउँदै भारत एलाई सहज जित दिलाएका थिए। राजस्थान रोयल्सबाट आईपीएल खेल्दै आएका सूर्यवंशी भविष्यमा लिलामीमा सहभागी भए वा खेलाडी रिटेन्सनको विषय आए उनको मूल्य ४० करोड रुपैयाँसम्म पुग्न सक्ने चोपडाको भनाइ छ। उनले सूर्यवंशी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बन्न सक्ने सम्भावनासमेत औँल्याएका छन्। चोपडाले विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, केएल राहुल र हार्दिक पाण्ड्याजस्ता स्थापित खेलाडी रहेको आईपीएलमा समेत सूर्यवंशीको क्षमता फरक रहेको बताएका छन्। उनका अनुसार अन्य खेलाडीले टोलीलाई जिततर्फ लैजान सक्छन् भने सूर्यवंशीमा एक्लैले खेललाई एकतर्फी बनाउन सक्ने क्षमता छ। उनले सूर्यवंशीको ब्याटिङलाई भिडियो गेमसँग तुलना गर्दै ५३ बलमै २०४ रन बनाउनु असाधारण उपलब्धि भएको बताए। सूर्यवंशीले २८ बलमै शतक पूरा गरेका थिए। त्यसपछि उनले खेलकै इतिहासमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमानसमेत कायम गरे। चोपडाले पाकिस्तानविरुद्ध सूर्यवंशीबाट धेरै अपेक्षा गरिए पनि उनले रन बनाउन नसकेको प्रसंग उल्लेख गर्दै यूएईविरुद्धको प्रदर्शनले आफ्नो क्षमता प्रमाणित गरेको बताए। यद्यपि, सूर्यवंशीको ४० करोड रुपैयाँ मूल्यसम्बन्धी चोपडाको भनाइ वास्तविक लिलामी मूल्य नभई उनको भविष्यको सम्भावनाबारे गरिएको अनुमान हो। तर पछिल्लो कीर्तिमानी प्रदर्शनले युवा ब्याटरको आईपीएल भविष्यबारे अहिले नै चर्चा सुरु भएको छ।
आईपीएल इतिहासकै महँगा खेलाडी बन्न सक्छन् वैभव !

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






