काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। सरकारले आफूलाई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाएको दाबी गर्दै कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उनले सरकारको निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्। सुनुवाइको अवसर नै नदिई कुनै आधार र कारणबिना आफूलाई पदबाट हटाइएको कार्कीको दाबी छ। रिट निवेदन दर्ता भए पनि त्यसको सुनुवाइका लागि पेसी भने तोकिएको छैन। मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। उनको स्थानमा तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। सरकारको उक्त निर्णय बदर गरी पुनः प्रहरी संगठनको नेतृत्वमा फर्किन पाउनुपर्ने माग कार्कीले रिटमार्फत गरेका छन्।
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






