काठमाडौं । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्। सम्भावित वर्षा र असिनाबाट क्षति हुन सक्ने भएकाले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको पराल सुरक्षित राख्न किसानलाई सुझाव दिइएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढेसँगै मौसममा परिवर्तन आउने अनुमान गरिएको छ। आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने मौसमविद् पोखरेलले बताएकी छन्। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ। वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पर्न सक्ने सम्भावना रहेकाले किसानलाई सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी खेतमै रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्था हेरेर बाली भित्र्याउन र सुरक्षित राख्न मौसमविद्को सुझाव छ। मौसमविद् पोखरेलका अनुसार अहिले देखिएको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको छैन। यसबाट भारी वर्षाको सम्भावना नरहे पनि पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्छ। उनका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली छिटो सर्ने प्रकृतिको हुन्छ। यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने भएकाले सबै क्षेत्रमा एकै किसिमको प्रभाव नपर्न सक्छ। असिना पनि निश्चित स्थानमा मात्रै पर्ने सम्भावना रहन्छ। हिउँदमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउन सक्ने भएकाले कृषि उत्पादनका दृष्टिले सकारात्मक प्रभावसमेत पर्न सक्ने मौसमविद्को भनाइ छ। यद्यपि, किसानले मौसम पूर्वानुमान र विभागले जारी गर्ने अद्यावधिक सूचनालाई ध्यान दिनुपर्नेछ।
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





