अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले बुधबार सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिअनुसार अस्ट्रेलियामा बसोबास गर्ने आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा अस्ट्रेलिया आउन दिने हालको भिसा कार्यक्रम अन्त्य गरिनेछ । यो प्रस्ताव लागू भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न आप्रवासी समुदायका परिवार प्रभावित हुन सक्नेछन् । विशेषगरी आफ्ना वृद्ध बाबुआमालाई अस्ट्रेलिया ल्याएर आफूसँगै राख्न चाहने परिवारलाई यसले प्रत्यक्ष असर पार्न सक्छ। अभिभावक भिसा बन्द गर्ने प्रस्ताव वान नेसनले हालको स्थायी अभिभावक भिसा कार्यक्रम खारेज गरी त्यसको सट्टा परिवारले आर्थिक जिम्मेवारी लिने गरी अधिकतम १२ महिनासम्मको अस्थायी भिसाको व्यवस्था गर्न सकिने प्रस्ताव गरेको छ । ह्यान्सनका अनुसार अभिभावकलाई अस्ट्रेलिया ल्याउने जिम्मेवारी सरकारको नभई सम्बन्धित परिवारको हुनुपर्नेछ । हाल अभिभावक भिसाका लागि करिब एक लाख ५० हजार आवेदन प्रतीक्षामा रहेको बताइएको छ। प्रस्ताव लागू भए प्रतीक्षामा रहेका आवेदनको शुल्क फिर्ता गर्ने र अन्य वैधानिक भिसा विकल्प नभए अस्ट्रेलियामा रहेका केही आवेदकले समेत देश छाड्नुपर्ने अवस्था आउन सक्ने वान नेसनको प्रस्ताव छ। शरणार्थीको संख्या ९० प्रतिशत घटाउने वान नेसनले अस्ट्रेलियामा प्रत्येक वर्ष स्वीकार गरिने शरणार्थीको संख्या २० हजारबाट घटाएर दुई हजारमा सीमित गर्ने प्रस्ताव पनि सार्वजनिक गरेको छ । यो प्रस्ताव लागू भए हालको वार्षिक शरणार्थी कोटामा ९० प्रतिशत कटौती हुनेछ। दलले आफ्नो नयाँ आप्रवासन नीतिबाट आगामी १० वर्षमा सरकारी बजेटमा करिब १०० अर्ब अस्ट्रेलियन डलर बचत हुने दाबी गरेको छ। सरकार र आप्रवासी समुदायबाट आलोचना अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अभिभावक भिसा अन्त्य गर्ने प्रस्तावले यहाँका बहुसांस्कृतिक समुदायका धेरै परिवारलाई गम्भीर असर पार्ने बताएकी छन्। गृहमन्त्री टोनी बर्कले पनि अभिभावकलाई अस्ट्रेलिया ल्याउन नपाउने अवस्थाले स्वास्थ्य सेवा र वृद्ध हेरचाह क्षेत्रमा दक्ष कामदार आकर्षित गर्न कठिन हुने बताएका छन्। अस्ट्रेलियाको वर्तमान सरकारले वार्षिक २० हजार शरणार्थी स्वीकार गर्ने नीति कायम राख्ने जनाएको छ भने विपक्षी गठबन्धनले त्यसलाई घटाएर १० हजारमा सीमित गर्ने प्रस्ताव गरेको छ । वान नेसनको यो घोषणा राजनीतिक प्रस्ताव मात्र हो। हालसम्म यो सरकारी नीति वा लागू भइसकेको कानुन होइन। त्यसैले अभिभावक भिसा तत्काल बन्द भएको भन्नेगरी बुझ्न नहुने सरकारी अधिकारीहरुको भनाइ छ । तर प्रस्ताव कार्यान्वयन भए अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य आप्रवासी परिवारले आफ्ना वृद्ध बाबुआमालाई स्थायी रूपमा अस्ट्रेलिया ल्याउने योजनामा ठूलो परिवर्तन गर्नुपर्ने अनुमान गरिएको छ ।
अस्ट्रेलियामा आप्रवासन नीति थप कडा बनाउने प्रस्ताव, अभिभावक भिसा बन्द गरिने

Read Complete Original Article
Published originally on पर्दाफास






