Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

अविश्वासको पासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अविश्वासको पासो
Photo / Coverage: हिमालय टाइम्स

संघीय लोकतान्त्रिक प्रणालीलाई सफल गराउने सही संयन्त्र कसलाई मान्ने ? नागरिक निर्णायक घडीमा निर्णायक मात्रै हुन्छन् । नागरिक निरन्तर आफ्नो पक्ष वा विपक्षमा कुनै मत जाहेर गर्दैनन् । उनीहरुसँग जतिसुकै असन्तोष भए पनि, कुनै अपूर्ण कामना भए पनि, अन्याय सहनु परे पनि त्यो सचेत घडी वा समयको प्रतीक्षामा बस्न विवश हुन्छन् नागरिकहरु । तर नागरिकहरु सचेतता वा समयविपरीत उभिन पुगे भने त्यो नागरिक नभएर एक अराजक भिडमा परिणत हुन्छ । त्यो भिडसँग आँखा हुँदैन, विवेक हुँदैन, न्याय वा अन्याय बुझ्ने र बुझाउने सामर्थ्य हुँदैन । त्यो भिड उर्लिएपछि पटक-पटक भदौ २४ हुने गर्छ, त्यो भिडले विवेक गुमाउन लागेपछि पटक-पटक फागुन २१ दोहोरिरहन्छ, त्यो भिड अन्यायी भएमा पुस मसान्त दोहोरिरहन्छ र त्यो भिड क्रूर भएमा फागुन १ पछिको एक दशक फर्कँदैन भन्ने हुँदैन । फागुन १ इतिहासको एक क्रूर कलंक नै हो । जसले जुन शब्दमा त्यसको महिमामण्डन गरे पनि त्यो निरर्थक अभ्यास र आडम्बरबाहेक केही हुनसक्दैन । भिडका आँखामा देश हुँदैन, परिवार हुँदैन, समाज हुँदैन, सीमा हुँदैन, अनुशासन हुँदैन, आस्था हुँदैन, गन्तव्य र लक्ष्य केही पनि हुँदैन । मनले, मुटुले र नेत्र सबैले अन्धो त्यो भिड उर्लिएपछि जे पनि हुन्छ । एक व्यक्ति शासक र केही व्यक्ति समूह त्यसका सहयोगी, सहधर्मी भए भने पनि ऊ आफैंमा भिड संस्कृतिभन्दा कम कठोर देखिँदैन । ०६३ सालपछिको अन्तिम राजनीतिक संयन्त्र स्थापित छ संघीय लोकतान्त्रिक गणतन्त्र । तर यो निर्विवाद छैन । यसका सैद्धान्तिक विवाद पर्याप्त छन् । आज पनि नेपालमा राजसंस्थाको विमर्श चलिरहेको छ, धर्मको माग भइरहेको छ, जातीय र क्षेत्रीय प्रश्न यथावत् छन् र राजनीतिक वैचारिक रूपमा वैज्ञानिक समाजवाद कि लोकतान्त्रिक समाजवाद बहस भइरहेको छ । हामी शब्दको विमर्शमा अल्झिन सिपालु छौं । शब्दमा खेल्नेहरुको वर्चस्व छ । तर शब्द अनुरूपको संयन्त्र, संस्कृति र विकासको बाटो निर्माण गर्ने कलामा अत्यन्त कमजोर र कामचोर सिद्ध भइरहेका छौं । राजनीतिक प्रणाली संघीय छ, तीन चक्रे प्रणाली स्थापित छ । तर विश्वासको कुरा गर्ने हो भने एकचक्रे सोच र चिन्तनले घर बनाएको छ । एकातिर एकचक्रे चिन्तन छ, अर्कातिर संघीयताको अथवा तीन चक्रका लागि बहस पैरवी गर्नेहरु अराजक भिडको बूँख्याचा जस्तो हुनपुगेका छन् । आफैं अराजकताको मतियार भएको देखिन्छ । विगत बीस वर्षलाई हेर्ने हो भने केन्द्रमा कतिजना प्रधानमन्त्री भए ? कति मन्त्री भए ? कतिपटक संसद्को निर्वाचन भयो ? तर पूरा अवधि कुनैको भएन । किन होला ? त्यही अराजक भिडको प्रभाव हो कि ? एकात्मक चिन्तनको दुस्वप्न ? कमोवेस स्थानीय तह स्थिर छन् । तर त्यहाँ पनि तानातान छ । तीन चक्रे प्रणालीको महत्त्वपूर्ण चक्र हो प्रदेश । सानो देश, कुनै एक जातजातिको बाहुल्य नभएको क्षेत्र, तैपनि प्रदेश बनेको छ तर चलेको छैन । केन्द्रमा पुग्न नसक्ने आफन्तहरुलाई थन्काउने वा सदस्य र आफ्ना समर्थक सहयोगीका असन्तोषलाई तत्कालीन अथवा अल्पकालीन समाधान गर्ने उपायका रूपमा प्रदेश संरचनाको प्रयोग देखिएको छ । वर्तमान संविधान लागू भएपछिको दुई निर्वाचनमा हामीले प्रदेश संरचनाको पनि निर्वाचन गर्‍यौं । तर गम्भीर प्रश्न उठेको छ, सातवटा प्रदेश संरचनाका कारण त्यस क्षेत्रका नागरिकले कस्तो सुविधा पाए ? प्रदेश सरकार कति स्थिर र विश्वासिलो भयो ? एकपटक खासगरी कोभिडका समयमा प्रदेश सरकारको सक्रियता देखिएको सबैको स्मृतिमा छ । अन्यथा अवस्थामा विकासका केही कामहरु, योजनामा केही योगदानबाहेक त्यो एकप्रकारले देखाउने दाँतमा परिणत भएको छ । अहिले त प्रदेश सरकार भन्नासाथ प्रहसन जस्तो हुँदैछ । उदाहरण सबै प्रदेश छन् । पछिल्लो उदाहरण भएको छ मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश । सीमान्त हिमाली वा पहाडी जिल्लाको भूगोलमा बस्ने नागरिकहरुको अवस्था अत्यन्त दयनीय छ । तिनलाई उचित बसोवास प्रणालीअन्तर्गत राष्ट्रको मूलधारमा नजोडेसम्म विकासका जतिसुकै वाक्ला गफ गरेपनि ती कुहिसकेको उखुको खोष्टा जस्तै हुन् । कुहेको उखुको खोष्टा पुनः पलाउँदैन । पुनः पलाउन नसक्ने उखुको खोष्टामा जतिसुकै मलजल गरे पनि त्यसबाट कुनै प्रतिफल मिल्दैन । हिमाली वा पहाडी क्षेत्रको भन्दा उच्चतम सुविधा छ मधेस वा शहरी क्षेत्रमा । तर आजका दिनमा हेर्ने हो भने सबैभन्दा विपन्नता र असचेतनाको बिम्ब मधेस क्षेत्र नै देखिन्छ । सामन्ती संस्कार, दाइजोको मार, छुवाछूतको कुष्टरोग, जातिभेद, बोक्साबोक्सी प्रथा, अनि शिक्षामा पछिल्लो स्थान तराई मधेसको वर्तमान हो । नेताहरु भरमार छन्, परिवर्तनका अनेक नायकहरुको भूमि हो । तर पनि विचित्रको अवस्था छ त्यहाँ । अन्यत्रभन्दा भिन्न हुनैपर्ने हो त्यो क्षेत्र । तर झन् खराब किन भइरहेको छ किन होला ? प्रणाली खराब हो कि ? संयन्त्र अनुचित हो कि ? नेतृत्व योग्य नभएको हो ? प्रशस्त प्रश्न छन् । कानुन पनि अनुदार देखिन्छ । मधेस प्रदेशमा पुनः मुख्यमन्त्रीको रस्साकस्सी सुरु भएको छ । विश्वास, अविश्वास, गठन, पुनर्गठन लफडा यथावत् छ । आठ वर्षमा कतिजना मुख्यमन्त्री भए ? कुन दलका भए र तिनले के काम गरे ? तिनले प्रदेश कानुन निर्माणमा, अधिकार प्राप्तिमा, कति काम गरे ? विगतमा भन्दा कुनै सुशासनिक उपलब्धि हासिल गरे कि ? तामझाम, मनोरञ्जन र दादागिरिमै समय व्यतित गरे ? विकासका आधार कति खडा गरे ? आमनागरिकमा राजनीतिक प्रणालीप्रति विश्वास आर्जन हुने काम के-के हुन् ? सत्ताको रत्यौलीमा विगत चलेको आरोप लाग्दा अहिलेको पहिलो चक्र केन्द्र सरकारले प्रदेश संरचनालाई अधिकार संपन्न गराउन के काम गर्दैछ ? कि अँध्यारो गुफाको रहस्यवादी अस्त्र वाक्वाणको निरर्थक अभ्यासमा व्यस्त छ ? कुनै पनि स्थानीय तहलाई हस्तक्षेप गर्नु हुँदैन तर सकारात्मक मार्गमा उत्प्रेरित गर्न त कुनै पनि कानुनले छेक्दैन । आठ महिना हुन लाग्यो स्थितिको कुरा गर्नेहरुको मुखमा बुझो लाउँदैछ बेथितिले । अहिलेको बेथिति प्रदेश र त्यसमा पनि मधेस प्रदेश र सुदूरपश्चिमको अनुहारमा स्पष्ट देखिइरहेको छ । यो बेथितिका लागि प्रदेशमा पुगेका राजनीतिक दलहरु पनि कम जिम्मेदार छैनन् । उनीहरुकै कारण वर्तमान राजनीतिक प्रणाली निरन्तर अपमानित र स्खलित हुँदै गएको अवस्था छ । यस रूपको अविश्वासको पासोबाट संपूर्ण संयन्त्रलाई मुक्त गरी ब्युँझनुपर्ने त जिम्मेदार दलहरुले नै हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play