जनकपुर । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुने भएपछि स्थानीयवासी तथा व्यवसायी उत्साहित भएका छन् । धार्मिक पर्यटन प्रवर्द्धनसँगै दुई देशबीचको पौराणिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । आइतबार भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा अयोध्या–जनकपुरधाम रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रेल सेवा सञ्चालनमा आउने खबरले जनकपुरधामवासीमा खुसी छाएको छ । स्थानीयले यसलाई धार्मिक पर्यटन, आवागमन र व्यापार व्यवसाय विस्तारको नयाँ अवसरका रूपमा लिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२५ का स्थानीय रमेश कुमार झाले रेल सेवा सञ्चालन हुने खबरले नै आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुने कुरा सुनेरै खुसी लागेको छ । झन् रेल गुड्न थालेपछि अझ खुसी लाग्नेछ ।’ उहाँका अनुसार रेल सेवा सञ्चालन भएपछि यस क्षेत्रका स्थानीयलाई अयोध्या पुगेर दर्शन गर्न सहज हुनेछ । भारतबाट जनकपुरधाम आउने तीर्थयात्रीका लागि सरकारले बढीभन्दा बढी सुविधा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ का लम्बु महाराजीले धार्मिक दृष्टिकोणले रेल सेवा सञ्चालन हुनु खुसीको विषय भएको बताउनुभयो । विगतमा अयोध्या पुग्न पटकपटक बस र रेल परिवर्तन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले अब सीधा रेल सेवा सञ्चालन भएपछि दर्शनार्थीलाई सहज हुने बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिका–२ का विकास साहले रेल सेवाबाट सबैभन्दा बढी लाभ स्थानीय व्यवसायीलाई पुग्ने अपेक्षा गर्नुभएको छ । उहाँका अनुसार अयोध्याबाट जनकपुरधाम आउने तीर्थयात्रीसँगै अयोध्या जान चाहने नेपालीको आवागमन पनि बढ्नेछ । भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाममा बढी समय बस्ने वातावरण बनाउन सके स्थानीय व्यवसायमा थप टेवा पुग्ने उहाँको भनाइ छ । त्यसका लागि जनकपुरधाम र आसपासका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्ने उहाँले बताउनुभयो । होटल एसोसिएसन नेपाल, मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाले अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालन हुनु जनकपुरधामका होटल व्यवसायीको लामो समयदेखिको सपना साकार हुने अवसर भएको बताउनुभयो । उहाँले यसलाई जनकपुरधामवासीका लागि आशीर्वादसरह भएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा ठूलो सम्भावना सिर्जना हुने बताउनुभयो । अयोध्याबाट आउने तीर्थयात्रीको सुविधाका लागि जनकपुरधामसहित जिल्लाभरिका होटल तयार अवस्थामा रहेको जानकारी दिँदै उहाँले यात्रुका लागि विशेष छुटको व्यवस्थासमेत गरिने बताउनुभयो । त्यस्तै, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालनले जनकपुरधाम मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँका अनुसार भारतबाट आउने यात्रुलाई जनकपुरधामसँगै मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थल र काठमाडौंसम्म पुगेर दर्शन तथा भ्रमण गर्न सहज हुनेछ । भारतबाट आउने यात्रुका लागि जनकपुरधाममा बसोबास, खानपान र घुमफिरको व्यवस्था मिलाउन तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । यात्रुको सहजताका लागि उपमहानगरपालिकासँग समन्वय गरेर सरसफाइमा समेत ध्यान दिइएको उहाँको भनाइ छ । यात्रुको स्वागतका लागि रेल्वे स्टेसनमै झाँकी तथा लोकनृत्य प्रस्तुत गर्ने तयारी गरिएको छ । पहिलो पटक आउने यात्रुका लागि निःशुल्क भोजनको व्यवस्थासमेत गर्न लागिएको भण्डारीले बताउनुभयो । यता, नेपाल रेल्वेका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा भने आगामी सातादेखि सञ्चालनमा आउनेछ । उहाँले पहिलो पटक मङ्सिर ८ गते आउने रेलमा भारतीय यात्रु मात्रै रहने र सोही दिन उनीहरू भारत फर्किने जानकारी दिनुभयो । सर्वसाधारणले भने आगामी सातादेखि टिकट बुक गरेर यात्रा गर्न सक्नेछन् । रेल सेवाको टिकट शुल्क एक–दुई दिनभित्र निर्धारण गरिने र जनकपुरधामस्थित रेल्वे स्टेसनबाटै टिकट खरिद गर्न सकिने पराजुलीले बताउनुभयो । अयोध्या–जनकपुरधाम रेल सेवा सञ्चालनको तयारी करिब एक महिनाअघिदेखि सुरु गरिएको थियो । यस क्रममा भारतीय रेल्वे विभागका पदाधिकारीले विभिन्न चरणमा जनकपुरधाम आएर निरीक्षण गर्नुका साथै नेपाली अधिकारीसँग बैठक र छलफल गरेका थिए । रेलमार्गको प्राविधिक अवस्था परीक्षण गर्न भारतबाट १७ वटा बोगी भएको रेलसमेत नेपाल आएको थियो । रेल सेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै तीर्थयात्रीको आवागमन, होटल व्यवसाय, स्थानीय व्यापार र समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । -सञ्जय कुमार साह, नेपाल न्यूज बैंक
अयोध्या–जनकपुरधाम रेल सेवा सुरु हुने भएपछि स्थानीय र व्यवसायी उत्साहित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






