अमेरिका । अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको ज्यान गएको अमेरिकी कोस्ट गार्डले पुष्टि गरेको छ। मंगलबार दिउँसो समुद्रमा खसेको सेस्ना सेन्टुरियन २१० विमानमा सवार सबैको शव फेला परेपछि खोजी तथा उद्धार कार्य समाप्त गरिएको कोस्ट गार्डले जनाएको छ। मंगलबार साँझ खोजीका क्रममा मिसिसिपी समुद्री स्रोत विभाग (एमडीएमआर) का गोताखोरहरूले विमानको मुख्य भागभित्रै सबै ६ जनाको शव फेला पारेका थिए। यसअघि उद्धार टोलीले घटनास्थलबाट तीनवटा लाइफ ज्याकेट, एउटा लाइफ र्याफ्ट र विमानको केबिन फेला पारेको थियो। अमेरिकी कोस्ट गार्डका अनुसार मंगलबार दिउँसो करिब ३ः४५ बजे विमानसँग सञ्चार सम्पर्क टुटेको जानकारी प्राप्त भएको थियो। संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँग सम्पर्क विच्छेद भएको जानकारी कोस्ट गार्डलाई गराएको थियो। उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का अनुसार उक्त विमान लुइजियानाको न्यू ओरलिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ उडिरहेको थियो। उडान सुरु भएको करिब ३० मिनेटपछि मिसिसिपीको पास्कागुला क्षेत्रको दक्षिणतर्फ करिब ८ हजार ८०० फिट उचाइमा पुगेको विमान एकाएक तीव्र गतिमा तल झर्न थालेको ट्र्याकिङ विवरणमा देखिएको छ। विमान दुर्घटनाअघि प्रतिमिनेट करिब १८ हजार फिटको गतिमा तल झरिरहेको थियो। यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हुन आउँछ। त्यसपछि विमानको ट्र्याकिङ संकेत बन्द भएको थियो। यद्यपि विमान एकाएक समुद्रमा किन खस्यो भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
अमेरिकामा विमान दुर्घटना, दुई बालकसहित ६ जनाको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






