काठमाडौं । अमेरिकामा प्राविधिक समस्या देखिएपछि देशभरका हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरेपछि करिब ७ हजार उडान ढिला भएका छन् भने केही उडान रद्द भएका छन् । यसबाट न्यूयोर्क, वासिङ्टन र क्यालिफोर्नियासहित विभिन्न सहरका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । अमेरिकी यातायातमन्त्री सिन डफीका अनुसार देशका २२ वटा हवाई यातायात नियन्त्रण केन्द्रमा सञ्चार प्रणालीसम्बन्धी समस्या देखिएको थियो । प्राविधिक टोली समस्या समाधानका लागि खटिएको उनले बताएका छन् । प्रारम्भमा शिकागोका ओहेर र मिडवे विमानस्थलमा सञ्चार प्रणालीमा समस्या देखिएपछि उडान रोकिएको थियो। त्यसपछि अन्य हवाई यातायात नियन्त्रण केन्द्रमा समेत समस्या फैलिँदै गएपछि देशव्यापी रूपमा उडान रोक्ने निर्णय गरिएको हो । उडान रोक्ने आदेश जारी भए पनि आकाशमा उडिरहेका विमानलाई भने अवतरण गर्न अनुमति दिइएको थियो । तर विमानस्थलमा रहेका विमानलाई उडान भर्न रोक लगाइएको थियो । विदेशबाट अमेरिकातर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानबारे भने छुट्टाछुट्टै निर्णय गरिने जनाइएको छ । अमेरिकाका होमल्याण्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले हवाई यातायात नियन्त्रण प्रणालीमा आएको खराबी पछाडि साइबर आक्रमण भएको कुनै संकेत अहिलेसम्म नभेटिएको बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानले दूरसञ्चार प्रणालीमा आएको प्राविधिक खराबीका कारण समस्या उत्पन्न भएको देखाएको बताए । यद्यपि, अधिकारीहरूले समस्याको वास्तविक कारण भने पत्ता लगाउन सकेका छैनन् । संघीय उड्डयन प्रशासनले अर्को सूचना जारी नभएसम्म उडान रोक कायम रहने जनाएको छ । समस्या कहिलेसम्म समाधान हुन्छ र नियमित उडान कहिले सुरु हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन । अमेरिकी अधिकारीहरूले सञ्चार प्रणालीमा देखिएको समस्याको सम्बन्ध नयाँ कृत्रिम बौद्धिकता प्रणालीसँग छ कि छैन भन्नेबारे पनि अनुसन्धान गरिरहेका छन् । नयाँ प्रणालीले हवाई यातायात नियन्त्रणमा सम्भावित समस्या पहिचान गर्ने र विमानको मार्ग परिवर्तन गर्न सुझाव दिने काम गर्छ । अमेरिकी सरकारले पुरानो हवाई यातायात नियन्त्रण प्रविधिलाई आधुनिक बनाउने परियोजना पनि अघि बढाइरहेको छ । यसअन्तर्गत पुराना तार विस्थापन गरी अप्टिकल फाइबर जडान गर्ने र रेडियो प्रणाली परिवर्तन गर्ने काम भइरहेको छ । यस परियोजनाका लागि गत वर्ष १२ अर्ब ५० करोड अमेरिकी डलर बजेट स्वीकृत गरिएको थियो । उडान रोक्ने आदेश जारी भएको केही समयपछि हवाई यातायात नियन्त्रणसम्बन्धी सूचना सार्वजनिक गर्ने संघीय उड्डयन प्रशासनको वेबसाइटमा समेत समस्या देखिएको थियो । अमेरिकामा यसअघि सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणपछि देशभरका विमानलाई जमिनमा अवतरण गराउने आदेश दिइएको थियो । त्यसपछि सन् २०२३ जनवरी ११ मा संघीय उड्डयन प्रशासनको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा पनि देशभरका उडान प्रभावित भएका थिए । त्यसबेला पाइलटलाई उडान सुरक्षासम्बन्धी सूचना दिने प्रणाली बन्द हुँदा करिब ९० मिनेटसम्म उडान प्रभावित भएका थिए । गत सेप्टेम्बरमा पनि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा सञ्चार प्रणालीमा समस्या आउँदा सयौँ उडान प्रभावित भएका थिए । तर त्यसबेला समस्या देशभर फैलिएको थिएन । The post अमेरिकाभर हवाई उडान रोकिँदा ७ हजार उडान प्रभावित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
अमेरिकाभर हवाई उडान रोकिँदा ७ हजार उडान प्रभावित

Read Complete Original Article
Published originally on कर्पोरट खबर






