Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अब मैदानमा देखिने छैन त्यो जादु…

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब मैदानमा देखिने छैन त्यो जादु…
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । फुटबलको इतिहासमा केही नाम यस्ता छन्, जसलाई सम्झन कुनै तथ्यांक, उपाधि वा कीर्तिमान आवश्यक पर्दैन । उनीहरूको खेल्ने शैली, मैदानमा देखाएको जादु र समर्थकको मनमा बनाएको स्थान नै उनीहरूको परिचय हो । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी त्यस्तै दुई नाम हुन् । दुई दशकभन्दा लामो समयसम्म विश्व फुटबललाई आफ्नो वरिपरि घुमाउन सफल यी दुई महान् खेलाडीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लागेसँगै फुटबलको एउटा अविस्मरणीय युगको अन्त्य भएको छ । प्रकृतिले फुटबललाई दिएका दुई दुर्लभ हिरा मेसी र रोनाल्डोले खेललाई केवल मनोरञ्जनमा सीमित राखेनन् । उनीहरूले फुटबललाई नयाँ उचाइ दिए, नयाँ मापदण्ड स्थापित गरे र विश्वभरका करोडौँ समर्थकका लागि खेललाई भावनासँग जोडिदिए । एकातिर मेसीको अद्भूत ड्रिब्लिङ, पास र गोल गर्ने कला थियो भने अर्कोतिर रोनाल्डोको असाधारण शारीरिक क्षमता, इच्छाशक्ति, आकाश छुने हेडर र गोलप्रतिको भोक थियो । करिब २० वर्षसम्म विश्व फुटबलको बहस यी दुई खेलाडीका वरिपरि घुमिरह्यो । कसले बढी गोल गर्‍यो, कसले धेरै उपाधि जित्यो, कसको प्रदर्शन उत्कृष्ट रह्यो र कसले कुन कीर्तिमान तोड्यो भन्ने बहसले फुटबल समर्थकलाई सधैँ उत्साहित बनाइरह्यो । अब भने अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूको त्यो प्रत्यक्ष प्रतिस्पर्धा देख्न पाइने छैन । ४१ वर्षका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गर्नुभयो । उहाँले जारी गरेको सन्देशमा पोर्चुगलको राष्ट्रिय टोलीसँगको आफ्नो २३ वर्ष लामो यात्रालाई गर्वका साथ टुंग्याउने बताउनुभएको छ । उहाँले नोभेम्बरको अन्तर्राष्ट्रिय विश्रामपछि पोर्चुगलको राष्ट्रिय टोलीको सात नम्बर जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने संकेत गर्नुभएको छ । सात नम्बरको जर्सी रोनाल्डोको पहिचानकै एउटा हिस्सा बनिसकेको छ । क्लब फुटबलदेखि राष्ट्रिय टोलीसम्म उहाँले यही जर्सीलाई आफ्नो खेल जीवनको विशेष प्रतीक बनाउनुभएको थियो । रोनाल्डोले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘राष्ट्रिय टोलीसँग मैदानमा बिताएको मेरो यात्रा अब समाप्त हुँदैछ । म गर्वका साथ बिदा हुँदैछु । मैले पोर्चुगलका लागि आफ्नो सबै कुरा दिएको छु ।’ रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल यात्रा सन् २००३ अगस्ट २० मा कजाकिस्तानविरुद्धको खेलबाट सुरु भएको थियो । त्यतिबेला उहाँ केवल १८ वर्षको हुनुहुन्थ्यो । युवा उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउनुभएका रोनाल्डोले त्यसपछि लगातार आफ्नो प्रतिभा प्रमाणित गर्दै जानुभयो । सुरुमा युवा खेलाडीका रूपमा राष्ट्रिय टोलीमा प्रवेश गर्नुभएका उहाँ केही वर्षमै टोलीका प्रमुख खेलाडी बन्नुभयो । पछि कप्तानको जिम्मेवारीसमेत पाउनुभयो । मैदानमा उहाँको नेतृत्व, गोल गर्ने क्षमता र निर्णायक समयमा प्रदर्शन गर्ने बानीले पोर्चुगललाई नयाँ पहिचान दिलायो । २३ वर्षको अन्तर्राष्ट्रिय यात्रामा उहाँले पोर्चुगलका लागि २३४ खेल खेल्नुभयो । यसक्रममा उहाँले १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्नुभयो । उहाँको नाममा ४६ असिस्टसमेत दर्ज छन् । विश्वकप फुटबल रोनाल्डोको करियरको सबैभन्दा ठूलो व्यक्तिगत लक्ष्य र अधुरो सपना दुवै रह्यो । उहाँले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपबाट आफ्नो विश्वकप यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि दक्षिण अफ्रिकामा सन् २०१०, ब्राजिलमा सन् २०१४, रुसमा सन् २०१८, कतारमा सन् २०२२ र सन् २०२६ को विश्वकपमा पनि पोर्चुगलको प्रतिनिधित्व गर्नुभयो । उहाँले लगातार ६ वटा विश्वकप खेल्ने दुर्लभ उपलब्धि हासिल गर्नुभयो । त्यतिमात्र होइन, उहाँ ६ फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष खेलाडी पनि बन्नुभयो । विश्वकपका ती प्रतियोगितामा उहाँले कुल २७ खेल खेल्दै ११ गोल गर्नुभएको थियो । तर, व्यक्तिगत कीर्तिमान र सफलताका बाबजुद रोनाल्डोको एउटा ठूलो सपना भने अधुरै रह्यो । उहाँले आफ्नो करियरमा पोर्चुगललाई विश्वकपको उपाधि जिताउन सक्नुभएन । रोनाल्डोको सबैभन्दा चर्चित गोलमध्ये एउटा सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टसविरुद्ध गरेको बाइसिकल किक हो । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा उहाँले हावामा पछाडितर्फ फर्किएर गरेको प्रहार सिधै गोलपोस्टभित्र पुगेको थियो । म्यानचेस्टर युनाइटेडबाट खेल्दा रोनाल्डोले पोर्टोविरुद्ध च्याम्पियन्स लिगको क्वाटरफाइनलमा करिब ४० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै गोल गर्नुभएको थियो । रोनाल्डोको अर्को विशेषता उहाँको फ्रिकिक प्रहार थियो । ३० यार्डभन्दा बढी दूरीबाट उहाँले हानेको नकल बल फ्रिकिकले विपक्षी गोलरक्षकलाई निकै कठिन अवस्थामा पुर्‍याउँथ्यो । सन् २०१८ को रुस विश्वकपमा पोर्चुगल र स्पेनबीच भएको समूह चरणको खेल रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा सम्झनलायक खेलमध्ये एक हो । सन् २०१९ मा युभेन्टसबाट खेल्दा रोनाल्डोले सिरी एमा स्याम्पडोरियाविरुद्ध गरेको हेडर पनि निकै चर्चित रह्यो । उहाँले करिब २.५६ मिटरको उचाइसम्म पुगेर हेडरमार्फत् गोल गर्नुभएको थियो । असाधारण उफ्राइ र हावामा लामो समय टिकेजस्तो देखिने उहाँको क्षमताका कारण उक्त गोललाई ‘सुपरम्यान हेडर’ नाम दिइएको थियो । रोनाल्डोको अन्तर्राष्ट्रिय करियरमा सबैभन्दा महत्त्वपूर्ण उपलब्धि सन् २०१६ को युरोकप उपाधि हो । पोर्चुगलले लामो समयदेखि प्रतीक्षा गरेको युरोपियन च्याम्पियन बन्ने सपना रोनाल्डोको कप्तानीमा पूरा भएको थियो । फ्रान्समा आयोजित युरोकपको फाइनलमा पोर्चुगलले आयोजक फ्रान्सलाई १-० ले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो । रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको घोषणाअघि पोर्चुगिज राष्ट्रिय टोलीभित्र प्रशिक्षकसँगको मतभेदको चर्चा पनि सार्वजनिक भएको थियो । सेप्टेम्बरमा उहाँ टोलीको प्रशिक्षण शिविर छाडेर बाहिरिएको खबर आएको थियो । प्रशिक्षक जर्ज जेसुससँग खेल समय र टोलीमा आफ्नो भूमिकालाई लिएर मतभेद भएको बताइएको थियो । रोनाल्डोले नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा उतार्ने विश्वास दिलाइएको तर अन्ततः पूरै खेल बेन्चमा बस्नुपरेको गुनासो गरेको विवरण सार्वजनिक भएको थियो । त्यसपछि डेनमार्कविरुद्धको खेलमा पनि प्रारम्भिक टोलीमा स्थान नपाउने जानकारी दिइएको विषयले विवादलाई थप चर्काएको थियो । अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्न्यास लिनुभएको छैन । उहाँ साउदी अरेबियाको क्लब अल नासरबाट खेलिरहनुभएको छ र क्लब फुटबलमा आफ्नो यात्रा जारी राख्नुहुनेछ । उहाँले यसअघि सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताउनुभएको थियो । अब राष्ट्रिय टोलीको यात्रासमेत टुंग्याउने निर्णयसँगै पोर्चुगलको जर्सीमा उहाँलाई देख्न पाइने छैन । तर, क्लब फुटबलमा उहाँको प्रदर्शन र गोल गर्ने भोक कति समयसम्म कायम रहन्छ भन्ने चासो समर्थकमा रहनेछ । ४१ वर्षको उमेरमा पनि व्यावसायिक फुटबल खेलिरहनु उहाँको अनुशासन र शारीरिक तयारीको अर्को उदाहरण हो । रोनाल्डोको सन्न्यासलाई केवल एक खेलाडीको बिदाइका रूपमा मात्रै हेर्न मिल्दैन । यो विश्व फुटबलको एउटा लामो समयदेखि चलिरहेको युगको अन्तिम अध्याय हो । मेसी र रोनाल्डोले आफ्नो करियरमा फरक शैलीबाट विश्व फुटबललाई प्रभावित गरे । मेसीले आफ्नो असाधारण खेल दृष्टि, बल नियन्त्रण, ड्रिब्लिङ र सटिक पासमार्फत् समर्थकलाई मन्त्रमुग्ध बनाउनुभयो । रोनाल्डोले भने गति, शक्ति, हेडिङ, लामो दूरीको प्रहार र गोल गर्ने अदम्य इच्छाशक्तिबाट आफ्नो छुट्टै पहिचान बनाउनुभयो । एक महिनाको अन्तरालमा दुवै खेलाडीको अन्तर्राष्ट्रिय यात्राले बिदाइको मोड लिएको खबरले समर्थकलाई भावुक बनाएको छ । अगस्टमा सन्न्यासको घोषणा गर्नुभएका मेसीले अक्टोबर ६ मा अर्जेन्टिनाका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । अब अन्तर्राष्ट्रिय फुटबलमा न त मेसीको जादुई ड्रिब्लिङ देख्न पाइनेछ, न त रोनाल्डोको असाधारण हेडर र निर्णायक गोल । यी दुई खेलाडीलाई लिएर समर्थकबीच हुने बहस पनि अब इतिहासका सम्झनामा सीमित हुँदै जानेछ । अब फुटबलमा नयाँ नायक जन्मिनेछन्, नयाँ कीर्तिमान बन्नेछन् र नयाँ पुस्ताले रंगशाला भरिनेछन् । तर, मेसी र रोनाल्डोको युगमा हुर्किएको पुस्ताका लागि उनीहरूको खेल हेर्न बिताएका ती रात, अन्तिम मिनेटका गोल, असम्भव लाग्ने हेडर र एकअर्कासँगको प्रतिस्पर्धा सधैँ विशेष रहनेछ । फुटबल चलिरहनेछ, तर मेसी र रोनाल्डोको त्यो जादु अब अन्तर्राष्ट्रिय मैदानमा दोहोरिने छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाठो र मानवमैत्री चरा काग
Latest NewsJust now

बाठो र मानवमैत्री चरा काग

काठमाडौँ, कात्तिक २१ गते । पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएका थिए ।... ...

गोरखापत्र
पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे
Latest NewsJust now

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्।  ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।  प्रशिक्षक जर्ज जेससका अनुसार उन... ...

नेपालखबर
परम्परागत पारपाचुकेको संस्कृति र दर्शन
Latest NewsJust now

परम्परागत पारपाचुकेको संस्कृति र दर्शन

काठमाडौं उपत्यका नेपालमण्डल जीवन्त संस्कृतिको धनी शहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन । नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । यही नेवारी संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति बनेको छ भने विश्वमा नै नेपालको परिचयमा यसले भूमिका खेलेको छ । कतिपय नेवारी संस्कृति, कलाकृति र धार्मिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा ...

हिमालय टाइम्स
पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन
Latest NewsJust now

पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन

नियात्राकार हरिप्रसाद उप्रेती कानुन व्यवसायका क्षेत्रका एक अब्बल एवं अध्ययनशील, विज्ञ व्यावसायी हुन् । कानुन व्यवसायको क्षेत्रमा उनको विषय-विज्ञता सम्पूर्ण न्यायिक क्षेत्रका लागि नै विश्वासिलो एवं विशिष्ट रहेको महसुस हुन्छ । हरिप्रसाद उप्रेतीले नियात्रा विधाका दुइटा कृति प्रकाशित गरेका छन् । पहिलो नियात्रा कृति २०८० सालमा ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा प्रकाशित भएको छ । त्यस कृतिले उप्रेतीको नियात्रा विधामा उनको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play