काठमाडौं । चलचित्र ‘आशा’को प्रदर्शन मिति सरेको छ । महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको माघ १ गते प्रदर्शन गर्ने तयारी गरिएको यो चलचित्र अब आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने भएको हो । सोमबार फिल्मको फर्ष्टलुक पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । रोयल भीमसेनले तयार पारेको पोष्टरमा महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिनुभएको छ । पोष्टरमा महेश किरियापुत्रीको भूमिकामा हुनुहुन्छ भने अञ्जना घरको ढोकाबाट उनलाई हेरिरहेको अवस्थामा प्रस्तुत हुनुभएको छ । पृष्ठभूमिमा शुशांक मैनालीको तस्वीरमा माला लगाइएको दृश्य छ । आशान्त शर्मा भने पण्डितको गेटअपमा गरुड पुराण सुनाइरहेको देखिनुहुन्छ । पोष्टरले चलचित्र पारिवारिक वियोग र त्यसले परिवारमा पार्ने भावनात्मक प्रभावको कथामा आधारित रहेको संकेत गर्छ । राजीव गुरुङको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा शुशांक मैनाली, सुशील सिटौला, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय छ । बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी पनि चलचित्रमा देखिनेछन् । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको चलचित्रकी निर्मात्री शर्मिला थापा हुनुहुन्छ भने वितरण अधिकार रिच इन्टरटेन्मेन्टले लिएको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र एसडी योगीको संगीत, किशोर आचार्यको ध्वनि संयोजन तथा लोकेश बज्राचार्यको सम्पादन छ । स्क्रिप्ट सुपरभाइजर तथा काष्टिङ निर्देशकको जिम्मेवारी सुदाम सीकेले सम्हाल्नुभएको छ ।
अब फागुन १४ मा ‘आशा’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






