काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो । अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र पेस गरी २०५६ जेठ ५ गते विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । उनले विभागका माथिल्ला विभिन्न पदमा बढुवा हुनसमेत सोही प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ । उक्त प्रमाणपत्रकै आधारमा बढुवा हुँदै उनी हाल प्रमुख अनुसन्धान अधिकृत पदमा कार्यरत रहेकोमा नियुक्तिका बेला पेस गरिएको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी बढुवासमेत लिएको र त्यसबाट पद, ओहदा तथा सेवासुविधा प्राप्त गरेको ठहर गर्दै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम सजायको मागदाबी गरेको छ ।
अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





