काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथमा सोमबार आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशेष आतिथ्य रहेको थियो । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव समारोह आयोजना गरेको हो । बैंक सञ्चालक समितिका सदस्य बद्री खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए । वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री वाग्लेले बैंकका तीन नयाँ डिजिटल सेवा शुभारम्भ गरेका छन् । उनले डिजिटल कर्जा सेवा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) क्रेडिट कार्ड तथा अनलाइन लोन एप्लिकेसन पोर्टल सार्वजनिक गरेका हुन् । सो अवसरमा अर्थमन्त्री वाग्लेले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्न बैंकलाई आग्रह गरे । उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्न निर्देशन दिए । त्यस्तै, डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिन, डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिन उनले सुझाव दिए । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न पनि बैंकले थप पहल गर्नुपर्ने उनको भनाइ थियो । बैंकका अनुसार हाल देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकका करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन् । प्रविधिमैत्री बैंकिङ सेवाको विस्तारसँगै छिटोछरितो, गुणस्तरीय र प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको बैंकले युवा तथा दक्ष जनशक्तिमार्फत सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लक्ष्य राखेको जनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकमा २५ वर्ष निरन्तर सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको थियो । प्राकृतिक विपत्तिका प्रतिकूल अवस्थामा समेत बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो । यसैगरी, स्याफ्रुबेंसी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा कठिन परिस्थितिमा समेत बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रमको समापन गर्दै अध्यक्ष बद्री खनालले कर्मचारीलाई आगामी दिनमा उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ कार्यक्षेत्रमा खटिन प्रेरित गरेका थिए ।
९०औँ वार्षिकोत्सवमा नेपाल बैंकले ल्यायो फोन लोन र बीएनपीएल क्रेडिट कार्ड

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






