काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा सकिएपछि उत्पन्न विवाद समाधानका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्का छलफलमा जुटेका छन् । शनिबार मन्त्री रावल र सीडीओ खड्का होल्डिङ सेन्टरमै पुगेर त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीसँग छलफल गरिरहेका छन् । छलफल सुरु भएको र अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएको त्यहाँ आश्रित सुकुम्बासी सुमन चौधरीले जानकारी दिएका छन् । बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले गत बुधबार सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेसम्मको समय दिएको थियो । बिहीबार प्रशासनले माइकिङ गर्दै पनि सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर वैकल्पिक बसोबासको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै सुकुम्बासीले विरोध गर्दै आएका छन् । शुक्रबार बिहानदेखि होल्डिङ सेन्टरमा आश्रित परिवारलाई खाना र खानेपानीसमेत उपलब्ध गराउन बन्द गरिएको थियो । यसअघि शान्ति सेवा गृह नामक संस्थाले उनीहरूलाई बिहान–बेलुका खाना खुवाउँदै आएको थियो । खाना नपाएपछि सुकुम्बासीले खाली थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए । शनिबार बिहान खाना लिएर पुगेका जेनजी अभियन्ता रक्षा बम, माजिद अन्सारीसहितको टोलीलाई प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरूले सडकबाहिरै सुकुम्बासी परिवारलाई खाना खुवाएका थिए । प्रशासनले भौतिक बल प्रयोग गरेर नहटाउने तर सेन्टर खाली नभएसम्म आवश्यक सेवा सुविधा कटौती गर्ने बताएको थियो । बोडे होल्डिङ सेन्टरमा थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जना आश्रय लिइरहेका छन् । सुकुम्बासी परिवारले वैकल्पिक आवासको व्यवस्था, जग्गासहितको स्थायी पुनर्स्थापना, भत्काइएका घरटहराको क्षतिपूर्ति र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न माग गर्दै आएका छन् । प्रशासनले भने केही परिवारसँग अन्यत्र जग्गा रहेको र केहीलाई गृहजिल्लाका स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताउँदै आएको छ ।
होल्डिङ सेन्टरमा सुकुम्बासीको आक्रोशपछि मन्त्री र सीडीओ छलफलमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


.jpg)



