काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ । कम सञ्चालन खर्च, पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने सुविधा र वातावरणमैत्री प्रविधिका कारण निजी तथा सार्वजनिक दुवै क्षेत्रमा इभीप्रतिको आकर्षण बढेको हो । तर, इभीको प्रयोगसँगै सडक दुर्घटना र सवारीमा आगलागीका घटनाले चिन्ता पनि थपिरहेका छन् । पछिल्लो समय भएका केही गम्भीर दुर्घटनाले इभीको सुरक्षा, चालकको दक्षता, सवारीको प्राविधिक अवस्था र नेपालको सडक पूर्वाधारबारे प्रश्न उठाएका छन् । कतै यात्रुवाहक इभी माइक्रो सडकबाट खसेर यात्रुको ज्यान गएको छ भने कतै गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा चालकले ज्यान गुमाएका छन् । घटना-१गत कात्तिक अन्तिमतिर मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको इभी माइक्रोबस दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्यायो । काठमाडौंबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस सडकबाट तल खसेर दुर्घटनाग्रस्त भयो । दुर्घटनामा १४ जनाको मृत्यु भयो । दुर्घटनामा एकै परिवारका ६ जनाले ज्यान गुमाएका थिए । घटना-२यही मंसिर पहिलो साता मकवानपुरकै भीमफेदी गाउँपालिका-१ भैँसेस्थित हेटौँडा-भैँसे सडकखण्डमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो भने सातजना घाइते भए । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए । घटना-३गत भदौ अन्तिम साता चितवनको भरतपुर महानगरपालिका-९ गोन्द्राङनजिक वसन्त चोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भयो । हेटौँडाबाट टाँडी हुँदै भरतपुरस्थित घर फर्किरहेका ५६ वर्षीय अमर पराजुलीले उक्त घटनामा ज्यान गुमाए । बा प्र ०१-०३० च ५५७९ नम्बरको जिएसी आयोन वाई प्लस विद्युतीय कारमा बिहान करिब ६ बजे आगलागी भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सुरुमा कारको पछाडिको भागमा आगो लागेको थियो । त्यसपछि गाडी सडकको मुख्य लेन पार गर्दै सर्भिस लेनमा पुग्यो र एउटा खोल्सोमा कोल्टे परेर अडियो । त्यतिबेलासम्म आगो अगाडिको भागसम्म फैलिइसकेको थियो । आगो नियन्त्रणमा लिँदासम्म चालकको मृत्यु भइसकेको थियो । घटना-४गत साउन पहिलो साता काठमाडौंको चोभारमा गुडिरहेको निजी कारमा अचानक आगलागी हुँदा चालकसहित गाडीभित्र रहेका यात्रु आगलागीमा परेका थिए । बा ५ च ३०३८ नम्बरको निजी कारमा आगलागी भएको थियो । प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिक प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिन सफल भए पनि चालक गाडीभित्रै जलेको अवस्थामा फेला परेका थिए । गाडीको ढोका खुल्न नसकेको र भित्र धुवाँ भरिएका कारण त्यसबेला यात्रुको संख्या यकिन हुन सकेको थिएन । इभीमा किन आगलागी हुन्छ ?विज्ञहरूका अनुसार विद्युतीय गाडीमा आगलागी हुनुका कारणलाई मुख्यतः दुई भागमा हेर्न सकिन्छ । पहिलो, ब्याट्रीभित्र हुने आन्तरिक खराबी र दोस्रो, गाडीको अन्य विद्युतीय प्रणाली वा बाह्य कारणबाट हुने आगलागी । अधिकांश विद्युतीय गाडीमा लिथियम-आयन ब्याट्री प्रयोग हुन्छ । उत्पादनका क्रममा भएको सूक्ष्म त्रुटि, ब्याट्रीको आन्तरिक खराबी वा अनुचित चार्जिङका कारण पनि आगलागी हुनसक्छ । ब्याट्रीको तापक्रम असामान्य रूपमा बढ्दै गएपछि त्यसमा रासायनिक प्रतिक्रिया सुरु हुनसक्छ । एउटा सेलमा सुरु भएको तापक्रम वृद्धि अर्को सेलमा फैलिँदै जान्छ । थर्मल रनअवे सुरु भएपछि ब्याट्रीभित्रको तापक्रम तीव्र गतिमा बढ्दा त्यसले आगलागी र विस्फोट जस्ता जोखिम निम्त्याउन सक्छ । तर, ब्याट्री नै आगलागीको एक मात्र स्रोत होइन । गाडीको तार, १२ भोल्टको विद्युतीय प्रणाली, चार्जिङ पोर्ट, अन्य विद्युतीय उपकरण र बाह्य प्रज्वलन स्रोतबाट पनि आगो लाग्नसक्छ । अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड र नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले पनि क्षतिग्रस्त इभीको ब्याट्रीमा उच्च भोल्टेज, विषालु ग्यास र पुनः आगलागीको जोखिम रहने चेतावनी दिएका छन् । त्यसैले इभीमा आगलागी हुँदा तालिमप्राप्त जनशक्ति, उपयुक्त सुरक्षात्मक उपकरण, पर्याप्त पानी, तापक्रम निगरानी गर्ने थर्मल इमेजिङ क्यामेरा र विशेष उद्धार प्रक्रियाको आवश्यकता पर्छ । दुर्घटना किन बढिरहेका छन् ?इभी दुर्घटनाको चर्चा बढ्दै गए पनि दुर्घटनाको संख्या मात्र हेरेर इभीलाई अन्य सवारीभन्दा बढी असुरक्षित भन्न मिल्दैन । त्यसका लागि सडकमा गुडिरहेका कुल इभीको संख्या, तिनले तय गरेको दूरी, दुर्घटनाको प्रकृति र क्षतिको अनुपात तुलना गर्नुपर्छ । मेकानिकल इञ्जिनियरहरूका अनुसार इभीमा प्रयोग हुने मोटरले तत्कालै उच्च टर्क उत्पादन गर्छ । त्यसैले एक्सिलेटर थिच्नेबित्तिकै गाडीले तीव्र गति लिनसक्छ । परम्परागत पेट्रोल वा डिजेल गाडीमा इञ्जिनको गति क्रमशः बढ्दै गियरबक्समार्फत पांग्रासम्म शक्ति पुग्छ । तर, इभीमा मोटरले तुरुन्तै शक्ति उपलब्ध गराउने भएकाले चालकले एक्सिलेटरमा दिएको दबाबअनुसार गाडीले तत्काल प्रतिक्रिया दिन्छ । एक्सिलेटरमा बढी दबाब पर्दा गाडी अपेक्षाभन्दा तीव्र गतिमा अघि बढ्न सक्छ । चालकले त्यसलाई समयमै नियन्त्रण गर्न नसके दुर्घटना हुनसक्छ । नेपालको भौगोलिक बनावट इभी सञ्चालनका लागि चुनौती र अवसर दुवै हो । इभीले थोरै गतिमा पनि उच्च टर्क दिने भएकाले उकालो सडकमा राम्रो प्रदर्शन गर्नसक्छ । ओरालोमा रिजेनेरेटिभ ब्रेकिङ प्रणालीमार्फत केही ऊर्जा पुनः ब्याट्रीमा सञ्चित गर्न पनि सकिन्छ । तर, पहाडी सडकका साँघुरा घुम्ती, तीव्र ओरालो, कच्ची सडक, खाल्डाखुल्डी र कमजोर सडक संरचनाले जोखिम बढाउन सक्छन् । इभी दुर्घटनाका घटनापछि सवारी उत्पादक र आयातकर्ताको उत्पादन गुणस्तरमाथि पनि प्रश्न उठ्ने गरेको छ । तर, प्रत्येक दुर्घटनाको प्राविधिक परीक्षण नगरी उत्पादनकै कमजोरी हो वा चालकको लापरबाही भन्ने निष्कर्ष निकाल्न सकिँदैन । जोखिम न्यूनीकरणका लागि अब के गर्ने ?इभी दुर्घटना र आगलागीको जोखिम घटाउन सरकार, उत्पादक, आयातकर्ता, चालक र उपभोक्ता सबैको भूमिका महत्त्वपूर्ण हुन्छ । आयातअघि गुणस्तर परीक्षण । नेपाल भित्रिने इभीको ब्याट्री सुरक्षा, ब्रेकिङ प्रणाली, विद्युतीय वायरिङ, थर्मल म्यानेजमेन्ट र अण्डरबडी प्रोटेक्सनको प्रभावकारी परीक्षण गर्नुपर्छ । नेपालको भूगोल र सडकअनुसार सवारीको उपयुक्तता पनि जाँच्नुपर्छ । चालकलाई अनिवार्य प्रशिक्षण दिनुपर्छ । इभी चलाउनुअघि चालकलाई यसको एक्सिलेटर प्रतिक्रिया, ब्रेकिङ प्रणाली, रिजेनेरेटिभ ब्रेकिङ र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे व्यावहारिक प्रशिक्षण दिनुपर्छ । सार्वजनिक यातायातका चालकका लागि यस्तो प्रशिक्षण झनै आवश्यक छ । यस्तै, ब्याट्री, ब्रेक, टायर, सस्पेन्सन र विद्युतीय प्रणालीको नियमित परीक्षण गर्नुपर्छ । दुर्घटना वा खाल्डाखुल्डीमा गाडीको तल्लो भाग ठोक्किएको अवस्थामा प्राविधिक जाँच नगरी गाडी चार्ज गर्नु हुँदैन । इभीले नेपालको यातायात क्षेत्रमा नयाँ सम्भावना खोलेको छ । पेट्रोलियम पदार्थको आयात घटाउने, सञ्चालन खर्च कम गर्ने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने यसको सम्भावना महत्त्वपूर्ण छ । तर, नयाँ प्रविधिको विस्तारसँगै त्यसको सुरक्षाका लागि आवश्यक पूर्वाधार, मापदण्ड र जनशक्ति तयार पार्नु पनि उत्तिकै आवश्यक हुन्छ । यद्यपि, दुर्घटनाका केही घटनालाई आधार बनाएर सबै इभीलाई असुरक्षित भन्नु वैज्ञानिक हुँदैन । सरकारले विद्युतीय सवारीसाधनको आयात, बिक्री र सञ्चालनसम्बन्धी सुरक्षा मापदण्ड पुनरावलोकन गर्नुपर्ने आवाज उठेको छ ।
सडकमा इभीको अनियन्त्रित रफ्तार

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






