किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्। पछिल्ला आक्रमणमा किएभनजिकै छ जना र जापोरिजियामा एक जनाको मृत्यु भएपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो। आइतबार टेलिग्राममा एक पोस्ट लेख्दै जेलेन्स्कीले गत साता रुसले करिब २ हजार ७ सय आक्रमणकारी ड्रोन, १ हजार ४ सय ६० निर्देशित हवाई बम र १ सय ६५ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिए। तीमध्ये अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्र रहेको र तिनमा उत्तर कोरियाले उपलब्ध गराएका क्षेप्यास्त्रसमेत समावेश रहेको उनले उल्लेख गरेका छन्। ‘यस्तो विषम परिस्थितिमा युक्रेनलाई ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरोधी प्रणाली उपलब्ध गराउन भइरहेको ढिलाइ बुझ्न झन् कठिन भएको छ,’ जेलेन्स्कीले भने। ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सक्ने अमेरिकी निर्मित प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रको युक्रेनमा अभाव देखिएको छ। किएभका लागि अमेरिकी हतियार खरिद गर्न नेटोको समन्वयमा सञ्चालित कार्यक्रममार्फत युक्रेनका साझेदार राष्ट्रहरूले ती क्षेप्यास्त्रको रकम पहिले नै तिरिसकेको जेलेन्स्कीले बताए। यद्यपि वासिङ्टनको अन्तिम स्वीकृति नपाउँदा ती क्षेप्यास्त्रको आपूर्ति अझै रोकिएको छ। पछिल्लो आक्रमणअन्तर्गत आइतबार बिहान किएभको उत्तरमा पर्ने डाइमर गाउँको पाँचतले आवासीय भवनमा प्रहार हुँदा भवनको एक भाग भत्किएको छ। रेडियो लिबर्टीलाई उद्धृत गर्दै रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएअनुसार उद्धारकर्मीहरूले भग्नावशेषबाट तीन जनाको शव निकालेका छन् भने दुई बालबालिकासहित १० जना बेपत्ताको खोजी जारी राखेका छन्। यस्तै आइतबार नै किएभको दक्षिणपश्चिममा पर्ने भिस्नेभे सहरको एक किराना पसलमा रुसी ड्रोन खस्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। गभर्नर तिमुर त्काचेन्कोले टेलिग्राममार्फत यसबारे जानकारी दिएका हुन्। किएभ क्षेत्रकै बिला त्सेर्कभा सहरमा भएको अर्को आक्रमणबाट एक निजी घरमा आगलागी हुँदा थप एक जनाको ज्यान गएको उनले बताए। सामाजिक सञ्जाल एक्समा लेख्दै त्काचेन्कोले ‘विश्वले अब आँखा चिम्लन बन्द गर्नुपर्छ, यो आतङ्कको निन्दा गर्दै रुसलाई जवाफदेही बनाउनुपर्छ र निर्दोष युक्रेनीहरूको हत्या रोक्न तत्काल कदम चाल्नुपर्छ’ भन्ने आग्रह गरेका छन्। उता जापोरिजिया क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख मिखाइलो सेमिकिनका अनुसार रातभर भएको रुसी गोलाबारीमा जापोरिजिया सहरमा एक पुरुषको मृत्यु भएको छ। यसैबीच रुसी रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा आफ्ना सेनाले रातभर युक्रेनको ब्ल्याक सी बन्दरगाह सहर ओडेसाको उत्तरपूर्वमा रहेको एक मालवाहक पानीजहाजमा प्रहार गरेको जनाएको छ। युक्रेनी हतियार उत्पादकहरूलाई विद्युत् आपूर्ति गर्ने जापोरिजियास्थित प्राभोबेरेज्ना विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरिएको मन्त्रालयको दाबी छ। साथै एक तेल प्रशोधन केन्द्र, विद्युत् सबस्टेसनहरू र एमकेएम टेलिकमद्वारा सञ्चालित डाटा सेन्टरमा समेत प्रहार गरिएको रुसले बताएको छ। युद्धभूमिको पछिल्लो विवरण दिँदै रुसी रक्षा मन्त्रालयले उत्तरपूर्वी खार्किभ क्षेत्रको सोस्नोभी बिर गाउँ कब्जामा लिएको र युक्रेनको नेप्च्युन तटीय क्षेप्यास्त्र प्रणालीको लन्चर नष्ट गरेको दाबी गरेको छ। युक्रेनी सेनालाई सहयोग पुर्याउने ऊर्जा तथा यातायात संरचनामा पनि आक्रमण गरिएको रुसको भनाइ छ। तर रुसी पक्षका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





