Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय सुरु गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णयहरू कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले काम अगाडि बढाइसकेको छ । संयुक्त दृष्टिकोणपत्रमा उल्लेख भएका विषयहरूलाई कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग पत्राचार र समन्वय सुरु भइसकेको छ । यसको प्रगतिबारे पनि समय–समयमा जानकारी गराउँदै जानेछौँ ।’ उहाँका अनुसार संयुक्त दृष्टिकोणपत्रमा समेटिएका विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले सम्बन्धित निकायहरूसँग पत्राचार तथा समन्वय गरिरहेको छ । सहमति र समझदारी कार्यान्वयनको प्रगतिको नियमित अनुगमनसमेत गरिने उहाँले बताउनुभयो । यसैगरी, साउदी अरबमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा परी घाइते भएका चार नेपालीमध्ये एक जनाको मृत्यु भएको छ । एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जना अझै उपचाररत रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । मृतकको शव नेपाल ल्याउन रियादस्थित नेपाली राजदूतावासले आवश्यक प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ, नेपाल–फिनल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको बैठक, नेपाल–चीन व्यापार तथा सीमा नाकाबाट सहज आवागमन, आर्थिक कूटनीति र क्षेत्रीय सहकार्यका विषयमा समेत जानकारी गराइएको थियो । नेपाल–चीन व्यापारका सम्बन्धमा रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन सहज बनाउने विषयमा चीन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘रसुवागढी नाका अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी–झाङ्मु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालनका लागि आवश्यक समन्वय भइरहेको छ । यसका लागि सम्बन्धित निकायहरू र मित्रराष्ट्र चीन सरकारसँग छलफल तथा समन्वयलाई अघि बढाइएको छ । यस विषयमा हुने प्रगतिबारे पनि मन्त्रालयले जानकारी गराउँदै जानेछ ।’ त्यस्तै, नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो । नेपाल–भारत सीमा समस्याको समाधानका लागि दुवै देशका स्थापित संयन्त्रमार्फत कूटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त भएको पनि उहाँले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पाैडेल क्षेत्रीद्वारा गरिएको सम्बोधन: मन्त्रालयको यस नियमित प्रेस ब्रिफिङमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको ब्रिफिङमा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको भारतको राजकीय भ्रमण पश्चात् भ्रमणका क्रममा भएका सहमति, समझदारी एवम् निर्णयहरूको कार्यान्वयनका लागि मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग सुरु गरिएको समन्वय, साउदी अरब लगायत विदेशमा रहेका नेपालीको हक, सुरक्षा र हित लगायत ७ वटा विभिन्न विषयहरू समावेश गरिएको छ। सदाझै यी विषयहरूको प्रस्तुति पछि छोटकरी विषय केन्द्रित प्रश्नोत्तर कार्यक्रम रहनेछ। १. सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण यहाँहरूलाई थाहै छ सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी 2083 मंसिर ७ गते नेपाल फर्कनु भएको छ। उक्त भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन Joint Vision Document, विभिन्न विषयहरूमा आपसी सहमति र समझदारी लगायत थुप्रै महत्वपूर्ण निर्णयहरू भएको यहाँहरूलाई अवगत नै छ। उक्त Joint Vision Document मा उल्लेख भएका विषयहरू लगायत अन्य महत्त्वपूर्ण सहमति/समझदारी/निर्णयहरू दुई देश र नागरिकहरूले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजानका लागि परराष्ट्र मन्त्रालयले आफ्नो कार्य अगाडि बढाइसकेको छ। तततत् मन्त्रालय र निकायहरूबाट सम्बन्धित MoU तथा सहमति कार्यान्वयनमा जाने र सोको समयसमयमा Follow up गर्ने कार्य मन्त्रालयबाट पूर्ववत् र निरन्तर रूपमा हुनेछ। सर्वसाधारण नागरिक सबैले बुझ्न सकिने गरी सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका उपलब्धि सम्बन्धी १२ वटा क्यारसोल ग्राफिक्स तयार गरी हाम्रो सामाजिक सञ्जालमार्फत पनि सेयर गरिसकेका छौं। यहाँहरूले ती ग्राफिक्सहरू पनि पढी सक्नुभएको होला। भ्रमण पश्चात् मन्त्रालयबाट सम्पादन र समन्वय हुने विषयहरू र तिनको प्रगतिका सम्बन्धमा हामीले यहाँहरूलाई अपडेट गराउने नै छौं। २. पश्चिम एसिया सम्बन्धी विषय विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको छ। साउदी अरेविया लगायत पश्चिम एसिया क्षेत्रमा विकास भएका पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको छ। कुनै पनि समस्याको समाधान शान्तिपूर्ण वार्ता र कूटनीतिक माध्यमबाट हुनुपर्ने र कुनै पनि बहानामा जीउ ज्यान र निजी सम्पत्ति एवम् सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने विषयलाई हामीले विशेष जोड दिन चाहन्छौं। साउदी अरबको King Abdullah Financial District अन्तर्गत रहेको Public Investment Fund Tower र जजान क्षेत्रमा भएका पछिल्ला दुई आक्रमणहरूमा परी घाइते हुनु भएका ४ जना नेपाली नागरिकहरूलाई रियादस्थित अस्पतालमा उपचारका लागि लगिएकोमा १ जनाको दुखद निधन भएको, १ जना स्वास्थ्य लाभ गरी अस्पतालबाट फर्कनुभएको छ। वाँकी दुई जना उपचाररत रहनु भएको छ। यस घट्नाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। शव नेपाल ल्याउने विषयमा नेपाली राजदूतावास, रियादबाट आवश्यक समन्वय सुरु भइरहेको पनि जानकारी गराउँदछौं। उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई स्थानीय सरकार र सम्बद्ध नेपाली राजदूतावासबाट जारी गरिएका सुरक्षा सम्बन्धी मार्गदर्शन, सूचना र जानकारीहरू पूर्ण पालना गर्न हामी विशेष अनुरोध गर्दछौं। कुनै समस्या परेमा सम्बन्धित निकाय र नजिकको नेपाली नियोगमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ। ३. नेपाल जापानबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाठ नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ यस वर्ष विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सात दशक लामो यस मैत्रीपूर्ण सहयात्रा आपसी सौहार्दता, पारस्परिक विश्वास एवम् द्विपक्षीय सहयोगमा आधारित रहँदै आएको छ। यस अवधिमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार, पर्यटन, शिक्षा तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य र आदानप्रदान थप विस्तार हुँदै गएको छ। नेपाल र जापानबीचको यो दीर्घकालीन, बहुआयामिक साझेदारी आगामी दिनमा थप सुदृढ हुने अपेक्षा रहेको छ। यो ७०औं वर्षगाँठको अवसरमा काठ्माडौ महानगरपालिका र काठमाडौँस्थित जापानी राजदूतावासले संयुक्त रूपमा मिति २०८३ मंसिर ६ गते काठामाडौँमा नेपाल-जापान महोत्सवमा आयोजना गरिएको थियो। उक्त महोत्सवमा सहभागी हुन जापानका विदेश मामिला सम्बन्धी संसदीय उपउपमन्त्री Mr FUJII Kazuhiro नेपालको दुई दिने भ्रमणमा आउनुभएको थियो। सो अवसरमा उहाँले २०८३ मंसिर ५ गते परराष्ट्रमन्त्री श्री शिशिर खनालसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो। उक्त अवसरमा नेपाल-जापान सम्बन्ध तथा सहयोगलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। ४. द्बिपक्षीय संयन्त्रहरूका बैठकहरू परराष्ट्र मन्त्रालयको पछिल्लो पत्रकार ब्रिफिङ् पश्चात् पनि केही द्बिपक्षीय संयन्त्रका बैठकहरू सम्पन्न भएका छन्। नेपाल-फिनल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक मिति 2083 मंसिर ३ गते फिनल्याण्डको हेलसिन्कीमा सम्पन्न भएको छ। बैठकमा नेपाल-फिनल्यान्ड सम्बन्धका समग्र पक्षहरू, विशेषगरी द्विपक्षीय सम्बन्ध, विकास सहयोग, व्यापार तथा लगानी लगायतका विषयमा समीक्षा गरियो। सो बैठकको सहअध्यक्षता नेपालको तर्फबाट सहसचिव गणेश प्रसाद ढकाल र फिनल्याण्डको तर्फबाट फिनल्याणडको परराष्ट्र मन्त्रालयको Asia and Oceania विभागका श्री Keijo Norvanto ले गर्नुभएको थियो। ५. नेपाल-चीन व्यापार र नाकाहरू सम्बन्धी २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् रसुवागढी नाका पूर्ण रूपमा अवरूद्ध भएको बेहोरा अवगत नै छ। नेपाल-चीन तातोपानी-झाङमु नाकाबाट ठूला मालवाहक ट्रक तथा कन्टेनरको लागि खुला गर्ने लगायत अन्य नाकाहरूबाट आवागमन सहज बनाउन र अन्य नाकाहरूबाट हुने आवागमनका सम्बन्धमा सम्बन्धित निकायहरू र मित्रराष्ट्र चीन सरकारसँग मन्त्रालयबाट आवश्यक समन्वय भइरहेको छ। नेपाल-चीन व्यापारसँग सम्बन्धित निजी क्षेत्रका व्यापारिक-व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मिति २०८३ मंसिर १० मा मन्त्रालयको सभाहलमा एक बैठकको आयोजना गरिएको थियो। यस विषयमा हामीले यहाँहरूलाई थप जानकारी गराउँदै जानेछौं। ६. आर्थिक कूटनीति मन्त्रालयले आर्थिक कूटनीतिका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको विषयमा यहाँहरु जानकारनै हुनुहुन्छ। यसका लागि सम्बद्ध निकाय र सरोकारवालाहरूसँगको समन्वयलाई मन्त्रालयले प्राथमिकताका साथ निरन्तरता दिइएको छ। यसै सिलसिलामा मिति 2083 मंसिर १ गते माननीय परराष्ट्र मन्त्रीज्यूको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा निर्यात व्यवसायी महासंघ नेपाल (FEEN) का पदाधिकारीहरूसँग एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा (FEEN) द्वारा महासंघ सम्बन्धी परिचयात्मक जानकारी एवं नेपालको निर्यातको वर्तमान अवस्था, निर्यातमा देखिएका संभावना तथा चुनौती सम्बन्धी विवरण समेटिएको एक प्रस्तुतीकरण पनि गरिएको थियो। यसैगरी, 2083 मंसिर २ गते माननीय परराष्ट्र मन्त्रीज्यूको उपस्थितिमा Nepal Association for Software and IT Services Companies (NAS-IT) का पदाधिकारीहरूसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा NAS-IT द्वारा संघ सम्बन्धि परिचयात्मक जानकारी एवं नेपालको Software तथा IT सेवाको अवस्था एवं निर्यात संभावना समेटिएको एक प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो। ७. क्षेत्रीय सहयोग संगठन सम्बन्धी क्षेत्रीय सहकार्य प्रवर्धन गर्ने उद्देश्यले नेपाल संलग्न रहेका SAARC, BIMSTEC, ACD, SACEP, BBIN, SAWEN तथा SCO लगायतका क्षेत्रीय तथा उप-क्षेत्रीय संघ/संगठन र तिनका संयन्त्रहरूमा नेपालको राष्ट्रिय हित प्रवर्धन हुने गरी, सम्बन्धित सबै पक्षसँग समन्वय गर्दै नेपालको नेतृत्वदायी भूमिका, प्रतिनिधित्व र सहकार्यलाई सुदृढ तथा प्रभावकारी बनाउने कार्य मन्त्रालयबाट हुँदै आएको छ। यसै सिलसिलामा कोलम्बोमा ११ नोभेम्बर २०२६ मा आयोजित बिमस्टेकको प्रथम स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री श्री निशा मेहताज्यूको नेतृत्वमा नेपाल सहभागी भएको, भारतको नयाँ दिल्लीमा २० देखि २२ नोभेम्बर २०२६ मा आयोजित प्रथम SCO Civilizational Dialogue Forum मा नेपालको तर्फबाट माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री खडक राज पौडेलज्यूको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको लगायतका विभिन्न बैठकहरू सम्पन्न भएका छन्। साथै, भारतको भुवनेश्वरस्थित कलिङ्गा स्टेडियममा २५ देखि २७ नोभेम्बर २०२६ सम्म पहिलो BIMSTEC U-23 Athletics Meet 2026 एथलेटिक्स प्रतियोगिता आयोजना भएको थियो। उक्त प्रतियोगितामा नेपालसहित ६ सदस्य राष्ट्रका २०० भन्दा बढी खेलाडीले महिला तथा पुरुषका विभिन्न ३२ विधामा प्रतिस्पर्धा गरेका थिए। पुरुष तर्फको पाँच हजार मि. दौडमा नेपालका मिङ्गमार सिंगी तामाङले रजत पदक जितेसंगै नेपालले उक्त प्रतियोगितामा चौथो स्थान हासिल गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक
Latest NewsJust now

१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक

• डा शशांक कोइरालाले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वलाई आधिकारिक कांग्रेसको रूपमा प्रस्तुत गरे। • उनले नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको आर्थिक र राजनीतिक आधारको महत्त्व उल्लेख गरे। • कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन र आफ्ना उपलब्धिहरूको प्रचार गर्न आवश्यक रहेको बताए। ...

नेपालबहस
मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’
Latest NewsJust now

मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’

काठमाडौँ । गायक प्रेम सेन नयाँ गीत ‘माईबेनी मेला’ लिएर आएका छन् । लोकशैलीको यो गीतमा प्रेम शब्द तथा संगीत छ भने गायनमा उनलाई मेलिना राईले साथ दिएकी छिन् । ... ...

रातोपाटी
चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग
Latest NewsJust now

चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग

ललितपुर । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये नौवटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने... ...

रातोपाटी
मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै
Latest NewsJust now

मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर, मङ्सिर ११ गते । महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement