चिनियाँ अटो जायन्ट बिवाईडीले आफ्ना केही नयाँ ‘फुल-साइज’ फ्ल्यागशिप स्पोर्ट युटिलिटी भेहिकलहरूमा आपूर्तिकर्ताको गल्तीका कारण गलत पाङ्ग्राहरू जडान हुन पुगेको भन्दै ग्राहकहरुसँग माफी मागेको छ। ‘द ग्रेट ट्याङ’ वा चीनमा ‘दा ट्याङ’ भनिने बिवाईडीको ‘डाइनेस्टी’ (Dynasty) सिरिज अन्तर्गतको पहिलो फ्ल्यागशिप ‘डी-सेगमेन्ट’ एसयूभी हो। यो उक्त शृङ्खलाकै सबैभन्दा ठूलो र विलासी एसयूभी हो। अप्रिल महिनामा बेइजिङ अटो शोमा प्रि-अर्डर खुला गरिएपछि, यो उच्च-स्तरीय एसयूभीले २४ घण्टाभित्रै ३०,००० भन्दा बढी प्रि-अर्डरहरू प्राप्त गरेको थियो। दुई हप्तापछि, प्रि-अर्डरको संख्या एक लाख नाघेको थियो। जुनको मध्यतिर यो गाडी बिक्रीका लागि उपलब्ध हुँदासम्म, १,५०,००० भन्दा बढी ग्राहकहरूले ‘द ग्रेट ट्याङ’ का लागि प्रि-अर्डर गरिसकेका थिए, जुन बिवाईडीको कुनै एक मोडलका लागि नयाँ कीर्तिमान थियो। बजारमा आएयता १०,००० भन्दा बढी बिक्री भइसकेको र लगातार दुई महिनासम्म सबैभन्दा बढी बिक्री हुने पूर्ण विद्युतीय ठूलो एसयूभी बन्न सफल भए पनि, बिवाईडीले नोभेम्बर ११ मा एक विज्ञप्ति जारी गर्दै ‘द ग्रेट ट्याङ’ का केही मोडलहरूमा अगाडि र पछाडि गलत ‘ह्विल रिम’ जडान हुन पुगेकोमा माफी मागेको हो। तर बिवाईडीले आफैंले जानेर माफि मागेको भने होईन्। धेरै मालिकहरूले आफ्ना सवारी साधनहरूमा पाङ्ग्राहरू अनुचित रूपमा जडान गरिएको गुनासो गरेपछि माफी मागिएको हो। बिवाईडीले यो समस्या ह्वील मेष एसेम्बली आपूर्तिकर्ताको कोडिङ त्रुटिबाट उत्पन्न भएको बताएको छ। यसको अनुसन्धानले यो समस्या ह्वील रिम सबएसेम्बली आपूर्तिकर्ता हुबेई बोयु इन्डस्ट्रियल कम्पनी लिमिटेडको कोड प्रविष्टि त्रुटिमा पत्ता लगाएको कम्पनीले बताएको छ, जसले गर्दा केही सवारी साधनहरूमा गलतरुपमा ह्वील राखिएको थियो। कम्पनीले आफूले “तत्काल” अनुसन्धान सुरु गरेको र समस्या सच्याएको बताएको छ, जसले गर्दा अब निर्माण हुने सवारी साधनहरूमा यसको असर पर्ने छैन। यसका साथै, भविष्यमा यस्ता समस्याहरू आउन नदिन आपूर्तिकर्ताले त्रुटि रोक्ने नयाँ दृश्य संयन्त्र लागू गरेको दाबी गरेको छ। बिवाईडीका अनुसार, यस समस्याले सवारी साधनको सञ्चालनमा कुनै असर पार्दैन र गाडी चलाउँदा सुरक्षा जोखिम पनि निम्त्याउँदैन। कम्पनीले जनाए अनुसार, सवारी धनीहरूले प्रभावित सवारी साधनहरूलाई नजिकैको सेवा केन्द्रमा लगी निःशुल्क जाँच गराउन र पाङ्ग्राको रिम फेर्न सक्नेछन्। यसका साथै, कम्पनीले अर्को सवारी साधन उपलब्ध गराउने वा यातायात खर्चबापत क्षतिपूर्ति दिने प्रस्ताव पनि गरेको छ। चीनमा ‘द ग्रेट ट्याङ’ (The Great Tang) पूर्ण विद्युतीय र प्लग-इन हाइब्रिड पावरट्रेन विकल्पहरूमा बिक्रीका लागि उपलब्ध छ। यसको सबैभन्दा सस्तो ‘प्रिमियम ईभी’ भेरियन्टको मूल्य २,३९,९०० युआन (३५,५०० अमेरिकी डलर) बाट सुरु हुन्छ। The post बिवाईडीको लक्जरी एसयूभीमा पाङ्ग्रासम्बन्धी समस्या, कम्पनीले निःशुल्क फेरिदिने appeared first on Technology Khabar.
बिवाईडीको लक्जरी एसयूभीमा पाङ्ग्रासम्बन्धी समस्या, कम्पनीले निःशुल्क फेरिदिने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






