काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जना पक्राउ परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र नौ बुक तास बरामद गरिएको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद र २८ वर्षीय सरोज कार्की छन्। त्यस्तै, बूढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ र महानगरपालिका–४ का ३४ वर्षीय अनिल भण्डारी पक्राउ परेका छन्। यसैगरी संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल पनि पक्राउ परेका छन्।
बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






