बर्दिया । एक सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । झन्डै चार गुणा कैदीबन्दी भरिएपछि उनीहरू कोचिएर सुत्न बाध्य भएका छन् । बर्दिया कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै बन्दीगृह रहेका छन् । पुरुष कारागारमा ४ सय ३ जना कैदी र थुनुवा बन्दी छन् । महिला कारागारमा ७२ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् । पुरुष कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका १ सय ५३ जना कैदीबन्दी छन् । यसैगरी लागुऔषधका १ सय ३६ जना र डाँका चोरीका २९ जना कैदी तथा थुनुवा बन्दी रहेको कारागार प्रमुख लोकराज ढकालले बताए । क्षमताभन्दा बढी कैदीबन्दी भरिएपछि साँघुरो कोठामा क्षमताभन्दा बढी कैदी उत्तानो परेर सुत्न बाध्य भएको उनले बताए । विद्युत् सेवा अवरुद्ध हुँदा पसिना आउने र सुत्दा एकअर्काको श्वासप्रश्वासको दुर्गन्ध सहन बाध्य हुनुपरेको कैदी तथा थुनुवाको गुनासो छ । २०३४ सालमा निर्माण भएको कारागारमा कैदीबन्दी बढ्दै गएपछि सुरक्षामा चुनौती थपिँदै गएको छ । निर्वाचनलगायत विशेष परिस्थितिमा सेना र सशस्त्र प्रहरी बल तैनाथ भए पनि अन्य समयमा नेपाल प्रहरीले सुरक्षाको कमान्ड सम्हाल्दै आएको छ । महिलाका लागि छुट्टै थुनुवा कोठा करिब २० वर्षअघि निर्माण गरिएको थियो । २०८० भदौ १६ गते बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका ठाकुरबाबा नगरपालिका–८ का २७ वर्षीय टोपे भन्ने अजित बुढाक्षेत्री फरार भएका थिए । ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्री एक वर्ष सजाय भोगिसकेका कैदी थिए । बुढाक्षेत्री फरार भएपछि कारागार वरिपरिको पर्खालमा काँडेतारले घेरिएको छ । कैदी तथा थुनुवासँगको भेटघाटमा पनि सुरक्षा जाँच कडा पारिएको कारागार प्रशासनले जनाएको छ । पञ्चायती व्यवस्थाविरुद्धका मुद्दामा २०४५/०४६ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र तत्कालीन सभामुख तारानाथ रानाभाटले यसै कारागारमा बन्दी जीवन बिताएका थिए । हालसम्म कारागार सुधार, क्षमताको विस्तार र जीर्ण भवनको मर्मत हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयदेखि करिब डेढ किलोमिटर पश्चिम तुलापुरमा रहेको कारागार जीर्ण भइसकेको छ ।
बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


.jpeg)


