Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रहरी नेतृत्वमा हस्तक्षेपको पुनरावृत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी नेतृत्वमा हस्तक्षेपको पुनरावृत्ति
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई कार्यकाल पूरा नहुँदै जिम्मेवारीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेर केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्कीलाई कारबाही नभई बदलिँदो परिस्थितिअनुसार जिम्मेवारी मात्रै हेरफेर गरिएको हो । यद्यपि, पदावधि बाँकी रहँदै प्रहरी प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णयले कानुनी र प्रशासनिक प्रश्न भने खडा गरेको छ । गत वर्ष कात्तिक २४ गते सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई आइजिपी नियुक्त गरेको थियो । अकस्मात आइजी फेरबदल गर्ने सरकारको निर्णयले नेपाल प्रहरीमा करिब ३० वर्षअघि भएको विवादास्पद घटना पुनः स्मरण गराएको छ । २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गर्नुभएको थियो । उहाँको ठाउँमा तत्कालीन एआइजी ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख नियुक्त गरिएको थियो । तीन दशकपछि अहिले लगभग त्यस्तै प्रकृतिको निर्णय भएको हो । फरक यत्ति हो, यसपटक कार्कीलाई राष्ट्रिय अनुसन्धान विभागमा नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर प्रधानमन्त्री कार्यालयमा लगिएको छ । उहाँको ठाउँमा केसीलाई प्रहरी प्रमुख बनाइएको छ । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार प्रहरी संगठनभित्रको नियमित पद होइन । सरकारले प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर कार्कीलाई त्यहाँ नियुक्त गरेको छ । त्यसैले यो निर्णयलाई सामान्य सरुवा मात्रै मान्न सकिने अवस्था नरहेको कानुनी प्रश्नसमेत उठेको छ । फेरबदलका सम्भावित कारणकार्कीलाई जिम्मेवारीबाट हटाउनुको औपचारिक कारण सरकारले सार्वजनिक गरेको छैन । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले कार्कीलाई कुनै कारबाही नगरिएको र जिम्मेवारी मात्र परिवर्तन गरिएको बताउनुभयो । तर, पछिल्ला केही घटनाक्रममा कार्कीको भूमिका विवादमा परेपछि प्रधानमन्त्री शाह उनीसँग असन्तुष्ट रहेको सरकारनिकट स्रोतहरूको भनाइ छ । कार्कीलाई हटाउने निर्णयको पृष्ठभूमिमा पछिल्लो समय प्रहरी संगठन र प्रधानमन्त्रीको सचिवालयबीच देखिएको अविश्वासलाई मुख्य कारणका रूपमा हेरिएको छ । गत साता पत्रकार तथा सञ्चार माध्यमका कार्यालयमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गरिएको घटनाले सरकार र प्रहरी नेतृत्वबीचको सम्बन्ध थप तनावपूर्ण बनाएको थियो । प्रधानमन्त्री शाहलाई कार्कीसँग असन्तुष्ट बनाउने अर्को विषय प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग उहाँको सम्पर्क रहेको दाबीसम्बन्धी विवरण पनि हो । त्यस्तै, रास्वपा सांसद खगेन्द्र सुनार र कार्कीबीचको विवादलाई पनि प्रहरी प्रमुख फेरबदलको अर्को कारण मानिएको छ । निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता पनि कार्कीमाथि प्रश्न उठेको अर्को विषय हो । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितताको उजुरी परेपछि सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानविन गरिरहेको छ । सरकार र पार्टीकै कुरा बाझियोकार्कीलाई हटाउने निर्णयपछि सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ताको भनाइसमेत बाझिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीबाटै निर्देशन आएको बताए पनि रास्वपा प्रवक्ता जगदीश खरेलले पार्टीले कुनै व्यक्तिलाई हटाउन वा राख्न निर्देशन नदिएको दाबी गर्नुभएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता पोखरेलले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले केही गर्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको बताउनुभएको हो । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो’, पोखरेलले भन्नुभयो, ‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भन्ने पार्टीबाट निर्देशन आएको थियो । त्यसैले जिम्मेवारी फेरबदल गरिएको हो ।’ तर, रास्वपा प्रवक्ता जगदीश खरेलले भने पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन निर्देशन नदिएको दाबी गर्नुभएको छ । कार्की अदालत जानसक्ने !सरकारको निर्णयप्रति असन्तुष्ट कार्की सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ । उहाँनिकट स्रोतका अनुसार कार्कीले आफूलाई पदबाट हटाउने निर्णय कानुनविपरीत रहेको दाबी गर्दै रिट दायर गर्ने तयारी गर्नुभएको हो । उहाँ आज (बिहीबार) अदालत जानसक्ने उहाँनिकट स्रोत बताउँछ । यद्यपि, यसबारे स्वयं कार्कीले भने केही बोल्नुभएको छैन । यसअघि खरेल प्रकरणमा पनि प्रहरी प्रमुख फेरबदलको विषय अदालत पुगेको थियो । सर्वोच्च अदालतले सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । पछि राष्ट्रिय अनुसन्धान विभागमा हाजिर हुन बाध्य पार्ने सरकारी प्रयास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसैले अहिलेको विवादमा पनि अदालतको प्रारम्भिक दृष्टिकोण महत्त्वपूर्ण हुनेछ । खरेल प्रकरणमा सर्वोच्चको व्याख्या र अहिलेको अवस्था२०५३ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गृहमन्त्री वामदेव गौतम रहेको सरकारले आइजिपी अच्युतकृष्ण खरेललाई पदमा नियुक्त भएको ३६ दिनमै राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अधिकृतमा सरुवा गरेको थियो । २०५३ साल फागुन १५ गतेदेखि लागू हुनेगरी आइजिपी नियुक्त हुनभएका खरेललाई चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुसन्धान विभागमा पठाउने निर्णय गरेको थियो । सोही दिन एआइजी ध्रुवबहादुर प्रधानलाई नयाँ आइजिपी नियुक्त गरिएको थियो । सरकारको निर्णयले आफूलाई पदबाट हटाएर प्रधानलाई प्रहरी प्रमुख बनाउने बाटो खोलेको भन्दै खरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतको विशेष इजलासले २०५५ असार १९ गते फैसला गर्दै सरकारसँग प्रहरी अधिकृतलाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गर्ने अधिकार रहेको स्वीकार गरेको थियो । तर, उक्त अधिकार स्वेच्छाचारी ढंगले प्रयोग गर्न नमिल्ने अदालतको व्याख्या थियो । खरेललाई अनुसन्धान विभागमा पठाउने निर्णयको वस्तुनिष्ठ आधार, कारण र औचित्य नदेखिएको भन्दै सर्वोच्चले त्यसलाई बदनियतपूर्ण ठहर गरेको थियो । अर्को व्यक्तिलाई बढुवा गर्नुपर्ने सामान्य कारण देखाएर कानुनबमोजिम पदमा बहाल रहन योग्य व्यक्तिलाई हटाउन नमिल्ने अदालतको निष्कर्ष थियो । यद्यपि, फैसला आउनुअघि नै खरेल पुनः आइजिपी बहाल भइसक्नु भएको थियो । त्यसैले उहाँले माग गरेअनुसार पुनर्बहालीको आदेश जारी गर्नुपर्ने अवस्था नरहेको भन्दै सर्वोच्चले रिट खारेज गरेको थियो । सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्ले खरेललाई पुनः आइजिपीमा बहाल गर्ने र प्रधानलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । खरेल प्रकरणमा सर्वोच्चले दिएको व्याख्या अहिलेको कार्की प्रकरणका लागि पनि सान्दर्भिक हुनसक्छ । सरकारले अधिकार प्रयोग गर्नसक्ने भए पनि त्यसको वस्तुनिष्ठ आधार र औचित्य हुनुपर्ने अदालतको पुरानो नजिरले अहिलेको निर्णयमाथि प्रश्न उठाउने ठाउँ दिएको छ । शरणार्थी प्रकरण अनुसन्धान गरेका केसीलाई प्रहरीको कमाण्डडा. मनोज केसी नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक बन्नुभएको छ । केसी दानबहादुर कार्कीकै ब्याची हुनुहुन्छ । दुवैजना २८ चैत २०५४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थिए । २६ मंसिर २०६६ मा केसी एसपीमा र १९ साउन २०७४ मा केसी एसपीमा बढुवा हुनुभएको थियो । ३ साउन २०७९ मा एसएसपीमा बढुवा हुनुभयो । १३ जेठ २०८१ मा डिआइजीमा बढुवा हुनुभएका उहाँ ११ वैशाख २०८२ मा एआइजीमा बढुवा हुनुभएको थियो । केसी अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला उहाँकै अगुवाइमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धान गरिएको थियो । डा. केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ । पन्नासत्र विश्वविद्यालयबाटै व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा एमएम, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए र टियुबाटै जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ नेपाल प्रहरीमा पहिलो पटक लागू भएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत हो । उहाँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत विभिन्न जिल्लाहरूको समेत कमाण्ड गर्नुभएको छ । उहाँले सिआइबीमा रहँदा पनि पर्यटकीय क्षेत्रमा हुन फेक रेस्क्यु, स्मार्ट टेलिकममा भएको ठगी, धितोपत्र तथा बीमा ठगी, क्रिप्टोकरेन्सी अपराध, र सरकारी जग्गा अतिक्रमण तथा हिनामिना जस्ता विषयहरूको अनुसन्धान नेतृत्व गर्नुभएको थियो । उहाँसँग युएन मिसनको पनि अनुभव छ । उहाँले दुईवटा पुस्तकसमेत लेख्नुभएको छ । नागरिकले भरोसा र प्रहरीले गर्व गर्नसक्ने वातावरण बनाउने लक्ष्य : केसीनवनियुक्त आइजिपी डा. मनोज केसीले नेपाल प्रहरीको जनविश्वास पुनर्निर्माण, संगठनभित्रको निष्पक्षता र तल्लो तहका प्रहरी कर्मचारीका गुनासो सम्बोधनलाई आफ्नो प्राथमिकतामा राख्ने बताउनुभएको छ । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि आफ्नो धारणा राख्दै आइजिपी केसीले बदलिँदो सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीले संस्थागत र आन्तरिक सुधारमा समेत ध्यान दिनुपर्ने बताउनुभएको हो । ‘जनविश्वास पुनर्निर्माण गर्नुपर्ने कुरा जहिल्यै महत्त्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘जेन-जी घटनाक्रमलगायत पछिल्ला घटनाक्रमले नेपाल प्रहरी र नागरिकबीचको सम्बन्धका विषयमा हामीले धेरै पाठ सिकेका छौँ ।’ नेपाल प्रहरीले बाह्य सुरक्षा चुनौतीसँगै संगठनभित्रका संस्थागत समस्यालाई पनि सम्बोधन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गर्ने र प्रहरी कर्मचारीले आफ्नो बर्दीप्रति गर्व गर्नसक्ने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । नागरिक-प्रहरी दूरी घटाउन गृहमन्त्रीको निर्देशनगृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीलाई नागरिकमैत्री व्यवहार गर्न र नागरिकसितको दूरी घटाउन निर्देशन दिनुभएको छ । नवनियुक्त आइजिपीको दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी र नागरिकबीच विगतदेखि नै केही दूरी रहेको आफूले महसुस गरेको बताउँदै त्यसलाई चिर्नुपर्नेमा जोड दिनुभएको हो । ‘नागरिकसँग कसरी नजिक हुनुपर्छ र कसरी हामीले उहाँहरूप्रति एकदमै सम्मानजनक व्यवहार गर्न सक्छौँ, त्यसमा तपाईंको नेतृत्वमा काम होस् भन्ने म चाहन्छु’, गृहमन्त्रीले भन्नुभयो, ‘नागरिक र प्रहरीबीच मैले जहिले पनि एउटा ग्याप फिल गरिरहेको छु । मेरो विचारमा अबका दिनमा त्यो ग्याप हुँदैन ।’ सकारात्मक कार्यका लागि गृह मन्त्रालयको सधैँ साथ र अभिभावकत्व रहने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । गृहमन्त्री गुरुङले नै नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको थियो । सिंहदरबारमा र बालुवाटारमा रमिता चलिरहेको छ : शर्मानेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मुलुकका राष्ट्रिय आवश्यकता र प्राथमिकता एकातिर हुँदाहुँदै सरकार आइजिपी हटाउने विषयमा केन्द्रित भएको भन्दै आपत्ति जनाउनुएको छ । पार्टी कार्यालय सानेपामा आकस्मिक पत्रकार सम्मेलन गर्दै शर्माले आइजिपी हटाउने निर्णयको आधार र त्यससँग जोडिएका घटनाक्रम पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । अनुसन्धानको निष्कर्ष र तथ्यहरू स्पष्ट नहुँदै प्रहरी महानिरीक्षक हटाइएको विषयमा सरकार र सत्तारूढ दलका नेताहरूबाटै परस्पर विरोधी अभिव्यक्ति आइरहेको उहाँको भनाइ छ । सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको पनि उहाँले टिप्पणी गर्नुभयो । ‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्नुहुन्छ, पार्टीका प्रवक्ता हाम्रो निर्देशन गएको छैन भन्नुहुन्छ’, शर्माले भन्नुभयो, ‘सिंहदरबारमा रमिता चलिरहेको छ । बालुवाटारमा रमिता चलिरहेको छ ।’ कांग्रेसले ‘इनम सापकोटा प्रकरण’मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिँदै राज्यका निकायको दुरुपयोग भएको आरोप लगाएको छ । प्रधानमन्त्री कार्यालयको दुरुपयोग गरी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको प्रत्यक्ष संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा संवाद गर्ने जस्ता गतिविधि भएको दाबी गरेको हो । कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयसम्बद्ध व्यक्तिले अनुसन्धानमा हिरासतमा रहेका व्यक्ति र प्रमाणमा अनधिकृत नियन्त्रण गरी छेडखानी गरेका विषयबाहिर आएका छन् । प्रहरी महानिरीक्षक हटाउनु यसकै पछिल्लो एउटा कडी हो ।’ कांग्रेसले राज्यका स्वतन्त्र रूपमा काम गर्नुपर्ने निकायलाई शासकको स्वार्थअनुसार परिचालन गर्ने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संविधानप्रदत्त नागरिक अधिकारमाथि गम्भीर चुनौती खडा गरेको जनाएको छ । अह्राएको काम गर्छ भनेर बनाएको होला : ओलीनेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अह्राएको काम गराउन सरकारले आइजिपी परिवर्तन गरेको टिप्पणी गर्नुभएको छ । पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले अह्राएको काम गराउन आइजिपी हेरफेर गरिएको बताउनुभएको हो । ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला’, आइजिपी हेरफेरलाई कसरी लिनुभएको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल... ...

रातोपाटी
जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ
Latest NewsJust now

जेडी भान्सले भने : इरान युद्धका कारण हामीले चुनाव हार्‍यौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले मध्यावधि चुनावमा आफ्नो दल रिपब्लिकन पार्टीको पराजयको कारण इरान युद्ध भएको टिप्पणी गरेका छन्। निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले अमेरकी कंग्रेस (संसद्) का दुवै सदनमा बहुमत हासिल गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक दल रिपब्लिकनलाई विस्थािपित गरेको छ।  यस विषयमा सामाजिक सञ्जालमा एक्समा लेख्दै उपराष्... ...

नेपालखबर
डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो
Latest NewsJust now

डलरको भाउ घट्यो, युरो र पाउन्डको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को ...

केन्द्रबिन्दु
आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play