काठमाडौं । पर्यटन व्यवसायी, लोकतन्त्रका अविचलित योद्धा तथा साहित्यकार विष्णु प्रसाईंको निधन भएको छ । टीकाप्रसाद प्रसाईंका ज्येष्ठ सुपुत्र प्रसाईंको निधन भएको हो । उहाँको निधनले नेपाली पर्यटन, साहित्य तथा लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।नेपालमा पर्यटन प्रवर्द्धन र पर्यटक भित्र्याउन कठिन संघर्ष गर्नुपर्ने प्रारम्भिक दिनदेखि पछिल्ला समयसम्म प्रसाईंले पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहेर महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा उहाँको भूमिका अतुलनीय रहेको उहाँसँग लामो समय सहकार्य गरेका व्यक्तिहरू बताउँछन् । प्रसाई स्वच्छ छवि, उच्च निष्ठा, इमानदारिता र सरल व्यक्तित्वका धनी हुनुहुन्थ्यो । कठिन परिस्थितिमा समेत आफ्नो जिम्मेवारीप्रति धैर्य र प्रतिबद्धताका साथ लागिरहने उहाँको स्वभाव थियो । प्रसाईं पर्यटनकर्मी मात्र नभई राजनीतिक चेतना भएका सशक्त लेखक, कवि तथा साहित्यकारसमेत हुनुहुन्थ्यो । पञ्चायतकालमा उहाँद्वारा रचित ‘टुकुचा’ कविताले तत्कालीन दरबार र शासन व्यवस्थालाई समेत तरंगित बनाएको थियो । त्यसैगरी, तत्कालीन ‘पुनर्जागरण’ पत्रिकामा प्रकाशित उहाँका राजनीतिक व्यंग्यात्मक लेखहरू निकै लोकप्रिय थिए । उहाँका लेख रचनाहरू पाठकले खोजीखोजी पढ्ने गरेको स्मरण गरिन्छ । राजनीतिक व्यंग्यात्मक गजलहरू प्रकाशन गर्नसमेत तत्कालीन अवस्थामा उहाँले अनेक कठिनाइ सामना गर्नुपरेको थियो । प्रसाईं नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरूसँग निकट सम्बन्ध राख्नुहुन्थ्यो । किसुनजी (कृष्णप्रसाद भट्टराई) र प्रजातान्त्रिक आन्दोलनका व्यक्तित्व सीके प्रसाईंका अत्यन्त प्रिय पात्रमध्ये उहाँ एक हुनुहुन्थ्यो । जेलजीवनका कठिन दिनहरूमा समेत उहाँले हरेक साता भेटघाट गर्ने र आवश्यक पत्रपत्रिका तथा सूचना पुर्याउने कामलाई निरन्तरता दिनुभएको थियो । प्रतिकूल परिस्थितिमा पनि लोकतान्त्रिक आन्दोलनप्रतिको आफ्नो प्रतिबद्धताबाट उहाँ कहिल्यै विचलित हुनुभएन । राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध हुँदाहुँदै पनि उहाँले व्यक्तिगत लाभका लागि लाभदायी पद वा अवसरको खोजी गर्नुभएन । जीवनभर लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै एक अविचलित कांग्रेसका रूपमा उहाँले आफ्नो राजनीतिक निष्ठा कायम राख्नुभयो । प्रसाईंको निधनसँगै नेपाली पर्यटन क्षेत्रले एक अनुभवी अभियन्ता, साहित्यले एक निर्भीक स्रष्टा र लोकतान्त्रिक आन्दोलनले निष्ठावान् व्यक्तित्व गुमाएको छ । उहाँले समाज र राष्ट्रका लागि पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ ।
पर्यटन अभियन्ता तथा साहित्यकार विष्णु प्रसाईंको निधन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






