Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

पटका मनोरञ्जन कि अभिशाप ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटका मनोरञ्जन कि अभिशाप ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री र मखमलीका माला सजिए । गाउँ–सहरभरि फूलको बासना फैलिएको छ । बालबालिकादेखि वृद्धसम्म सबैको अनुहारमा खुसी छ । नेपालीको दोस्रो ठूलो पर्व तिहार केबल एउटा चाड मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता र मानवताको जीवन्त प्रतिविम्ब हो । यस वर्षको तिहार हामीबाट बिदा भएर गइसक्यो तर यसले छोडेका केही तीता अनुभव र गम्भीर प्रश्न भने अझै हाम्रासामु छन् । तिहारलाई हामी किन अरू चाडभन्दा फरक र विशिष्ट मान्छौँ ? किनकी यो पर्वले मानिसलाई मात्र होइन, मानिससँगै बाँच्ने अन्य सबै पशु प्राणीलाई पनि समान रूपमा सम्मान गर्छ । काग तिहारमा हामी कागलाई बोलाएर भात खुवाउँछौँ, किनकि कागलाई यमराजको दूत मानिन्छ । उसले लगाएको कुन तिर्ने प्रयत्न गर्छौं । कुकुर तिहारमा कुकुरलाई माला, टीका लगाएर मीठो खुवाएर पूजा गर्छौं किनकि कुकुर हाम्रो वफादार साथी र यमराजको अर्को दूत हो । गाई तिहार र गोरु तिहारमा गाई, गोरुलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्छौं । लक्ष्मीपूजामा ऐश्वर्य, सम्पन्नता र धनकी देवीको आह्वान गर्छौं । भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर एकअर्काको सम्मान गर्छन् । यसको मूल सन्देश हो—सबै जीवप्रति प्रेम, करुणा र सहअस्तित्व । प्रकृतिका सबै प्राणीलाई सम्मान गर्नुपर्छ भन्ने यो सन्देशकै कारण तिहारलाई विश्वकै सबैभन्दा मानवीय पर्वहरूमध्ये एक भनिन्छ । तर यही उज्यालोको पर्व, यही सम्मानको पर्व विगत केही दशकदेखि पटका वा आतसबाजीको ठूलो आवाज, धुवाँ र जोखिमले गर्दा अभिशापमा परिणत हुँदै गएको छ । हामी कागलाई पूजा गर्ने दिनमै कागलाई भगाउँछौँ । कुकुरलाई माला लगाउने दिनमै कुकुरलाई डरले थरथर काम्ने बनाउँछौँ । गाईलाई लक्ष्मी भनेर पूजा गर्ने हामी त्यही गाईलाई पटकाको आवाजले आतङ्कित तुल्याइरहेका त छैनौँ ? तिहारमा पटका पड्काउनु हाम्रो मौलिक परम्परा होइन । हाम्रा बाजेबज्यैको पालामा तिहारमा दियो बाल्ने, देउसी–भैलो खेल्ने, सेलरोटी खाने, म्हःपूजा गर्ने, भाइटीका लगाउने र फूलमाला सजाउने चलन थियो । पटका त आयातित र व्यापारिक स्वार्थ बोकेको संस्कृति हो । हामीले त्यसलाई आफ्नो मौलिक पर्वको अङ्ग ठान्न थालेका छौँ, यो ठूलो भ्रम र विचलन हो । पटकाको कारण ठूलो अर्थराशि एकातिर विदेशिएको छ भने अर्कोतिर धनजनको ठूलो नोक्सान भइरहेको छ । ठाउँठाउँमा आगलागी, बस्ती विनाश, मृत्युवरणजस्ता घटना हरेक वर्ष दोहोरिरहेका छन् । छिमेकीले पटका पटकाउने क्रममा आकाशतिर उडाएको पटका कहाँनेर कसको के नोक्सान गर्ने हो भनेर डराउनुपर्ने अवस्था रहिरहन्छ । पटकाकै कारण कुकुरहरू हराएको, डरले लुकेको र खाना नखाएको समाचार आए । काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) दिउँसोमै १४३ पुगेर अस्वस्थकर भएको समाचार आयो । पर्सामा एक जना बालकको पेटमा पटकाको टुक्रा छिरेर घाइते भई ज्यान गुमाएको समाचारले हामीलाई झस्कायो । प्रहरीले विस्फोटक पदार्थसम्बन्धी कानुनअन्तर्गत पटकाको अवैध ओसारपसार र प्रयोगमा कडाइ गर्दै सजायको व्यवस्था भएको स्मरण गरायो, तर कार्यान्वयन कमजोर रह्यो । पटकाको आवाज र झिरझिरले कोही कसैलाई रमाइलो लाग्ला, तर पशुपक्षी, वातावरण र कमजोर मानिसलाई के हुन्छ भन्ने विषयमा हामीले कहिल्यै गम्भीर रूपमा सोचेका छौँ ? काग र चराचुरुङ्गीको कुरा गरौँ । काग तिहारको दिन बिहानै कागलाई बोलाउने चलन छ । काग आयो भने शुभ मानिन्छ । तर तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै पटका पड्कन थाल्छ । काग मात्र होइन, परेवा, मलेवा, भँगेरा, ढुकुर, सुगा, कोइली र अन्य सबै चराचुरुङ्गी पटकाको आवाज सुन्नासाथ डराएर नजिकको जङ्गलतिर भौँतारिन थाल्छन् । उनीहरूले आफ्नो गुँड छोड्छन् । गुँडमा भएका बच्चा भोकभोकै मर्छन् । कतिपय चरा डरले रूखबाट खसेर मर्छन् । कतिपयले दिशा बिर्सेर टाढा पुग्छन् र फेरि आफ्नो बासमा फर्कन सक्दैनन् । वैज्ञानिक अध्ययन भन्छन्, चराको कान अत्यन्तै संवेदनशील हुन्छ । उच्च डेसिबलको आवाजले उनीहरूको श्रवणशक्तिमा असर पर्छ । एउटा सामान्य पटकाको आवाज १२० देखि १६० डेसिबल वा त्यसभन्दा बढी हुन्छ । अर्थात् हामीले रमाइलोका लागि पड्काएको एउटा पटकाले चराको कानलाई गम्भीर क्षति पुर्‍याउन सक्छ । के हामीले कहिल्यै यो सोचेका छौँ ? दोस्रो, कुकुरको कुरा गरौँ । कुकुर तिहार हाम्रो सबैभन्दा भावुक पर्व हो । कुकुरलाई हामी बफादार साथी मान्छौँ । तर तिहारको राति त्यही कुकुरको हालत के हुन्छ ? कुकुरको श्रवणशक्ति मानिसको भन्दा धेरै बढी हुन्छ । उनीहरूले ४०–६० हजार हर्जसम्मको आवाज सुन्न सक्छन्, जबकी मानिसले करिब २० हजार हर्जसम्म मात्र । हामीलाई ठूलो लाग्ने आवाज कुकुरलाई बम पड्के जस्तै लाग्छ । कुकुरमा दुखाइको सीमा करिब ९५ डेसिबल आसपास मानिन्छ, जबकी पटका १४०–१९० डेसिबलसम्म पुग्छ । त्यसैले तिहारमा कुकुरहरू डराएर घरको कुनामा, खाटमुनि, नालीमा, बाथरुममा लुकेर बस्छन् । खाना खान सक्दैनन् । पानी पिउन सक्दैनन् । बाहिर निस्कन सक्दैनन् । काठमाडौँ, पोखरा, चितवन, विराटनगर, जनकपुर, नेपालगञ्ज जस्ता ठूला सहरमा हरेक तिहारमा सयौँ कुकुर हराउँछन् । डरले भागेका कुकुरलाई गाडीले हान्छ । कतिपय कुकुर डरले मुटुको धड्कन बढेर वा तनावले मर्छन् । पशु चिकित्सक भन्छन्, तिहारको समयमा कुकुरमा एन्जाइटी, डर, भोक नलाग्ने, झाडा लाग्ने जस्ता समस्या अत्यधिक बढ्छ । हामीले माला लगाएर पूजा गरेको कुकुर राति थरथर कामिरहेको हुन्छ भने त्यो पूजाको के अर्थ ? विचार गरौँ ! अब गाई, गोरु र अन्य घरपालुवा पशुको कुरा गरौँ । गाई तिहारमा हामी गाईलाई लक्ष्मी मानेर पूजा गर्छौं । तर पटकाको आवाजले बाच्छाबाच्छी डराएर थरथर काप्छन् । दुहुनो गाई हो भने दूध दिन छोड्छिन्, गर्भवती गाईको गर्भ तुहिने खतरा हुन्छ । गोरु डराएर डोरी चुँडाएर भाग्छ । बाख्रा, भैँसी, कुखुरा सबै आतङ्कित हुन्छन् । किसान भन्छन्, तिहारको समयमा पशुले घाँस खान छोड्छ, दूध दिन छोड्छ । एकोहोरो टोलाइरहन्छ । यस अवधिमा वन्यजन्तुको कुरा गरौँ । नेपालको तराई र पहाडका धेरै बस्ती जङ्गलको नजिक छन् । तिहारमा पड्काइने पटकाको आवाज जङ्गलभित्रसम्म पुग्छ । त्यसको कर्कश र डरलाग्दो आवाजले बाँदर, मृग, चितुवा, हात्तीजस्ता वन्यजन्तु आतङ्कित हुन्छन् र सुरक्षाको लागि बस्तीतिर पस्छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व बढाउँछ । कतिपय ठाउँमा त पटकाकै कारण जङ्गलमा आगलागी भएको समाचार पनि आएका छन् । पटकाले पशुपक्षीलाई मात्र होइन, मानिसलाई पनि छोडेको छैन । हरेक वर्ष तिहारमा पटकाले गर्दा आगलागी हुन्छ । बालबालिकाको हात जलेको, आँखा फुटेको, कानको जाली फुटेको समाचार आउँछन् । कतिपयले ज्यानै गुमाएका छन् । हरेक वर्ष पटकाकै कारण सहर–बजार र बस्तीमा आगलागीको घटना हुन्छ । यसकै कारण दर्जनौँ बालबालिका जलनमा पर्छन् र अस्पताल पुग्छन् । के यस्तो रमाइलो रमाइलो हो ? जसले कसैको घर उजाड्छ, कसैको भविष्य अन्धकार बनाउँछ, त्यसलाई रमाइलो भन्न मिल्छ ? तिहारको बेला नजिकको अस्पतालको आकस्मिक वार्डमा पुग्नुस् त पटकाको करामत बुझ्न सघाउ पुग्छ । बालबालिका, वृद्धवृद्धा, महिला र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी प्रभावित हुन्छन् । यसबाट हुने वातावरणीय प्रदूषणको के कुरा गर्नु ? पटका पड्काउँदा निस्कने धुवाँमा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड जस्ता विषाक्त ग्यास हुन्छन् । यी ग्यासले हावालाई प्रदूषित बनाउँछन् । साथै पिएम २.५ र पिएम १० जस्ता सूक्ष्म कणहरू बढ्छन्, जसले आँखा पोल्ने, छाला चिलाउने, दम, खोकी र श्वासप्रश्वासका समस्या निम्त्याउँछन् । विभिन्न अध्ययनले तिहार अवधिमा वायु प्रदूषणको स्तर बढ्ने देखाएका छन् । तिहारको अवधिमा यसैका कारण आँखा पोल्ने, छाला चिलाउनेजस्ता समस्याको साथै दम, खोकी देखिन्छ; चिकित्सकहरू बताउँछन् । यसको समाधान के छ ? यो हाम्रो संस्कृतिको अङ्ग नभएको, यसबाट हानिनोक्सानी नै ज्यादा हुने भएकोले पहिले त हामी आफैँले पटका नकिन्ने, नपड्काउने प्रण गर्नुपर्छ । आफ्ना छोराछोरीलाई पटका किनिदिनुको सट्टा दियो, फूलमाला, फलफूल किनिदिऔँ । उनीहरूलाई पटकाले पशुपक्षी र प्रकृतिलाई पीडा हुन्छ भनेर बुझाऔँ । रमाइलो गर्न पटका नै चाहिँदैन भन्ने कुरा सिकाऔँ । दियो बालेर, देउसी–भैलो खेलेर, आफन्तसँग बसेर पनि तिहार मनाउन सकिन्छ । हिजो हाम्रा अग्रज र पुर्खाहरूले त्यसै गरेर तिहार मनाए । यसका लागि सामाजिक तहबाटै सतर्कता अपनाउन वडा, टोल, क्लब, विद्यालयले पटकामुक्त तिहार अभियान चलाउनुपर्छ । यसबाट हुने नोक्सानीको बारे सचेतना कार्यक्रम गर्नुपर्छ । घरपालुवा जनावरलाई तिहारको बेला घर–गोठभित्रै राख्ने, तिनलाई माया गरेर सम्हाल्ने काम गर्नुपर्छ ।अन्तमा सरकारी तहबाट यसको उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्नुपर्छ । नेपालमा विस्फोटक पदार्थसम्बन्धी कानुनले अवैध पटकाको ओसारपसार, भण्डारण र प्रयोगमा तीन वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरेको छ । भारतका दिल्ली–एनसीआरलगायत ठाउँमा पटकामा कडाइ र सीमित अनुमति मात्र दिइएको छ । कुनै एउटा सहर वा नगरपालिका वा महानगरपालिकामा मात्र होइन देशभरि पटका निषेध गरी उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने व्यवस्था गर्नुपर्छ । यसका लागि प्रहरीको सतर्कता र नागरिकको सहयोग दुवै आवश्यक पर्दछ । तिहार भनेको उज्यालोको पर्व हो । अन्धकारलाई हटाएर उज्यालो फैलाउने पर्व हो तर पटकाको धुवाँ र आवाजले तिहारलाई अन्धकारमय बनाइरहेको छ । हामीले तिहारको मौलिकतालाई फर्काउनुपर्छ । कागलाई माया गर्ने, कुकुरलाई सम्मान गर्ने, गाईलाई लक्ष्मी मान्ने हाम्रो संस्कृतिलाई जोगाउनुपर्छ । अन्त्यमा, एउटा कुरा स्मरण गरौँ । हामीले पूजा गर्ने पशुपक्षी बोल्न सक्दैनन् । उनीहरूले आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । उनीहरूको पीडा बुझ्ने जिम्मेवारी हाम्रो हो । पटका मनोरञ्जनको साधन होइन, अपितु यो हरेक दृष्टिकोणले अभिशाप हो । यस वर्षको तिहार त बिदा भइहाल्यो, जे–जति नोक्सान पटकाले गर्‍यो तपाईं–हाम्रोसामु छँदैछ । अब अर्को वर्षदेखि पटकामुक्त तिहार मनाउन पाइयोस् । यसका लागि के के नियम कानुन चाहिन्छ अहिलेदेखि नै तयार पार्दै विकृति, विसङ्गति एवं अभिशापमुक्त तिहारको कल्पना गरौँ । यसो गर्‍यौँ भने नै साँचो तिहार हुनेछ, यसैबाट हाम्रो संस्कृतिको रक्षा हुनेछ । हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ । (लेखक संस्कृति तथा सम्पदाविद् हुन्)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाले हेटौँडा अस्पतालमा भावविह्वल आफन्त (तस्बिरहरू)
Latest NewsJust now

भीमफेदी दुर्घटनाले हेटौँडा अस्पतालमा भावविह्वल आफन्त (तस्बिरहरू)

भीमफेदी ईभी दुर्घटना : मृतक र घाइतेका परिवार हेटौँडा अस्पतालमा भावविह्वल (तस्बिरहरू) मकवानपुरको भीमफेदीमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।  घाइते तथा मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएका छन्। जसले गर्दा यतिबेला हेटौँडा अस्पताल परिसर शोकमा डुबेको छ। दुर्घटनाका मृतक र घाइतेका... ...

नेपालखबर
रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
Latest NewsJust now

रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति... ...

गोरखापत्र
भीमफेदी दुर्घटनाप्रति कुलमान घिसिङद्वारा दुःख व्यक्त, विद्युतीय सवारी चालकलाई तालिम दिन आग्रह
Latest NewsJust now

भीमफेदी दुर्घटनाप्रति कुलमान घिसिङद्वारा दुःख व्यक्त, विद्युतीय सवारी चालकलाई तालिम दिन आग्रह

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा छठ मनाउन घर जाँदै गरेका एकै... ...

रातोपाटी
विराटनगरविरुद्धको खेलमा १३२ रनमै अलआउट भयो पोखरा, सन्दीप लामिछानेले लिए ६ विकेट
Latest NewsJust now

विराटनगरविरुद्धको खेलमा १३२ रनमै अलआउट भयो पोखरा, सन्दीप लामिछानेले लिए ६ विकेट

• विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १३२ रनमा अलआउट गर्दै एनपीएलको तेस्रो सिजनको खेलमा जित हासिल गर्यो। • सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएर पोखराको इनिङ्स ध्वस्त पार्न महत्वपूर्ण भूमिका खेले। • युवराज सिंह सम्राले ८४ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play