नेपाली साहित्यिक आकाशमा सदैव उज्ज्वल नक्षत्रका रुपमा रहेका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म विक्रम सम्वत १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाको दिन धोबीधारा दिल्ली बजार काठमाडौँमा भएको थियो । लक्ष्मी पूजाको दिन लक्ष्मीको प्रसाद स्वरूप जन्मिएता पनि सरस्वतीको वरदान पाएका महाकविले १० वर्षकै कलिलो उमेरबाट कविता लेख्न सुरुवात गरेका थिए । कलिलो उमेरबाटै साहित्यमा विशेष अभिरुचि राख्ने देवकोटा एकदिन गएर महाकवि बन्नेछन् भन्ने कसैले सोचेका थिएनन् तर लगाव, साधना र मिहिनेतले देवकोटालाई नेपाली साहित्य इतिहासमा प्रतिमान नै स्थापित गर्ने अवसर प्रदान गर्यो । देवकोटा कविता यात्रामा स्वच्छन्ततावादी कविका रूपमा देखा परे भने २००४ सालपछि भने उनका कविता यात्रालाई प्रगतिवादी कविको रुपमा व्याख्या विश्लेषण हुने गरेको पाइन्छ । उनको मूलभूत प्रवृत्तिलाई केलाउने हो भने उनी स्वच्छन्दतावादी कवि नै हुन् । द्रुत वा आशुलेखन उनको अर्को महत्त्वपूर्ण विशेषता थियो । आधुनिक नेपाली कविताको दोस्रो मोड स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा समेत रहेका देवकोटा पूर्णिमाको जलदी १९९१ शारदा पत्रिकामा प्रकाशित भएपछि औपचारिक रूपमा साहित्यिक यात्रा गरेको पाइन्छ । गोरखापत्रमा गरिब कविता प्रकाशित भएपछि कविताको क्षेत्रमा प्रवेश गरेको पाइन्छ । देवकोटा कुनै निश्चित विधाका मात्र परिचित पात्र थिएनन् उनी साहित्यिक वाङ्मयका बहुआयामिक प्रतिभा थिए त्यसैले पनि उनले साहित्यका हरेक विधामा आफ्ना कलमहरू मुखरित गर्न पछि परेनन् । साहित्यका प्राय सबै विधामा कलम चलाउने देवकोटा कवि र निबन्धकारका रूपमा सर्वोकृष्ट र सफल मानिन्छन्। उनका फुटकर कविता, खण्डकाव्य एवं महाकाव्य गरी तिनै आयाममा नेपाली साहित्य कला र भाषाको उत्थान र प्रवर्धनका लागि उनले महत्वपूर्ण योगदान पुर्याएका छन् । देवकोटाको कविता यात्रालाई हेर्ने हो भने १९७६ देखि १९९० सम्मको अवधि लाई पृष्ठभूमि र अभ्यासकाल को रूपमा लिन सकिन्छ भने १९९१ देखि २००३ सम्म पूर्वाध र २००३ देखि २०१६ सम्मको अवधि लाई उत्तरार्धकालको रुपमा र चित्रण गर्न सकिन्छ । देवकोटा कविता यात्रामा स्वच्छन्ततावादी कविका रूपमा देखा परे भने २००४ सालपछि भने उनका कविता यात्रालाई प्रगतिवादी कविको रुपमा व्याख्या विश्लेषण हुने गरेको पाइन्छ । उनको मूलभूत प्रवृत्तिलाई केलाउने हो भने उनी स्वच्छन्दतावादी कवि नै हुन् । द्रुत वा आशुलेखन उनको अर्को महत्त्वपूर्ण विशेषता थियो । अर्को अर्थमा भन्ने हो भने उनका लेखनमा राष्ट्रियता एवं देशभक्तिपूर्ण भावनाको बिम्बात्मक प्रयोग भएको अधिकांश कृतिमा पाइन्छ । त्यसैले उनलाई कसैले क्रान्तिकारी, विद्रोही, प्रगतिशील वा स्वच्छन्दतावादी पनि भन्ने गर्दछन् । खैर जे होस् लक्ष्मीप्रसाद देवकोटा नेपाली कला साहित्य, भाषा र बाङ्मयका उज्ज्वल नक्षत्र हुन । उनका कृतिमा प्रयोग हुने अनेक प्रकारका बिम्बहरूले सैद्धान्तिक र वैचारिक रूपमा प्रगतिशील मानवतावादको प्रचुर प्रयोगलाई दर्शाउँदछ । अर्को अर्थमा भन्ने हो भने देवकोटाका कृतिहरूमा यथार्थपन र वास्तविकतालाई गतिलो सन्देश संवादको रूपमा सन्देश प्रदान गरेको अनुभूति गर्न सकिन्छ । उनको काव्यात्मक शैलीलाइ चित्रण गर्ने हो भने मुनामदन, के नेपाल सानो छ, जस्ता कृतिहरूले देवकोटालाई प्रकृतिवादी, देशप्रेमी, मानवतावादी, यथार्थवादी र प्रगतिशील साहित्यिक धरोहरको रुपमा विवेचना गर्नु बान्छनीय देखिन्छ । उनका कृतिहरूमा देखिने आत्मपरकताको दृष्टिबोधबाट उनले मानव सभ्यतालाई प्रकृतिको मूहानको रूपमा लिएका छन् । सोअर्थमा पनि उनी भौतिकवादी दृष्टिकोण र आदर्शमा पूर्ण विश्वस्त थिए भन्ने कुरालाई जिकिर गर्दछ । तर, २०१० मा प्रकाशित चर्चित गद्य कविता पागल शीर्षकको कविताको बिम्बलाई विश्लेषण गर्ने हो भने उनी नास्तिकतावादबाट आस्तिकवादतर्फ केन्द्रित भएको हो कि भन्ने पनि शंका गर्ने ठाउँ देखिन्छ । त्यसकारण देवकोटालाई कुनै एक बिम्बबाट मात्र चिनियो भने त्यो अधुरो हुन्छ, उनी यथार्थमा बहुआयामिक विशेषताका साहित्यिक स्रष्टा थिए । विक्रम सम्वत २०१६ सालमा नेपालको शिक्षा मन्त्रीको रुपमा पनि देवकोटालाई देख्न पाइएको थियो । शिक्षा मन्त्रालयमा रहँदा साहित्यको विकास र नेपालीभाषाको पुनरुत्थानका लागि उनले योगदान पुर्याएका थिए, भनिन्छ देवकोटा २७ भाषाका ज्ञाता थिए । वास्तवमा उनले नेपाली समाज र नेपाली भाषा कला र संस्कृतिलाई ठूलो गुण लगाएका छन् । उनले समाज, राजनीति र भूगोलको विशेष चासो राख्दथे । उनको बसोस्थान डिल्लीबजार भएकाले पनि डिल्लीबजारका चिया पसलहरूमा उनको बाक्लो उपस्थिति रहने गर्दथ्यो । भनिन्छ डिल्लीबजारको ल्याप्टेन बाजेको पसललाइ साहित्यिक अनुष्ठान क्षेत्र नै बनाएका थिए । समाजसँग अन्तरघुलित हुने उनको अर्को विशेषता थियो । देवकोटा जयन्तीमा मात्र कुण्ठित गरेर पुग्दैन उनका कृतिहरूलाई आजको वर्तमान समयमा पनि पर्गेल्नुपर्ने आवश्यकता र महत्त्व उत्तिकै छ । नेपाली भाषा कला र संस्कृतिमा वर्तमान समयमा आएका नव चुनौती र समस्याहरूलाई देवकोटाका कृतिहरूले समाधान र निरुपणको सन्देश प्रवाह गर्न सक्दछ । तसर्थ देवकोटाका साहित्यिक कृतिहरूमा आज पनि हामीले सीमावलोकन गर्न जरुरी छ । देवकोटाका दर्जनौं कृतिहरू प्रख्यात छन्, मुना मदन, शाकुन्तल, सुलोचना, कुञ्जिनी, राजकुमारी, भिखारी, पागल, बादुली, महाराणा प्रताप, प्रमिथस जस्ता महाकाव्य खण्डकाव्य, निबन्ध र कविता गरी दर्जनौं कृतिहरू चर्चित र कालजयी छन् । तर, अनेकौं विशेषता हुँदाहुँदै पनि देवकोटाको आर्थिक अवस्था र वैक्तिक जीवन भने भिन्न किसिमको देखिन्छ । सामान्य घर घरानामा जन्मिएका देवकोटालाई आर्थिक तनावले भने कहिले छोडेन । छोराको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि आफ्ना कृतिहरू समेत बेच्नु परेको थियो । उनले आर्जन गर्ने आम्दानीहरूबाट गरिब भोका नांगाहरूलाई वितरण गर्ने गर्दथे । देवकोटाको यो रवैयाबाट पारिवारिक असन्तुष्टि पैदा हुनु पनि कुनै नौलो विषय थिएन । तर, उनले परिवारभन्दा पनि बाहिरको समाजप्रति गहिरो चिन्तन राखेको उनको जीवनीबाट प्रष्ट हुन्छ । तसर्थ देवकोटालाई अनेकौं उपमा दिनुको साटो उनलाई प्रखर समाजवादी र मानवतावादी पुरुषार्थ भनियो भने सबैका लागि न्याय हुन्छ जस्तो लाग्छ । वास्तवमा लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका कालजयी पात्र हुन । उनले नेपाली भाषा कला संस्कृति र साहित्यको विकासका लागि उल्लेखनीय योगदान पुर्याएका छन् । देवकोटा जयन्तीमा मात्र कुण्ठित गरेर पुग्दैन उनका कृतिहरूलाई आजको वर्तमान समयमा पनि पर्गेल्नुपर्ने आवश्यकता र महत्त्व उत्तिकै छ । नेपाली भाषा कला र संस्कृतिमा वर्तमान समयमा आएका नव चुनौती र समस्याहरूलाई देवकोटाका कृतिहरूले समाधान र निरुपणको सन्देश प्रवाह गर्न सक्दछ । तसर्थ देवकोटाका साहित्यिक कृतिहरूमा आज पनि हामीले सीमावलोकन गर्न जरुरी छ । आजको आधुनिक समयमा साहित्यमा मौलाएका विकृति र विसंगतिहरूलाई चिर्न सक्नु नै देवकोटा जयन्ती मनाउनुको सार्थकता रहन्छ । हरेक वर्षको औंशी तिथिमा पर्ने लक्ष्मी पूजाका दिन देवकोटाको स्मरण गरेता पनि देवकोटाले देखाएका साहित्यिक बाटाहरू र कलमका यात्राहरू पछ्याउन हामीले कहिले बिर्सिनु हुँदैन । देवकोटाका कृतिहरूमा ब्रह्माण्डको एउटा हिस्सा लुकेको छ, नेपाली समाजको वास्तविक यथार्थता झल्किएको छ, प्रकृति र वैश्विक मानवतावादको सपाट विश्लेषण गरिएको छ भन्ने भावबाट आजको समाजलाई दिशाबोध गर्न सक्यो भने समाजको विकास मात्र होइन साहित्यको विकास पनि भएर जान्छ । देवकोटाले देखाएका मार्गहरू पछ्याउन सकियो भने भविष्यमा हामी पनि पथ प्रदर्शक भएर नवपुस्तालाई बाटो देखाउन सक्दछौँ । कला भाषा साहित्य र सभ्यता भनेको कुनै पनि समाजलाई श्रृंगार गर्ने तन्तु हो । कला, भाषा, साहित्यले देशको परिचयलाई पनि अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न सक्दछ । तसर्थ साहित्यको विकास र साहित्यकर्मीहरूको ऐतिहासिक विरासतलाई हामीले हाम्रो जिम्मेवारी ठानेर अघि बढ्यौ भने समाज सही मार्गतर्फ केन्द्रित हुन सक्दछ । तसर्थ लक्ष्मी पूजाका दिनपर्ने ११८ औँ देवकोटा जयन्ती देशभर विशेष कार्यक्रम गरी मनाउँ । देवकोटाले हामी र हाम्रो समाजलाई दिन खोजेको शिक्षा ग्रहण गरौँ र त्यसलाई व्यवहारमा उतारौं । देवकोटाली कला भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदानलाई सदैव सम्मान गरौं । अबको नयाँ पुस्तालाई साहित्यको चेतना जागृत गरौं । मानवताको बाटो बिराएका आजका मान्छेहरूलाई मानवताको बाटोमा केन्द्रित हुन आह्वान गरौं । वास्तवमा यसो गरियो भने मात्र देवकोटा जन्म जयन्ती मनाउनुको औचित्य साबित हुनेछ र साहित्यको विकासमा साँच्चै हामीले सीमावलोकन गरिरहेका छौँ भन्ने कुरा नयाँ पुस्तालाई उजागर हुन सक्दछ । देवकोटा जयन्तीको शुभकामनाका साथै तिहार पर्वको शुभकामना । सुद्धोधन ४ रुपन्देही
देवकोटा जयन्ती र साहित्यको सीमावलोकन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






