सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । शनिबार प्रदेश रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने बताए । उनले प्रतियोगिताका अधिकांश खेल कर्णालीमा आयोजना गरिएको र प्राविधिक तथा भौतिक पूर्वाधारको अभावमा पौडी र टेनिसका खेल बाँके तथा बर्दियामा सञ्चालन गरिएको जानकारी दिए । सुर्खेतमा प्रदेश रङ्गशाला हुँदाहुँदै पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा आयोजना गर्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा मन्त्री पोखरेलले कर्णालीलाई सुर्खेतमा मात्र सीमित गरेर बुझ्न नहुने बताए । जुम्लावासीको खुसी र सहभागितालाई ध्यानमा राखेर पुरुष फुटबलका अन्तिम चरणका खेल त्यहाँ सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ । महिला फुटबलको सेमिफाइनल र फाइनल भने प्रदेश रङ्गशालामै हुने उनले स्पष्ट पारे । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । ३२ खेलका ३८४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । केही खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने र समापन मंसिर २७ गते गरिने आयोजकले जनाएको छ । यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले कर्णाली प्रदेश रङ्गशालामा फ्लडलाइट जडान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । रातिको समयमा समेत खेल सञ्चालन गर्न सकिने गरी चालु आर्थिक वर्षमै सहरी विकास मन्त्रालयमार्फत फ्लडलाइट जडानको काम अघि बढाइएको उनले बताए । त्यस्तै कर्णालीमा २५ देखि ३० करोड रुपैयाँ लगानीमा कभर्डहल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । त्यसका लागि जग्गा खोजी भइरहेको र जग्गा प्राप्त भएपछि चालु आर्थिक वर्षमै टेन्डर प्रक्रिया सुरु गरिने उनको भनाइ छ । क्रिकेट रङ्गशाला निर्माणका लागि पनि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेहताले बताए । उक्त रकम क्रिकेट रङ्गशालाको संरचना र आवश्यक पूर्वाधार निर्माणमा खर्च गरिनेछ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले प्रतियोगितालाई कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको आयोजनाका रूपमा उल्लेख गर्दै भव्य रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिन् । उनले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्रतियोगिता अवलोकन गर्न सहज वातावरण बनाउन पनि अनुरोध गरिन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदका अधिकांश प्रतिस्पर्धा सुर्खेतमा सञ्चालन भइरहेका छन् । पूर्वाधार अभावका कारण केही खेल बाँके र बर्दियामा आयोजना गरिएका छन् भने पुरुष फुटबलका निर्णायक खेल जुम्लामा सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि खेलस्थल, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा कर्णालीका मौलिक कला, संस्कृति, भेषभूषा र परम्परा झल्किने सांस्कृतिक प्रस्तुति राख्ने तयारी गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






