काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा करिब ८ हजार प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला चोरी, लुटपाट, डकैती, जुवातास, सट्टेबाजी तथा लागुऔषध र विस्फोटक पदार्थको अवैध कारोबार बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार चाडपर्वका समयमा नागरिकको आवतजावतसँगै व्यापारिक तथा आर्थिक कारोबार बढ्ने र कतिपय नागरिक घर छाडेर बाहिर जाने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन बढाइएको हो । उनका अनुसार तीनवटै जिल्लाका प्रहरी प्रमुखको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको छ । नियमित गस्तीलाई थप प्रभावकारी बनाउनुका साथै सादा पोसाकका प्रहरी, साइकल गस्ती, प्रहरीको पेट्रोलिङ टोली, सिआरभी तथा क्विक रेस्पोन्स टिम (क्युआरटी) लाई तयारी अवस्थामा राखिएको छ । ‘चाडपर्वका समयमा आम नागरिकको आवतजावत र आर्थिक कारोबार बढ्ने तथा कतिपय नागरिक घर छाडेर बाहिर जाने भएकाले सुरक्षा चुनौती पनि बढ्न सक्छ । त्यसलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालनलाई व्यापकता दिएका छौँ,’ प्रवक्ता थपलियाले भने । उनका अनुसार बढी आर्थिक कारोबार हुने व्यापारिक क्षेत्र तथा संवेदनशील स्थानमा सादा पोसाकका प्रहरी खटाइएको छ । त्यस्ता क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोनबाट समेत सुरक्षा अवस्थाको अनुगमन भइरहेको छ । शंकास्पद गतिविधि नियन्त्रण गर्न कुकुरसहितको डग स्निफिङ र आकस्मिक चेकजाँचलाई पनि तीव्रता दिइएको छ । काठमाडौं उपत्यकाका महाराजगञ्ज, रत्नपार्क, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र सातदोबाटोलगायत प्रमुख नाकामा थप प्रहरी जनशक्ति रिजर्भमा राखिएको छ । आवश्यकताअनुसार आकस्मिक चेकजाँचसमेत गरिने प्रहरीले जनाएको छ । चाडपर्वका बेला उपत्यका भित्रिने र बाहिरिने यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राखिएको छ । प्रहरीले मुख्य नाका तथा बसपार्कमा सवारी चालकको अवस्था जाँच गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरे÷नगरेको परीक्षण गर्ने र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेर मात्र गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाएको छ । नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षा सेवा उपलब्ध गराउन उपत्यकाका विभिन्न स्थानमा यात्रु तथा नागरिक सहायता कक्षसमेत स्थापना गरिएका छन् । प्रहरी प्रवक्ता थपलियाका अनुसार सहायता कक्षमार्फत नागरिकले सुरक्षा समस्या तथा गुनासो राख्न सक्नेछन् । यसैगरी, विगतमा आपराधिक गतिविधि भएका स्थान र घटनाको अभिलेख अध्ययन गरी सम्भावित जोखिम क्षेत्र पहिचान गर्ने काम भइरहेको छ । रातिको समयमा शंकास्पद रूपमा हिँडडुल गर्ने व्यक्तिमाथि निगरानी तथा आवश्यक जाँच गरिने र आपराधिक गतिविधिमा संलग्न रहेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । तिहारका समयमा पटका तथा आतसबाजीजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न पनि प्रहरीले विशेष निगरानी बढाएको छ । हालसम्म ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको ६३ पोका विस्फोटक पदार्थ गोदाममा छापा मारेर बरामद गरिएको प्रवक्ता थपलियाले जानकारी दिए । उनका अनुसार पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नियन्त्रणका लागि दैनिक रूपमा चेकजाँच भइरहेको छ । गम्भीर प्रकृतिका विस्फोटक पदार्थ बरामद भएमा कसुरको प्रकृतिअनुसार एक वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए । तिहारका अवसरमा हुनसक्ने जुवा, सट्टेबाजी, पटका पड्काउने, झैँझगडा तथा लागुऔषध ओसारपसारजस्ता गतिविधि नियन्त्रण गर्न विशेष प्रहरी टोलीसमेत परिचालन गरिएको छ । चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिँदै प्रहरीले दिवा तथा रात्रिकालीन गस्ती र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाएको छ । प्रहरीले चाडपर्व मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नागरिक सहायता कक्षमा जानकारी गराउन आग्रह गरेको छ । सुरक्षा सतर्कता अपनाउँदै निर्धक्क र सचेत भएर चाडपर्व मनाउन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
तिहारलक्षित सुरक्षाका लागि उपत्यकामा ८ हजार प्रहरी परिचालन, ड्रोनबाट समेत निगरानी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






