काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएका हुन् । ‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ । उहाँ सिंहदरबारमै हुनुहुन्छ । केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने । थापाले आफू समितिमा उपस्थित नहुने र नाम फिर्ताका लागि निवेदन पठाउने जानकारी गराएको पनि श्रेष्ठले बताए । सभापति श्रेष्ठका अनुसार स्वार्थको द्वन्द्वसँग जोडिएर प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेका हुन् । गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र त्यस दिन संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अनुमोदन गरेको थिएन । जापानका लागि प्रस्तावित थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ थप अध्ययनका लागि स्थगित गरिएको थियो । सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएका थिए ।
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






