विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नेतृत्वदायी भूमिका दाबी गर्दै आएको चीनको जलवायु वित्तसम्बन्धी प्रतिबद्धतामाथि पुनः प्रश्न उठेको छ। जलवायु परिवर्तनका कारण बढ्दो विपद्को सामना गरिरहेका नेपाललगायत विकासशील तथा जोखिममा रहेका देशले आर्थिक र प्राविधिक सहयोग बढाउनुपर्ने माग गरिरहेका बेला चीनको अन्तर्राष्ट्रिय जलवायु सहायता पर्याप्त र पारदर्शी नभएको भन्दै आलोचना हुन थालेको हो। गत अगस्ट २६ मा लाङटाङ लिरुङबाट आएको हिमपहिरो र चट्टानको पहिरोले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा विनाशकारी बाढी निम्त्याएपछि यो बहस थप पेचिलो बनेको छ। उक्त विपद्मा ठूलो जनधनको क्षति भएको थियो। प्रतिवेदनमा उल्लेखित विवरणअनुसार नोभेम्बरको सुरुसम्ममा १ हजार ३४१ जनाको शव फेला परेको थियो भने हजारौँ व्यक्ति अझै बेपत्ता थिए। यस घटनाले जलवायुजन्य विपद्प्रति नेपालको बढ्दो जोखिम उजागर गर्नुका साथै विश्वव्यापी उत्सर्जनमा तुलनात्मक रूपमा न्यून योगदान गर्ने तर जलवायु परिवर्तनको असर असमान रूपमा भोगिरहेका देशलाई ठूला अर्थतन्त्रले कस्तो सहयोग गर्नुपर्छ भन्ने बहस पुनः सतहमा ल्याएको छ। बाढी आएको एक सातापछि नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले चीन, अमेरिका र भारतजस्ता देशको नेपालजस्ता जोखिममा रहेका राष्ट्रलाई क्षतिपूर्ति दिन ऐतिहासिक जिम्मेवारी रहेको बताएका थिए। तर, त्यसको भोलिपल्ट चिनियाँ राजदूतसँगको भेटपछि उनले नेपालले चीनसहित कुनै विशेष देशसँग जलवायु न्यायका नाममा क्षतिपूर्ति माग्ने उद्देश्य नराखेको स्पष्ट पारेका थिए। नेपालले त्यसको सट्टा संयुक्त राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज फन्ड’ अर्थात् जलवायुजन्य क्षति तथा नोक्सानी सम्बोधन गर्ने कोषमार्फत सहयोग खोजेको थियो। अक्टोबरमा उक्त कोषले नेपालका लागि २ करोड अमेरिकी डलर स्वीकृत गरेको थियो। तर, बाढीबाट भएको आर्थिक क्षति भने करिब २ अर्ब ५६ करोड अमेरिकी डलर अनुमान गरिएको थियो। विश्वकै ठूला अर्थतन्त्रमध्ये एक र प्रमुख हरितगृह ग्यास उत्सर्जक राष्ट्र चीनले भने उक्त कोषमा आर्थिक योगदान घोषणा गरेको छैन। यसले विश्वव्यापी जलवायु वित्तमा चीनको भूमिकाबारे पुरानो बहसलाई फेरि तीव्र बनाएको छ। आर्थिक सहयोग प्राप्त गर्नुपर्ने विकासशील राष्ट्रका रूपमा चीनलाई निरन्तर व्यवहार गर्ने कि उसको आर्थिक सामर्थ्य र विश्वव्यापी प्रभावअनुसार थप वित्तीय जिम्मेवारी वहन गर्न अपेक्षा गर्ने भन्ने प्रश्न अहिले अन्तर्राष्ट्रिय जलवायु कूटनीतिको केन्द्रमा छ। विकासशील राष्ट्रको हैसियत र चीनको जलवायु दायित्व पेरिस सम्झौताअनुसार विकसित राष्ट्रहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि विकासशील देशलाई वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सम्झौताको धारा ९.१ ले विकसित देशको यस्तो दायित्व स्थापित गरेको छ भने धारा ९.२ ले अन्य देशलाई स्वेच्छिक रूपमा जलवायु वित्त उपलब्ध गराउन प्रोत्साहित गरेको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनले भने अन्तर्राष्ट्रिय जलवायु संरचनाअन्तर्गत आफूलाई अझै विकासशील राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ब्राजिलको बेलेममा आयोजित कोप–३० का क्रममा चीनको राष्ट्रिय जलवायु परिवर्तन विशेषज्ञ समितिका उपाध्यक्ष वाङ यीले विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार चीनलाई जलवायु वित्त उपलब्ध गराउन अनिवार्य दायित्व नरहेको दोहोर्याएका थिए। उनले विकासशील देशका रूपमा चीन अन्तर्राष्ट्रिय जलवायु सहयोग प्राप्त गर्न पनि योग्य रहेको तर्क गरेका थिए। त्यसैगरी, कोप–३१ मा चीनको प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका ली गाओले विकसित राष्ट्रहरूले उत्सर्जन न्यूनीकरण र जलवायु वित्तसम्बन्धी आफ्ना प्रतिबद्धता पूरा गर्न नसकेको विषयमा थप ध्यान दिनुपर्ने बताएका थिए। चीनको यो अडान विकसित र विकासशील राष्ट्रबीच ऐतिहासिक जिम्मेवारी, आर्थिक क्षमता तथा जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय दायित्व कसले कति वहन गर्ने भन्ने विषयमा लामो समयदेखि जारी विवादसँग जोडिएको छ। विकासशील राष्ट्रहरूको तर्क छ कि औद्योगिक अर्थतन्त्रहरूले दशकौँसम्म कार्बन उत्सर्जनमा आधारित विकासमार्फत आफ्नो समृद्धि हासिल गरेका हुन्। त्यसैले जलवायु परिवर्तनबाट उत्पन्न संकटको आर्थिक भार पनि उनीहरूले बढी वहन गर्नुपर्छ। तर चीनको तीव्र आर्थिक विस्तार, विश्वव्यापी प्रभाव र ठूलो मात्राको हरितगृह ग्यास उत्सर्जनले विकसित तथा विकासशील राष्ट्रबीचको परम्परागत विभाजनलाई जटिल बनाउँदै लगेको छ। चीनको २५ अर्ब डलर जलवायु सहयोगको विवरणमाथि प्रश्न अन्तर्राष्ट्रिय जलवायु वित्तमा चीनको भूमिकाबारे उठिरहेको प्रमुख प्रश्न उसले उपलब्ध गराएको भनिएको सहयोगको पारदर्शिता र त्यसको वास्तविक स्वरूपसँग सम्बन्धित छ। कोप–२९ का क्रममा चीनका उपप्रधानमन्त्री डिङ सुएसियाङले सन् २०१६ यता चीनले अन्य विकासशील राष्ट्रका लागि १७७ अर्ब युआन अर्थात् करिब २५ अर्ब अमेरिकी डलर बराबरको परियोजना वित्त उपलब्ध गराएको तथा परिचालन गरेको घोषणा गरेका थिए। यो रकमले अन्तर्राष्ट्रिय जलवायु सहकार्यमा चीनको ठूलो योगदान रहेको संकेत गरेको थियो। तर उक्त रकमको वास्तविक स्वरूपबारे भने अझै प्रश्नहरू छन्। सन् २०२५ मा चीनले संयुक्त राष्ट्रसंघमा पेस गरेको सन् २०३५ सम्मको जलवायु प्रतिबद्धता तथा त्यही वर्षको अक्टोबरमा चीनको पर्यावरण तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा पनि १७७ अर्ब युआनकै आँकडा दोहोर्याइएको थियो। तर दुवै विवरणमा यो रकम अपूर्ण तथ्यांकमा आधारित रहेको उल्लेख गरिएको बताइएको छ। कोप–३१ भन्दा केही समयअघि सार्वजनिक चीनको अक्टोबर २०२६ को जलवायु प्रतिवेदनमा भने उक्त समग्र वित्तीय आँकडा समावेश गरिएको थिएन। त्यसको सट्टा ४३ देशसँग भएका ५६ वटा सहकार्यसम्बन्धी दस्तावेज र सात अफ्रिकी देशमा २० हजार सौर्य ऊर्जा प्रणाली वितरण गरिएको विवरणलाई प्राथमिकता दिइएको थियो। अद्यावधिक वित्तीय विवरण नआउनुले चीनको जलवायु सहयोगको पारदर्शितामाथि प्रश्न उठाएको छ। विशेषगरी, चीनले सार्वजनिक गरेको २५ अर्ब डलरको रकममध्ये कति अनुदान हो, कति सहुलियतपूर्ण ऋण हो, कति व्यावसायिक ऋण हो र सरकारी पहलमार्फत परिचालन गरिएको निजी क्षेत्रको लगानी कति हो भन्ने स्पष्ट छैन। विस्तृत विवरणबिना विकासशील देशले वास्तवमै कति आर्थिक सहयोग प्राप्त गरेका छन् र कति रकम पछि फिर्ता गर्नुपर्ने ऋणका रूपमा उपलब्ध गराइएको हो भन्ने छुट्याउन कठिन हुन्छ। चीनको जलवायु कोष प्रतिबद्धताअनुसार परिचालन हुन सकेन जलवायु वित्तका लागि छुट्टै कोष स्थापना गर्ने चीनको प्रतिबद्धता पनि आलोचनाको विषय बनेको छ। सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासशील राष्ट्रलाई जलवायु परिवर्तनसँग जुध्न सहयोग गर्ने उद्देश्यले २० अर्ब युआनको ‘साउथ–साउथ क्लाइमेट कोअपरेसन फन्ड’ स्थापना गर्ने घोषणा गरेका थिए। तर उक्त कार्यक्रमको कार्यान्वयन प्रारम्भिक प्रतिबद्धताको तुलनामा निकै पछाडि परेको बताइएको छ। जुन २०२३ मा चीनका ली गाओले उक्त कार्यक्रमअन्तर्गत कुल १ अर्ब २० करोड युआनभन्दा बढी रकम विनियोजन भइसकेको बताएका थिए। तर जलवायु नीति अनुसन्धान संस्था ईथ्रीजी (E3G) ले सन् २०२३ मा गरेको मूल्यांकनअनुसार उक्त कोषबाट मूल २० अर्ब युआनको प्रतिबद्धताको करिब एक दशांश मात्र परिचालन भएको थियो। घोषित प्रतिबद्धता र वास्तविक रकम वितरणबीचको ठूलो अन्तरले चीनको जलवायु कूटनीतिको प्रभावकारितामाथि प्रश्न उठाएको छ। स्वतन्त्र अध्ययनहरूले पनि चीनको अन्तर्राष्ट्रिय जलवायु वित्त उसको अर्थतन्त्रको आकारको तुलनामा सीमित रहेको देखाएका छन्। विश्व स्रोत संस्था (World Resources Institute) का अनुसार चीनले सन् २०१३ देखि २०२२ सम्म वार्षिक औसत करिब ४ अर्ब ५० करोड अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराएको थियो। यो सोही अवधिमा विकसित राष्ट्रहरूले उपलब्ध गराएको जलवायु वित्तको करिब ६.१ प्रतिशत बराबर हो। ईथ्रीजी र ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युटले गरेको अर्को अध्ययनले सन् २०१५ देखि २०२१ सम्म चीनको वार्षिक जलवायु वित्त करिब ३ अर्ब अमेरिकी डलर रहेको अनुमान गरेको थियो। अध्ययनअनुसार सन् २०१८ पछि यस्तो सहयोग घट्दै गएको थियो। वित्तीय सहयोगको स्वरूप पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ। ईथ्रीजी र ओडीआईको अध्ययनअनुसार उक्त अवधिमा चीनले द्विपक्षीय रूपमा उपलब्ध गराएको जलवायु वित्तको करिब ९६ प्रतिशत हिस्सा अनुदान नभई ऋणका रूपमा थियो। सेन्टर फर ग्लोबल डेभलपमेन्टले पनि चीनको छुट्टै अन्तर्राष्ट्रिय जलवायु कोषमा सीमित सहभागिता रहेको औँल्याएको छ। चीनको योगदान मुख्यतः ग्लोबल इन्भाइरोन्मेन्ट फ्यासिलिटीमा केन्द्रित रहेको छ। तर चीनले लस एन्ड ड्यामेज फन्ड वा कोप–१५ को अध्यक्षता गरेका बेला स्थापना भएको जैविक विविधतासम्बन्धी कोषमा सहभागिता जनाएको छैन। स्वदेशी हरित ऊर्जामा ठूलो लगानी, अन्तर्राष्ट्रिय सहयोगमा प्रश्न अन्तर्राष्ट्रिय जलवायु वित्तमा चीनको योगदानबारे उठेको बहसलाई उसले आफ्नै देशभित्र हरित ऊर्जा र औद्योगिक विकासमा गरिरहेको विशाल लगानीले थप महत्त्वपूर्ण बनाएको छ। सन् २०२५ मा चीनको स्वच्छ ऊर्जा उद्योगबाट १५.४ ट्रिलियन युआन बराबरको उत्पादन भएको थियो। यो चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ११.४ प्रतिशत हो। चीनको अक्टोबर २०२६ को वातावरणसम्बन्धी प्रतिवेदनमा उक्त वर्ष स्वदेशी उपकरणको स्तरोन्नतिका लागि २०० अर्ब युआन बराबरको दीर्घकालीन विशेष सरकारी ऋणपत्रबाट रकम विनियोजन गरिएको उल्लेख छ। यी तथ्यांकले जलवायुसम्बन्धी लगानीका लागि चीनसँग रहेको ठूलो वित्तीय क्षमता देखाउँछन्। आलोचकहरूका अनुसार स्वदेशी औद्योगिक आधुनिकीकरणमा खर्च भइरहेको ठूलो रकम र अन्तर्राष्ट्रिय जलवायु सहयोगबीचको अन्तरले चीनको आर्थिक सामर्थ्यअनुसारको योगदान नभएको देखाउँछ। एक वर्षका लागि स्वदेशी उपकरण स्तरोन्नतिमा छुट्याइएको रकम मात्रै सन् २०१६ यता चीनले अन्तर्राष्ट्रिय जलवायु सहायताका रूपमा उपलब्ध गराएको दाबी गरेको कुल रकमभन्दा बढी छ। यद्यपि स्वदेशी लगानी र अन्तर्राष्ट्रिय जलवायु वित्तको उद्देश्य फरक हुन्छ। तर यस तुलनाले जोखिममा रहेका देशलाई सहयोग गर्न चीन कति जिम्मेवारी लिन तयार छ भन्ने महत्त्वपूर्ण प्रश्न उठाएको छ। विश्वव्यापी जलवायु नेतृत्वको चिनियाँ दाबीमाथि चुनौती चीनले आफूलाई ग्लोबल साउथ अर्थात् विकासशील राष्ट्रहरूको प्रमुख आवाजका रूपमा प्रस्तुत गर्दै आएको छ। उसले अन्तर्राष्ट्रिय आर्थिक तथा राजनीतिक व्यवस्थालाई थप न्यायपूर्ण र समतामूलक बनाउनुपर्ने पक्षमा वकालत गर्दै आएको छ। तर जलवायु वित्तमा उसको व्यवहारले कूटनीतिक महत्वाकांक्षा र वास्तविक वित्तीय प्रतिबद्धताबीच अन्तर देखाएको छ। ब्राजिलमा आयोजित कोप–३० का क्रममा एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी केट लोगन र ईथ्रीजीकी लिली हार्टजेलले चिनियाँ प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय जलवायु वित्तमा औपचारिक नेतृत्व लिन खोजेको संकेत दिने भाषाबाट सावधानीपूर्वक दूरी बनाएको टिप्पणी गरेका थिए। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि चिनियाँ उपप्रधानमन्त्री डिङ सुएसियाङलाई जलवायु संक्रमण र उत्थानशीलता प्रवर्द्धन गर्ने वित्तीय पहलमा सहभागी हुन आग्रह गरेका थिए। ट्रपिकल फरेस्ट्स फरेभर फ्यासिलिटी नामक पहलमा चीनको अनुपस्थितिले पनि उसको वित्तीय सहभागिताको सीमामाथि ध्यानाकर्षण गराएको छ। स्थापना भएको एक वर्षपछि उक्त पहलमा आठ देशले करिब ७ अर्ब ८० करोड अमेरिकी डलर बराबरको प्रतिबद्धता जनाएका थिए। तर चीन योगदानकर्ता राष्ट्रहरूको सूचीमा समावेश भएन। चीनकै प्राज्ञिक क्षेत्रबाट पनि जलवायु वित्तमा पारदर्शिता बढाउनुपर्ने आवाज उठेको छ। सन् २०२२ मा ‘वर्ल्ड इन्भाइरोन्मेन्ट’ जर्नलमा प्रकाशित लेखमा छिङह्वा विश्वविद्यालय र सेन्ट्रल युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्सका अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रिय जलवायु संयन्त्रअन्तर्गत योगदानका लागि चीनले आकस्मिक तथा परिस्थितिअनुसारको वित्तीय व्यवस्था विकास गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय आलोचना र दबाब कम गर्न साउथ–साउथ क्लाइमेट कोअपरेसन फन्डको वित्तीय विवरण अझ पारदर्शी बनाउनुपर्नेमा पनि जोड दिएका थिए। तर चार वर्ष बितिसक्दा पनि उक्त कोषको वास्तविक योगदान र वित्तीय विवरण सार्वजनिक गर्ने विषयमा प्रश्नहरू कायमै छन्। चीनसँग नेपाल र जोखिममा रहेका देशको अपेक्षा नेपालजस्ता देशका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको बहस कूटनीतिक प्रभाव वा वित्तीय हिसाबकिताबको विषय मात्रै होइन। यो जनजीवनको सुरक्षा, आर्थिक स्थायित्व र जलवायुजन्य विपद्बाट समुदायलाई जोगाउने क्षमतासँग प्रत्यक्ष जोडिएको विषय हो। हिमाली भूगोलका कारण नेपाल हिमताल विस्फोटजन्य बाढी, पहिरो, हिमपहिरो, अतिवृष्टि र अन्य जलवायुजन्य जोखिमप्रति अत्यन्त संवेदनशील छ। अगस्ट २६ को विपद्ले यस्ता घटनाले मानव जीवन, पूर्वाधार र आर्थिक विकासमा पार्न सक्ने विनाशकारी प्रभाव स्पष्ट पारेको छ। लस एन्ड ड्यामेज फन्डमार्फत प्राप्त अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण भए पनि नेपालका लागि स्वीकृत रकम अनुमानित आर्थिक क्षतिको तुलनामा निकै कम छ। चीनको भौगोलिक निकटता, प्राविधिक क्षमता र हिमालय क्षेत्रमा बढ्दो प्रभावले उसलाई जलवायु उत्थानशीलता बलियो बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने अवसर दिएको छ। यसका लागि केही महत्त्वपूर्ण कदम चाल्न सकिन्छ। पहिलो, चीनले आफ्नो आगामी द्विवार्षिक पारदर्शिता प्रतिवेदनमा अन्तर्राष्ट्रिय जलवायु वित्तको विस्तृत विवरण सार्वजनिक गर्न सक्छ। त्यसमा अनुदान, सहुलियतपूर्ण ऋण, व्यावसायिक ऋण र सरकारी कार्यक्रममार्फत परिचालित निजी लगानीलाई छुट्टाछुट्टै उल्लेख गर्नुपर्छ। दोस्रो, बेइजिङले लस एन्ड ड्यामेज फन्ड वा एडाप्टेसन फन्डमा प्रारम्भिक योगदान गरेर विद्यमान अनिवार्य दायित्वभन्दा बाहिर रहेर पनि जोखिममा रहेका देशलाई सहयोग गर्ने तत्परता देखाउन सक्छ। तेस्रो, २० अर्ब युआनको साउथ–साउथ क्लाइमेट कोअपरेसन फन्डको रकम वितरणका लागि स्पष्ट समयतालिका सार्वजनिक गर्न र प्राप्तकर्ता देशसम्म वास्तवमै कति रकम पुगेको छ भन्ने नियमित विवरण उपलब्ध गराउन सक्छ। चौथो, चीनले नेपाल र भुटानसँग सहकार्य गरी हिमालय क्षेत्रका लागि छुट्टै जलवायु अनुकूलन कार्यक्रम विकास गर्न सक्छ। यस्तो कार्यक्रमअन्तर्गत पूर्वसूचना प्रणाली, हिमतालको निगरानी, बाढी पूर्वानुमान, विपद् तयारी तथा भूउपग्रहमा आधारित जलवायु सूचनाको आदानप्रदान समावेश गर्न सकिन्छ। चीनको विद्यमान पूर्वसूचना प्रविधिले ४० भन्दा बढी देशलाई सेवा दिइरहेको बताइएको छ। हिमालय क्षेत्रमा संयुक्त रूपमा हिमतालको निगरानी र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न सके जोखिममा रहेका हिमाली समुदायले ठूलो लाभ लिन सक्छन्। जलवायु जिम्मेवारी कूटनीतिक अभिव्यक्तिमा सीमित हुनुहुँदैन विश्वव्यापी जलवायु बहस अहिले प्रमुख विकासशील अर्थतन्त्रहरूको बदलिँदो आर्थिक अवस्थाबाट प्रभावित भइरहेको छ। चीन अब औद्योगिक राष्ट्रबाट जलवायु सहयोग खोज्ने विकासशील देश मात्रै होइन। ऊ ठूलो आर्थिक तथा प्राविधिक शक्ति, विस्तारित स्वच्छ ऊर्जा उद्योग र अन्तर्राष्ट्रिय विकासमा प्रभाव पार्ने क्षमता भएको राष्ट्र बनिसकेको छ। विकसित राष्ट्रहरूले ऐतिहासिक जलवायु दायित्व पूरा गर्नुपर्ने चीनको तर्क विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थाअन्तर्गत जायज छ। तर त्यसले ठूला उदाउँदा अर्थतन्त्रले आफ्नो बढ्दो वित्तीय क्षमताअनुसार स्वेच्छिक योगदान गर्नुपर्छ कि पर्दैन भन्ने व्यापक प्रश्नलाई समाप्त गर्दैन। नेपालका लागि भने यो बहसको प्रभाव तत्काल देखिएको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि नेपाल जलवायुजन्य जोखिमको चपेटामा पर्दै आएको छ। यहाँका समुदाय, पूर्वाधार र विकासका सम्भावना यस्ता विपद्को जोखिममा छन्, जसको सामना गर्न नेपालको आन्तरिक वित्तीय क्षमताले मात्रै पुग्दैन। लस एन्ड ड्यामेज फन्डबाट स्वीकृत २ करोड अमेरिकी डलर महत्त्वपूर्ण उपलब्धि भए पनि अगस्टको बाढीबाट भएको अनुमानित २ अर्ब ५६ करोड डलरको क्षतिको तुलनामा यो अत्यन्त न्यून हो। ग्लोबल साउथप्रतिको आफ्नो प्रतिबद्धता राजनीतिक अभिव्यक्ति र रणनीतिक साझेदारीमा मात्रै सीमित नभएको प्रमाणित गर्ने अवसर चीनसँग छ। वित्तीय विवरणमा पारदर्शिता, अर्थपूर्ण आर्थिक योगदान र जलवायु अनुकूलनमा व्यावहारिक सहकार्यले जोखिममा रहेका देशलाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायमा चीनको विश्वसनीयता पनि बढाउन सक्छ। अन्ततः जलवायु नेतृत्वको मूल्यांकन आर्थिक आकार, कूटनीतिक प्रभाव वा अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको संख्याका आधारमा मात्रै गरिनुहुँदैन। जलवायु संकट सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका तर त्यसको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका समुदायलाई सहयोग गर्न कति तत्परता देखाइन्छ भन्ने आधारमा पनि नेतृत्वको वास्तविक परीक्षा हुनुपर्छ।
जलवायु वित्तमा चीनमाथि प्रश्न, जोखिममा रहेका देशले मागे सहयोग

Read Complete Original Article
Published originally on पर्दाफास






