Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० टर्किएको अन्ताल्या सहरमा जारी छ । यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा पक्ष राष्ट्रका प्रतिनिधिसँगै नेपालले आफ्नो उपस्थिति सशक्त रुपमा जनाइरहेको छ । नेपालका तर्फबाट सम्मेलनको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिरहेका छन् ।यसै सन्दर्भमा कोप–३१ मा नेपालको सहभागिता र उच्चस्तरीय कूटनीतिक सक्रियता, पर्वतीय एजेन्डालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्ने प्रयास, जलवायु वित्तमा नेपालको पहुँच, जलवायु न्याय तथा नेपालको अन्तरराष्ट्रिय सम्बन्धका प्राथमिकताबारे राससका समाचारदाता भीष्मराज ओझाले सम्मेलनस्थलमा उनीसँग गरेकाे कुराकानीका अंश : कोप–३१ मा नेपालको उपस्थिति कस्तो छ ? सम्मेलनका विभिन्न छलफल, वार्ता तथा कार्यक्रममा नेपालको सहभागिता र अहिलेसम्मको प्रगतिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? संयुक्त राष्ट्रसङ्घको प्रक्रिया सर्वसम्मतिमा आधारित हुन्छ । प्रत्येक राष्ट्रका आ–आफ्ना राष्ट्रिय हित तथा समूहगत स्वार्थका विषयमा छलफल हुन्छ । त्यसैले स्वाभाविक रूपमा लामो, जटिल र समय लाग्ने खालका हुन्छन् । वास्तविकतालाई स्वीकार गर्दै नेपालले पछिल्लो समय उठाएका मुद्दामा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ । आगामी झन्डै दुई साताको छलफलमा नेपालले हिमालसँग सम्बन्धित मुद्दा, १‍‍.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमासँग सम्बन्धित पर्वतीय अनुसन्धानको आवश्यकता, जलवायु वित्तको व्यवस्था तथा समर्पित पर्वतीय संवादका विषयमा कुनै न कुनै निर्णयमा पुग्न सकियो भने विगतका वर्षको तुलनामा त्यसलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्छ । नेपालले लामो समयदेखि जलवायु न्यायको मुद्दा उठाउँदै आएको छ, जलवायु वित्तको उपलब्धता र परिचालनलाई प्रभावकारी बनाउन अहिले के–कस्ता पहल भइरहेका छन् ? जलवायु वित्तका सम्बन्धमा मुख्यतः तीनवटा समस्या छन् । पहिलो, अन्तरराष्ट्रिय समुदायले व्यक्त गरेको प्रतिबद्धता अनुसार पर्याप्त वित्तीय स्रोत प्राप्त हुन सकेको छैन । दोस्रो, प्रतिबद्धता गरिएको रकम नै जलवायु सङ्कटको बढ्दो आवश्यकताका तुलनामा पर्याप्त छैन । त्यसैले नेपाललगायत अतिकम विकसित राष्ट्रले जलवायु वित्त कम्तीमा तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् । तेस्रो समस्या जलवायु वित्त परिचालनको प्रक्रिया हो । यो प्रक्रिया निकै लामो, जटिल र झन्झटिलो छ । साना तथा विकासशील देशसँग परियोजना प्रस्ताव तयार पार्न आवश्यक पर्ने प्राविधिक क्षमता पनि पर्याप्त नहुन सक्छ । त्यसैले जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ । नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशमा बारम्बार विपद् आइरहने भएकाले अनुकूलन र न्यूनीकरणका लागि आवश्यक स्रोत सुनिश्चित हुनुपर्छ । प्रत्येक पटक परियोजना प्रस्ताव तयार पारेर मात्र वित्त प्राप्त गर्ने अवस्था हुनुहुँदैन । जलवायु वित्त अनुदानमा आधारित हुनुपर्छ । ऋणको मात्रा घटाउनुपर्छ । अनुकूलन तथा न्यूनीकरणका लागि उपलब्ध हुने वित्तीय स्रोत अनुमानयोग्य हुनुपर्छ । अन्तरराष्ट्रिय सम्मेलनबाट प्राप्त उपलब्धि र प्रतिबद्धतालाई कार्यान्वयन गर्ने क्रममा नेपालमा कतिपय अवस्थामा सहयोग उपयोग हुन नसकी फिर्ता गएको भन्ने पनि छ । जलवायु वित्त परिचालनका लागि आवश्यक नीति, कानुन र प्रक्रियागत सुधारमा सरकारले कत्तिको ध्यान दिएको छ ? पछिल्लो समय सरकारले कानुन, नियमावली तथा निर्देशिकामा सुधार गर्दै आएको छ । विशेषगरी मन्त्रालय तथा सरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्छ । नेपालमा मन्त्रालयबीचको समन्वय मात्र होइन, तीन तहका सरकारबीच सहकार्य आवश्यक छ । त्यसैले अन्तरनिकाय सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । हालैको भोटेकोशी विनाशकारी विपद्पछि नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको छ । पुनर्निर्माणका लागि आवश्यक स्रोत र अन्तरराष्ट्रिय जलवायु वित्तको उपलब्धतालाई कसरी हेर्नुभएको छ ? तपाईंलाई थाहै छ, यस विपदमा एक हजार ४६० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पाँच हजार जना अझै बेपत्ता छन् । दशौँ हजार मानिस प्रभावित छन् । सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । अहिले नेपाल पुनःस्थापनाको चरणमा छ । विपद्पछिको आवश्यकता मूल्याङ्कन हुदैछ । प्रारम्भिक प्रतिवेदनअनुसार पुनर्निर्माणका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ । सरकार तत्काल उद्धारको चरण पार गरेर राहत तथा पुनःस्थापनाको काममा लागेका छ । प्रभावितका लागि अस्थायी आवासको व्यवस्था गर्ने, सडक तथा पुल पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ । सुरक्षित पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्छ । आपत्कालीन सहयोग उपलब्ध गराउन पर्याप्त रूपमा सक्षम नरहेको महसुस गरेका छौँ । हानी तथा नोक्सानी कोषले सहयोग गर्ने प्रारम्भिक निर्णय गरेको छ । त्यसैले प्रभावित समुदायको पुनःस्थापना, जलविद्युत् आयोजना, सडक तथा पुलको पुनर्निर्माणका लागि थप अन्तराष्ट्रिय सहयोग आवश्यक छ । पर्वतीय समुदायले जलवायु परिवर्तनका कारण भोगिरहेको सङ्कटलाई अन्तरराष्ट्रिय जलवायु वार्तामा स्थापित गर्न नेपालले के पहल गरिरहेको छ ? कोप प्रक्रियामा साना टापु राष्ट्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेको अस्तित्वको सङ्कटलाई उचित रूपमा मान्यता दिइँदै आएको छ । समुद्री सतह बढ्दा ती राष्ट्रको अस्तित्वमै खतरा उत्पन्न भइरहेको छ । तर पर्वतीय समुदाय पनि यस्तै अस्तित्वको सङ्कटमा छन् । अगस्ट २६ मा भएको विपद्ले पनि यो वास्तविकतालाई स्पष्ट पारेको छ । नेपाल र भुटानले पर्वतीय एजेन्डालाई कोपको औपचारिक कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेका छन् । पछि किर्गिजस्तान पनि यस विषयमा जोडियो । वार्ताका क्रममा तीनवटै देश एकै ठाउँमा आएर पर्वतीय एजेन्डालाई अगाडि बढाउने प्रयास गरेका छन् । यसपटक नयाँ कार्यसूचीका रूपमा उक्त प्रस्ताव पूर्ण रूपमा समावेश हुन सकेको छैन । कोपको आयोजक तथा वार्ता प्रक्रियाको अध्यक्षताले आगामी दुई सातासम्म हामीसँग सहकार्य गर्ने आश्वासन दिएका छन् । औपचारिक कार्यसूचीमा समावेश नभए पनि हामीले उठाएका मूल मुद्दालाई मान्यता दिने र कोपका अन्तिम निर्णयमा समेट्ने विषयमा छलफल भइरहेको छ । पर्वतीय क्षेत्रको वास्तविक अवस्था बुझ्न विस्तृत अध्ययन तथा अनुसन्धान गर्नु हो । विशेषगरी माथिल्लो हिमाली क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ तथा हिमनदी पग्लिने र बरफ पग्लिँदै जाँदा त्यसले पार्ने प्रभावबारे पर्याप्त जानकारी आवश्यक छ । यसले अनुकूलन तथा न्यूनीकरणका प्रभावकारी नीति निर्माण गर्न सहयोग पु¥याउँछ । त्यसैगरी पर्वतीय क्षेत्र तथा त्यहाँका समुदायका लागि छुट्टै कार्यकार्यक्रम र समर्पित वित्तीय स्रोतको व्यवस्था हुनुपर्छ । पर्वतीय एजेन्डालाई कोपको अन्तिम निर्णयमा समावेश गराउने सम्भावनालाई कसरी हेर्नुभएको छ ? आगामी दुई साताको छलफलमा पर्वतीय मुद्दा, हिमाली क्षेत्रमा भइरहेको परिवर्तनसम्बन्धी अनुसन्धान, जलवायु वित्तको प्रभावकारी व्यवस्था तथा समर्पित पर्वतीय संवादका विषयमा कुनै न कुनै निर्णयमा पुग्न सकियो भने त्यो हाम्रा लागि महत्वपूर्ण उपलब्धि हुनेछ । नेपालका तर्फबाट पर्वतीय एजेन्डालाई निरन्तर जीवित राख्नेछौँ । अन्त्यमा, कोप–३१ मा नेपालको सहभागिता र यहाँ भइरहेका वार्ताबारे केही थप भन्न चाहनुहुन्छ ? कोपको प्रक्रिया बुझेर मात्र समाचार सम्प्रेषण गरिदिनुहोला । कुनै विषयमा तत्काल सहमति हुन सकेन भन्दैमा केही पनि भएन वा सम्मेलनबाट कुनै उपलब्धि हासिल भएन भन्ने ढङ्गले समाचार सम्प्रेषण हुनुहुँदैन । कोपको प्रक्रिया, वार्ताको वास्तविकता, तथ्य र त्यससँग जोडिएका परिवेशलाई बुझेर समाचार सम्प्रेषण गर्न आवश्यक छ । नेपालले उठाएका मुद्दा स्थापित गर्न भइरहेका प्रयास, त्यसका चुनौती र प्राप्त सकारात्मक सङ्केतलाई समेत समेटेर समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मी साथीहरूलाई आग्रह गर्दछु ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २०... ...

गोरखापत्र
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड
Latest NewsJust now

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play