जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसालाई कुनै पनि हालतमा खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अब जनतामाझ आश्वासन र वाचापत्र मात्र नभई कामको परिणाम लिएर जाने बताए । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई उपलब्धिमा रूपान्तरण गर्ने उल्लेख गर्दै लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ”, उनले भने। पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पारे । रास्वपाको उद्देश्य गरिब तथा विपन्न बस्तीमा टिकट पुर्याउनु नभई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच विस्तार गर्नु रहेको उनको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उनले भने । लामिछानेले जनताको हितसँग जोडिएका विषयमा आफ्नो पार्टीको सरकार भए पनि वा अन्य दलको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए । यसलाई उनले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे । सरकार जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । छठ पर्व मनाउन सभापति लामिछाने दम्पती शनिबार जनकपुरधाम आइपुगेका हुन् ।
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : रवि लामिछाने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






